एसीसी प्रिमिअर कप: विजेता बन्दै भारत-पाकिस्तानसँग खेल्ने नेपालको लक्ष्य

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

'एसीसी प्रिमिअर कप'को विजेता बनेमा नेपाल एसिया कपमा छनोट हुनेछ।

नेपाली क्रिकेटकf लागि यो अति रोचक विषय हो।

अझ रोमाञ्चक कुरा के हो भने नेपाल एसिया कप विजेता बनेमा भारत र पाकिस्तानको समूहमा पर्नेछ।

अर्थात् विजेता बन्नासाथ नेपालले इतिहासमा पहिलो पटक आगामी सेप्टेम्बर महिनामा टेस्ट राष्ट्र भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ।

प्रिमिअर कप नेपालका लागि अरू हिसाबले पनि महत्त्वपूर्ण छ।

१० राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल शीर्ष ३ भित्र रहन सके मात्र पनि एसीसी इमर्जिङ टिम्स एसिया कपमा लागि छनोट हुनेछ।

च्याम्पियन बन्ने उद्देश्यका साथ नेपाली क्रिकेट टोलीले मङ्गलवारबाट कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा सुरु हुने एसियाली क्रिकेट परिषद्को प्रतियोगिता एसीसीको प्रिमिअर कप खेल्दैछ।

यसको सुरुआत मलेसिया विरुद्धको खेलबाट हुनेछ।

मलेसियाविरुद्ध नेपाल

नेपालले प्रिमिअर कपको परीक्षा मलेसिया विरुद्धको खेलबाट गर्दै छ।

कीर्तिपुर क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा मलेसियालाई सहज प्रतिद्वन्द्वीको रूपमा हेरिएको छ।

एसोसियट राष्ट्रबीचको स्पर्धामा नेपाल र मलेसियाबीच धेरै पटक भेट भइसकेको छ।

तर पछिल्लो समय नेपालको अवस्था बलियो देखिन्छ। पछिल्लो ५ भेटमा मलेसियाले नेपाललाई जित्न सकेको छैन।

नेपालले विश्वकप लीग -२ को प्रतियोगिता खेल्नु तर त्यसमा मलेसिया छनोट हुन नसकेपछि भने यी दुई राष्ट्रको दूरी बढ्दै गएको देखिएको हो।

प्रतिस्पर्धा

वैशाख ५ गतेदेखि १८ गतेसम्म नेपालमा आयोजना हुने प्रतियोगितामा एसियाका १० एसोसियट राष्ट्र समावेश छन्।

खेल कीर्तिपुर क्रिकेट मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछ।

मूलपानी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार भएको हो।

नेपालले सो मैदानमा साउदी अरेबियाविरुद्ध वैशाख ११ मा खेल्ने तालिका छ।

दुई समूहमा विभाजन गरिएको प्रतिस्पर्धामा समूह 'ए' मा नेपालसहित ओमान, मलेसिया, कतार र साउदी अरेबिया छन्।

त्यस्तै समूह 'बी' मा हङकङ, युएई, कुवेत, सिङ्गापुर र बहराइन रहेका छन्।

यी १० राष्ट्रमा नेपाल, ओमान र युएई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडीआई) प्राप्त राष्ट्र भएकाले यी राष्ट्र बीचको खेलले ओडीआई मान्यता पाउनेछ।

यो पनि पढ्नुहोस्

दाबेदारहरू

भर्खरै विश्वकप लीग-२ को १२ मध्ये ११ खेल जितेर एउटा ऐतिहासिक सफल यात्रा तय गरेको नेपालको छवि अहिले बदलिएको छ।

मोन्टी देशाईको प्रशिक्षणमा मैदानमा उत्रिने नेपाल प्रिमियर कपको प्रमुख दाबेदार हुनेछ।

तर प्रतिस्पर्धा सहज भने पक्कै हुनेछैन।

नेपालसँगै ओमान, युएई र हङकङलाई प्रतियोगिताको दाबेदार टोलीको रूपमा हेरिएको छ।

ओमान लीग -२ को दोस्रो स्थानमा रहन सफल टोली हो। लीग २ का सर्वाधिक विकेटकर्ता बिलाल खानको टोली एकदम सङ्गठित देखिन्छ।

पछिल्लो समय लीग-२ को एउटा शृङ्खला खेल्न आउँदा उसले दुवै खेलमा नेपाललाई पराजित गरेको थियो।

त्यस्तै लीग-२ को अन्तिम नाटकीय खेलमा नेपालसँग पराजित भएको युएई पनि उत्तिकै बलियो दाबेदारमा पर्छ।

विशेष गरी पछिल्लो समय युएई नेपालको कट्टर प्रतिद्वन्द्वीको रूपमा देखिँदै आएको छ।

हङकङसँग एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त छैन। यद्यपि उसलाई किन दाबेदारको रूपमा हेरिएको हो भने टोलीमा पुराना स्टार खेलाडीहरू बाबर हायात र अंशुमन रथ फर्किएका छन्।

यी दुई खेलाडी नेपाली फ्रेञ्चाइज लीगका स्टार खेलाडीहरू हुन्।

कस्तो छ नेपाली टोली ?

प्रशिक्षक मोन्टी देशाईले विश्वकप लीग-२ कै टोलीलाई प्रिमियर कपमा पनि विश्वास गरेको छ।

उनले वैकल्पिक खेलाडी प्रतिश जीसीको स्थानमा किशोर महतोलाई वैकल्पिकमा राखे।

तर मुख्य टोलीमा कुनै परिवर्तन गरेनन्।

प्रशिक्षक देशाईले आफ्नो रणनीति पनि पुरानै रहेको बताएका छन्।

अर्थात् एक पटकमा एउटा खेलमा मात्र केन्द्रित हुने र टोलीको वातावरणलाई स्वच्छ राख्ने।

यो रणनीतिमा उनी लीग -२ मा मज्जाले सफल भइसकेका छन्।

प्रिमिअर कपमा पनि कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख मुख्य ब्याटर हुनेछन्।

बलिङ आक्रमणको जिम्मा सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीको काँधमा हुनेछन्।

स्पिनरमा लामिछानेलाई ललित नारायण राजवंशीले सघाउने छन्।

दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल पार्ट टाइम स्पिनरको भूमिकामा छन्।

दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, भीम सार्की फिनिशरको रूपमा हुनेछन्।

चुनौती

विश्वकप लीग -२ मा उत्कृष्ट प्रदर्शन गरेर समर्थकमाझ प्रभावशाली छाप छोडेको नेपाललाई त्यही प्रदर्शनलाई प्रिमिअर कपमा पनि दोहोर्‍याउनु आवश्यक छ।

नेपालको चुनौती पनि त्यही नै देखिन्छ।

प्रशिक्षक देशाईले प्रिमिअर कप फरक टोलीहरूको सामना गर्नुपर्ने हुनाले यसमा धेरै कुरा नयाँ हुने बताउँछन्।

उनले भनेका छन्, " यो फरक खाले प्रतिस्पर्धा हो। यद्यपि प्रिमियर कपमा हामी समय परिस्थिति अनुसार खेल्नेछौँ। "

बलिङ र फिल्डिङमा छाप छोडिरहेका नेपालको भरपर्दो ब्याटर दीपेन्द्र सिंह ऐरीबाट पछिल्लो समय राम्रो रन बन्न सकिरहेको छैन। भेट्रान ज्ञानेन्द्र मल्ल टिममा पर्छन् वा पर्दैनन् निश्चित भइसकेको छैन।

खेलाडीहरूबारे...

अवसर

नेपालका लागि एसीसी प्रिमिअर कप अवसर पनि हो।

एक त घरेलु दर्शकहरू माझ टोलीले आफ्नो अब्बल प्रदर्शन तुरुन्तै दोहोर्‍याउन पाएको छ।

अर्कोतर्फ एक दिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा खेल्नुअगाडि यो खेल नेपालको लागि महत्त्वपूर्ण अभ्यास पनि हुनेछ।

हुन त क्वालिफायरका लागि जिम्बाब्बे जानु अगाडि नेपालले इङल्याण्डमा अभ्यास खेल्ने योजना बनाइरहेको छ।

तर त्यसअगाडि एसीसी प्रिमिअर कप नेपालको लागि वास्तविक परीक्षा बन्नेछ।

नेपालको खेल कहिले र कहाँ?

वैशाख ५ गते - नेपालविरुद्ध मलेसिया - कीर्तिपुर क्रिकेट मैदान

वैशाख ८ गते - नेपालविरुद्ध ओमान - कीर्तिपुर क्रिकेट मैदान

वैशाख ११ गते - नेपालविरुद्ध साउदी अरेबिया - मूलपानी क्रिकेट मैदान

वैशाख १४ गते - नेपालविरुद्ध कतार - कीर्तिपुर क्रिकेट मैदान

वैशाख १६ गते - सेमिफाइनल दुवै

वैशाख १७ गते - तेस्रो स्थान

वैशाख १८ गते - फाइनल