तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एसीसी प्रिमिअर कपमा नेपालको पहिलो जित
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमिअर कपमा विजयी सुरुआत गरेको छ।
प्रतियोगिताको उद्घाटनको दिन मङ्गलवार मलेसियाले कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोज्दै ९ विकेटको क्षतिमा २३५ रन जोडेको थियो।
मध्यम स्कोरको चुनौती पछ्याउन आएको नेपालले ३६.२ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
मलेसिया विरुद्ध नेपालको यो लगातार छैटौँ जित हो।
विश्वकप लीग-२ को पछिल्लो आठ खेल जितेको नेपाललाई कीर्तिपुरको घरेलु मैदानमा आजको खेल जित्न ठूलो सङ्घर्ष गर्नु परेन।
एसीसी प्रिमियर कपको विजेता एसिया कपमा छानिनेछ भने शीर्ष तीनमा रहने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ।
सार्की र मल्लको जोडदार प्रदर्शन
नेपाली प्रशिक्षक मोन्टी देशाईले नयाँ रणनीति रच्दै तेस्रो नम्बरमा ब्याटिङ गर्न भीम सार्कीलाई मैदानमा उतारेका थिए।
उनको सो रणनीतिमा सार्की खरो उत्रिए। परिपक्व खेल पस्किँदै सार्कीले अर्धशतकीय पारी खेल्दै टोलीलाई सहज जिततिर उन्मुख गराएका थिए। उनले ९८ बलमा ७१ रन बनाए।
उनलाई साथ दिएका कुशल मल्लले झन् आक्रामक ब्याटिङ गरे। २८ बलमा उनले अर्धशतक पूरा गरे, जुन क्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए।
नेपालको बलियो मानिने प्रारम्भिक जोडी कुशल भुर्तेल र आसिफ शेख छिट्टै आउट हुनु नेपालको लागि झट्का थियो।
आसिफ शेख पहिलो इनिङ्सको अन्तिम बलमा मोहम्मद वाफिकद्धारा कट् एण्ड वोल्ड हुन पुगे। त्यति बेला उनले ३ बलको सामना गरेर १ रन मात्र बनाएका थिए।
आक्रामक देखिएका कुशलले भने ३८ रन बनाए। उनले ५ चौका र २ छक्का प्रहार गरे।
कप्तान रोहित पौडेल ४२ रन बनाएर आउट भए। उनलाई विरन्दीपले मोहम्मद आमिरबाट क्याच गराएका थिए।
आसिफ आउट भएपछि प्रशिक्षक मोन्टी देशाईले भीम सार्कीलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाएका थिए।
फैजको इनिङ्समा टिकेको मलेसिया
मलेसियाको इनिङ्समा कप्तान अहमद फैजको प्रस्तुती महत्त्वपूर्ण थियो।
आठ चौका र १ छक्काको मद्दतमा टोलीको लागि सर्वाधिक ७६ रन जोडेका उनले खेलको सुरुआतमा टोलीलाई सही लयमा डोर्याएका थिए।
प्रारम्भिक खेलाडी मोहम्मद अमिर १७ रनमा आउट भएपछि फैजले विरन्दीप सिंहसँग मिलेर दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे।
विरन्दीपले संयमित भएर रन बढाएका थिए भने फैजले आक्रामक रणनीति अपनाएका थिए।
यो जोडीलाई सन्दीप लामिछानेले फैजको विकेट लिएर ३४ औँ ओभरमा तोडेका थिए।
त्यसपछि विरन्दीप ४६ रनमा आउट भए। ललितनारायण राजवंशीले सोमपाल कामीको हातबाट उनलाई क्याच आउट गराएपछि अर्धशतक नजिक पुगेका विरन्दीप पवेलियन फर्किनुपर्यो।
यी दुई जोडी मैदान बाहिरिएपछि मलेसियाको रन गति ढिलो हुन पुग्यो।
मोहम्मद स्याहादत (१५ रन), खिजर हायात (२२ रन) र स्याजुरल इज्रुस (२१ रन) ले मलेसियाको स्कोर थप्ने काम गरेका थिए।
नेपालबाट सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए भने ललित नारायण राजवंशीले २ तथा गुलशन झा ले १ विकेट लिए।
प्रशिक्षक देशाईले टोलीमा लिग २ मा जस्तै कुनै परिवर्तन गरेनन्।
ज्ञानेन्द्र मल्ल सँगै करण केसी र प्रतिश जिसी पनि मङ्गलवारको खेलमा बेन्चमा नै रहे।
नेपालले अब शुक्रवार ओमानसँग खेल्नेछ।