लीग २ अन्तर्गत पछिल्लो शृङ्खलामा नेपाल जितविहीन

यूएईविरुद्ध बलिङ गर्दै करन केसी

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत दुबईमा भएको पाँचौँ शृङ्खलामा नेपाल जितविहीन र फलतः अङ्कविहीन भएको छ।

अन्तिम खेलमा आयोजक यूएईसँग ४ विकेटले हारेसँगै यो शृङ्खलामा ८ अङ्क बटुल्ने अवसर नेपालले पूर्ण रूपमा खेर फाल्यो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ब्याटिङमा सङ्घर्ष गर्दै २३९ रनको मध्यम स्कोर बनाएको थियो। त्यसलाई पछ्याउन आएको यूएईले जम्मा छ विकेटको क्षतिमा सहजै खेल जित्यो।

अङ्कतालिका

यो हारसहित आठ राष्ट्र सम्मिलित यो चारवर्षे शृङ्खलामा नेपालको १२ अङ्क कायमै छ। टोली सातौँ स्थानमा यथावत् छ। दुवै खेलमा नेपाललाई हराए पनि यूएई १० अङ्कका साथ पुछारमा छ।

जारी शृङ्खलामा चार वटै खेल जितेको अमेरिका तालिकाको शीर्ष स्थानमा छ। अमेरिकाको ३६ अङ्क छ।

अमेरिकापछि स्कटल्यान्ड र नेदरल्यान्ड्स क्रमशः ३० र २८ अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा छन्।

चौथो, पाँचौँ र छैटौँ स्थानमा क्रमशः रहेका ओमान, क्यानडा र नामिबियाको पनि नेपालभन्दा उल्लेख्य धेरै अङ्क छ। उनीहरूको क्रमशः २४, २१ र १९ अङ्क छ।

बलिङमा फेरि पनि सङ्घर्ष

यूएईसँगको खेलमा ललित राजवंशी

तस्बिर स्रोत, CAN

करण केसीले पहिलो ओभरमा नै विकेटकीपर ब्याटर आर्यांश शर्मालाई 'गोल्डेन डकआउट' गर्दै सम्भवतः उनको टोलीले खोजेजस्तो सुरुवात दिलाएका थिए।

सातौँ ओभरमा खतरनाक मानिएका अर्का ओपनर अलिशान सराफूलाई नन्दन यादवले १८ रनमा आउट गरेपछि 'पावरप्ले'मा नेपाल सफल देखियो।

यूएईले 'पावरप्ले'मा दुई विकेट गुमाँउदा ४२ रन जोड्यो। त्यसपछि एक्काइसौँ ओभरमा ललित राजवंशीले शोहेब खानलाई २९ रनमा एलबीडब्ल्यूको धरापमा पारे।

त्यतिबेला युएई ६८/३ को अवस्थामा पुगेको थियो। त्यसपछि भने पूरा खेलमा यूएईका ब्याटर हाबी भए।

मोहम्मद शाहदाद र मोहम्मद वासिमले मिलेर यूएईलाई जिततिर डोहोर्‍याए। यी दुईले मिलेर चौथो विकेटका लागि १४७ रनको दरिलो साझेदारी गरेका थिए।

यिनिहरूको साझेदारीलाई सन्दीप लामिछानेले ४४ औँ ओभरमा तोडेका थिए। उनले ७४ रन बनाएर खेलिरहेका वसिमलाई बोल्ड गरेका थिए।

तर त्यतिन्जेल नेपाललाई खेलमा फर्किन ढिलो भइसकेको थियो।

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाएका शाहदादले ९६ रन बनाए।

नेपालको ब्याटिङ

यूएईविरुद्ध ब्याटिङ गर्दै भीम सार्की

तस्बिर स्रोत, CAN

दोस्रो ओभरमै ओपनर कुशल भुर्तेलको विकेट झरेपछि पहिलो इनिङ्समा खेलाडीहरूले निरन्तर सङ्घर्ष गर्नुपर्‍यो।

कुशल २ रन बनाएर विकेटकीपर आर्यांश शर्माबाट 'कट' भएका थिए।

त्यसपछि पहिलो 'पावरप्ले'मा सम्हालिन खोजेको नेपालले ४१ रन जोडेको थियो।

यस क्रममा अर्का ओपनर आसिफ शेख र तेस्रो नम्बरमा आएका भीम सार्कीले सम्हालिएर खेल्दै दोस्रो विकेटका लागि ७४ रनको साझेदारी बनाएका थिए।

अठारौँ ओभरमा आसिफ (३४ रन) दुर्भाग्यपूर्ण रनआउटको सिकार हुन पुगे। उक्त विकेट खसेलगत्तै कप्तान रोहित पौडेल दुई रन मात्र बनाएर फर्किए।

एक्काइसौँ ओभरमा नेपाल ८७/३ को खराब स्थितिमा पुगेको थियो।

त्यसपछि मैदानमा जमिसकेका भीम पनि आउट भए। जम्मा ६८ बलको सामना गरेर ४८ रन बनाएका उनले टीमका लागि सर्वाधिक रन बनाउने क्रममा सात चौका प्रहार गरेका थिए।

त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेख मिलेर नेपालको इनिङ्स उकास्ने प्रयास गरेका थिए। यी दुईले पाँचौँ विकेटको लागि ४९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।

तर ३३ औँ ओभरमा दीपेन्द्र पनि रनआउटको सिकार भए।

रनका लागि दौडिने क्रममा फिनिसिङ लाइनमा ब्याट हातबाट फुत्किँदा उनी रनआउट हुन पुगेका थिए। उनले ३७ रन बनाए।

त्यसपछि ४३औँ ओभरमा दुई खेलाडी लगातार बलमा आउट हुनु नेपालको लागि अर्को झट्का थियो। उक्त ओभरको पाँचौँ बलमा आरिफ ३० रन बनाएर आउट भए। त्यसपछि आएका करण केसी पहिलो बलमै आउट भए।

नेपाल १८७/७ को स्थितिमा पुग्यो।

दबावका बेला नौ बलको सामना गरेका नन्दन यादव पनि १ रन बनाएर आउट भए।

एउटा एन्डबाट कुशल मल्लले खेल सम्हालिरहेका थिए भने सन्दीप लामिछानेले उनलाई साथ दिएका थिए।

अन्तिम बल खेल्नुअगाडि बोल्ड भएका कुशलले तीन छक्कासहित ४५ रन बनाए। अविजित रहेका सन्दीपले दुई चौका सहित १५ रन बनाए।

अन्तिम एक बल खेल्न आएका ललित राजवंशीले सुन्दर चौका प्रहार गरेका थिए।

अन्तिम पावरप्ले मा नेपालले ६९ रन बनाउँदा नेपालले जम्मा २३९ रन बनाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।