को हुन् यी महिला जो जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा पक्राउ परिन्

    • Author, एस गोक्सडेफ
    • Role, बीबीसी न्यूज

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्‌यन्त्रमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरिएको युक्रेनको सुरक्षा निकायले जनाएको छ।

ती महिलाले गत जुन महिनामा बाढी प्रभावित क्षेत्र माइकोलाइभको भ्रमण गर्नुअघि जेलेन्स्कीको यात्रा कार्यक्रम पत्ता लगाउने प्रयास गरेको उक्त सेवाले जनाएको छ।

युक्रेनले रुसलाई समर्थन गर्ने आफ्ना नागरिकलाई मस्कोको सेनालाई सहयोग गर्न सूचना प्रवाह गरेको आरोप लगाउँदै आएको छ।

जेलेन्स्कीले एसबीयूका प्रमुखले आफूलाई “धोकेबाज विरुद्धको लडाइँ”बारे खबर गरेको भन्दै ती महिलाको गिरफ्तारीबारे आफूलाई जानकारी दिइएको पुष्टि गरेका छन्।

रुसले यस गिरफ्तारीबारे कुनै टिप्पणी गरेको छैन।

युक्रेनको सुरक्षा सेवासम्बन्धी निकाय एसबीयूले एक विज्ञप्ति जारी गर्दै ती महिलालाई रुसीहरूलाई गुप्तचरी सूचना दिन खोज्दा “रङ्गेहात” पक्राउ गरिएको जनाएको छ।

ती महिलाले दक्षिणी माइकोलाइभ क्षेत्रमा जेलेन्स्कीको भ्रमणअघि नै त्यहाँको यात्रा योजना पत्ता लगाउन गुप्तचर सूचना सङ्कलन गर्ने प्रयास गरेको उनीहरूको आरोप छ।

यो पनि पढ्नुहोस्

उनीहरूले एसबीयूको भान्सामा उभिएकी सन्दिग्धको मुखौटोसहितको तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा ती महिला र सँगै उभिएका अधिकारीहरूलाई प्रस्ट देखिँदैन।

जेलेन्स्कीले कखोभ्का बाँध भत्किँदा भएको क्षति निरीक्षणका लागि गत जुन महिनामा माइकोलाइभको भ्रमण गरेका थिए। त्यसपछि जुलाईमा रुसको भारी गोलाबारीपछि उनी त्यहाँ पुगेका थिए।

सुरक्षा सेवा निकायले भ्रमणअघि नै आफू उक्त षडयन्त्रबारे जानकार रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ।

उक्त निकायले रुसले “माइकोलाइभ क्षेत्रमा ठूलो हवाई आक्रमणको योजना बनाइरहेको” र सन्दिग्ध महिलाले उनीहरूलाई युद्ध गतिविधिबारे विद्युतीय प्रणाली तथा गोला बारुदसहितको गोदामका बारेमा जानकारी दिन खोजेको आरोप लगाइएको छ।

को हुन् आरोपित महिला?

एसबीयूका अनुसार सन्दिग्ध महिला ओचाकिएभ नामक सानो सहरकी बासिन्दा हुन् जहाँ जेलेन्स्कीले गत जुलाईमा भ्रमण गरेका थिए। उनी त्यहाँको एक सैन्य अखडामा रहेको पसलमा काम गर्थिन्।

भ्रमणका क्रममा एसबीयूले सन्दिग्धलाई पक्राउ नगरी युक्रेनी राष्ट्रपतिमाथि हुनसक्ने आक्रमण रोक्ने उपाय अपनाएको बुझिएको छ।

एसबीयूका अनुसार उसका केही प्रतिनिधिहरूले भ्रमणपछि ती महिलाको गतिविधि तथा रुसी पक्षबाट प्राप्त गरेका 'जिम्मेवारीहरू'बारे थप जानकारी लिन उनलाई पछ्याए।

विज्ञप्तिमा सन्दिग्धले उक्त क्षेत्रमा गाडी चलाएको र युक्रेनी सैन्य सुविधाको फोटो तथा भिडिओ खिचेको जनाइएको छ।

उनीमाथि हतियार र सैनिकको गतिविधिबारे अनधिकृत रूपमा सूचना सम्प्रेषण गरेको आरोप लाग्ने अनुमान गरिएको छ।

दोषी ठहर भएको खण्डमा उनलाई १२ वर्षसम्म जेल सजाय हुन सक्छ।

युक्रेनी सुरक्षा बलले रुसी हवाई आक्रमणको लक्ष्य पत्ता लगाउन मद्दत गर्ने कथित "रुसी एजेन्टहरू"लाई धेरै पटक गिरफ्तार गरेको छ।

किन महत्त्वपूर्ण थियो जेलेन्स्कीले भ्रमण गरेको ठाउँ?

दक्षिणी युक्रेनको रुस नियन्त्रित क्षेत्रमा रहेको एउटा प्रमुख बाँध भत्किएपछि त्यहाँ बाढी आएको थियो।

युद्धको सुरुमा खेअर्सन आसपासको क्षेत्र कब्जा गर्दा रुसी फौजले त्यसलाई समेत नियन्त्रण गरेका थिए।

'काखोभ्का हाइड्रोइलेक्ट्रिक पावर प्लान्ट' को बाँध रुसले कब्जा गरेको क्षेत्रमा छ। सोभियत कालमा निर्मित उक्त बाँध ड्निप्रो नदीमा रहेका छवटा बाँधहरू मध्येको एक हो।

बाँध रहेकोभन्दा ५० किलोमिटरभन्दा कम दूरीमा तल्लो तटीय क्षेत्रमा खेअर्सन सहर पर्छ।

युक्रेनी सेना र नेटोले उक्त विशाल बाँधमा रुसले बम विस्फोट गराएको आरोप लगाएका थिए।

रुसले भने वरपरका समुदायमा बस्ने हजारौँ मानिसहरूलाई विस्थापित गर्ने गरी भएको विपत्तिको लागि युक्रेनलाई दोष दिएको थियो।