पाकिस्तानको एक सैन्य शिविरमा भएको हमलामा २३ सैनिकको मृत्यु

पाकिस्तानको उत्तर पश्चिममा सुरक्षाकर्मीहरूको एक शिविरमा भएको विद्रोही हमलामा परेर कम्तीमा २३ जना सैनिकहरू मारिनुको साथै दर्जनौँ घाइते भएका छन्।

बीबीसी उर्दूका अनुसार पाकिस्तानी सेनाले खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको दरबान क्षेत्रमा सुरक्षा बलमाथि आत्मघाती हमला भएको जनाएको छ।

अफगानिस्तानतर्फको सीमा नजिकै पर्ने उक्त स्थानमा मङ्गलवार बिहानै विस्फोटक पदार्थहरू राखिएको एउटा गाडी सैन्य भवनमा जोताइएपछि उक्त घटना भएको बताइएको छ।

पाकिस्तानी तालिबानसँग सम्बद्ध एक लडाकू समूहले उक्त हमलाको जिम्मेवारी लिएको छ।

उक्त प्रहरी परिसरलाई पाकिस्तानी सेनाले आफ्नो शिविरको रूपमा प्रयोग गर्दै आएको थियो। 

पाकिस्तानी सेना के भन्छ?

एक विज्ञप्तिमार्फत सेनाले उक्त गाडी जोतिन आउनुअघि कैयौँ विद्रोहीहरूले परिसरभित्र प्रवेश गर्ने असफल प्रयास गरेको जनाएको छ।

हमलाकारी समूहले त्यसपछि विस्फोटक पदार्थहरूले भरिएको एक ट्रक परिसरको पर्खालमा जोताइदिएका थिए। त्यस लगत्तै भएको आत्मघाती बम हमलामा उक्त भवन ध्वस्त हुन पुगेको विज्ञप्तिमा जनाइएको छ।

उक्त सैन्य परिसरभित्र भण्डारण गरिएको विस्फोटक पदार्थ समेत पड्किएको हुनसक्ने आशङ्का गरिएको छ।

एक अधिकारीले सुतिरहेको अवस्थामा कैयौँ मानिसहरू मारिएको बताए।

सेनाका अनुसार छजना हमलाकारीहरू समेत मारिएका छन्।

लगत्तै त्यस क्षेत्रमा गरिएको सैन्य कारबाहीहरूमा २७ विद्रोही लडाकुहरू मारिएको सेनाको भनाइ छ।

हमलाकारी को?

यस वर्षको सुरुतिरबाट देखा परेको तेहरीक जिहाद-ए-पाकिस्तान (टिजेपी)ले आफ्ना सदस्यहरूले उक्त हमला गरेको दाबी गरेको छ।

खासगरी अफगानस्थानतर्फको सीमानजिकै पर्ने पाकिस्तानी भूभागमा लडाकु समूहहरूका हमला बढ्दो क्रममा देखिन्छ।

गतवर्ष कट्टरपन्थी इलामिस्ट समूह तेहरिक-ए-तालिबान पाकिस्तान (टिटिपी)ले युद्धविराम फिर्ता गरेसँगै त्यस्ता गतिविधि बढेको देखिन्छ।

विज्ञहरूका अनुसार अफगान तालिबान सन् २०२१ मा छिमेकी अफगानिस्तानको शक्तिमा फर्किएसँगै उसले टिटिपीलाई साथ दिइरहेको छ।

इस्लामावादले विद्रोहीहरूले उक्त क्षेत्रमा सीमापारिबाट गतिविधि गर्ने दाबी गरेको छ।

जसलाई अफगानिस्तानको सत्तामा रहेको तालिबानले बारम्बार अस्वीकार गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।