बर्ड फ्लूले अर्को महामारीको रूप लिने वैज्ञानिकहरूको चिन्ता

    • Author, एन्जेला हेन्सेल
    • Role, बीबीसी विश्व सेवा

हजारौँ 'फार्महाउस'हरूमा महिनौँदेखि लुकिरहेको रोगले अर्को महामारी निम्त्याउने विषयमा वैज्ञानिकहरू चेतावनीको घण्टी बजाइरहेका छन्।

रोगहरूको विकासबारे खोज गरिरहेका अनुसन्धाताहरूले हामीले महसुस नै नगरी अमेरिकाले बर्ड फ्लू अर्को महामारी बन्न सक्ने तह पार गरिसकेकोबारे सचेत गराएका छन्।

अझ स्पष्ट शब्दमा भन्नुपर्दा एभिअन इन्फ्लुएन्जाको उग्र रोगकारक प्रजाति H5N1 (एच५एन१) अहिले अस्ट्रेलियाबाहेक सबै महादेशमा पुगिसकेको छ। यो एन्टार्कटिकाका पेन्ग्विनहरूमा र मध्यपूर्वका उँटहरूमा पनि देखा परिसकेको छ।

यो रोग अहिले अमेरिकाका सबै ५० वटा राज्यहरूका जङ्गली चरा र स्तनधारीमा जीवमा पनि देखिइसकेको छ।

अमेरिकी कृषि मन्त्रालयका अनुसार यो देशमा अहिले बर्ड फ्लू गोठहरूमा सरेर १,००० भन्दा धेरै गाईबस्तुहरूमा पुगिसकेको छ।

कैयौँ मानिस सङ्क्रमित

अहिलेसम्म बर्ड फ्लू ७० जना मानिसहरूमा देखिएको छ र यसले एक जनाको ज्यान समेत लिएको छ।

यसको फैलावट रोक्ने अवसर वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति जो बाइडन दुवै नेतृत्वका प्रशासनले गुमाएको अमेरिकी महामारीविज्ञ तथा प्राध्यापक डा केट्लिन रिभर्स बताउँछिन्।

उदाहरणका लागि घरपालुवा जनावरहरू एउटा राज्यबाट अर्को राज्यमा लैजानेबारे राज्यअनुसारका नियम छन्।

"यो अस्थायी समस्या होइन र एउटा सानो त्रुटिले यो विस्फोटक रूपमा फैलन सक्छ। अहिले आएर मात्रै यो समस्या हो र त्यसको समाधान गर्नुपर्छ भन्ने महसुस भएको देखिन्छ," उनी भन्छिन्।

"अहिलेको सबैभन्दा ठूलो प्राथमिकता यसको पहिचान हुनुपर्छ। मानिसहरूमा यसको सङ्क्रमण भेटिनु र त्यसमा परिवर्तन देखिनु सबैभन्दा ठूलो खतरा हो।"

बर्ड फ्लू अर्को महामारी हो?

महामारीविज्ञहरू अमेरिका मात्रै नभई विश्व नै यसको नियन्त्रणका लागि आवश्यक रूपमा तयार नभएकामा चिन्तित छन्।

"यदि हामीले यही तरिकाले यो सङ्क्रमण फैलँदै जान दियौँ र अरू जनावरहरूमा पनि सर्ने मौका दियौँ भने अहिले अमेरिकी जनावरहरूमा फैलिएको यो रोगले अर्को महामारी निम्त्याउन सक्छ कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छ," टोरन्टो विश्वविद्यालयमा चिकित्सा विषयका प्राध्यापक कमरान खान भन्छन्।

"इतिहासबाट हामीले के थाहा पाइसकेका छौँ भने H5N1 मानिसहरूका लागि निकै खतरनाक भाइरस हो," उनी थप्छन्।

सन् २००३ यता H5N1बाट ७०० जना भन्दा धेरै मानिसहरू सङ्क्रमित भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। यस्तो सङ्क्रमण १५ देशका मानिसहरूमा देखिएको थियो।

त्यसमध्ये इन्डोनेशिया, भियतनाम र इजिप्टमा मानिसहरूमा सङ्क्रमण अन्य देशको तुलनामा उच्च देखिएको थियो।

त्यसकारण एभिअन फ्लू नयाँ हुँदै होइन तर वैज्ञानिकहरू प्रमुख तीन कारणले यसबारे चिन्तित छन् :

  • पहिलो, स्तनधारी प्रजातिका जनावरहरूमा देखिएको यसको उच्च सङ्क्रमण अनि त्यसबाट गोठालाहरूमा फैलिएको दर र वन्यजन्तुका क्षेत्रबाट घरपालुवा जनावरमा फैलिएको दर
  • दोस्रो, मानिसहरूसँग नजिकको सम्पर्कमा रहने गाइका बथानहरूमा यसको फैलावटको दर
  • अनि तेस्रो, ट्रम्प प्रशासनले लिएका कतिपय निर्णयका कारण कैयौँ सरकारी निकायहरूका कर्मचारीदेखि व्यवस्थापकीय तहमा देखिएको अस्थिरता।

एकबाट अर्को मानिसमा बर्ड फ्लू सर्छ?

हालसम्म यो सङ्क्रमण जनावरबाट मात्रै मानिसहरूमा सर्ने थाहा भएको छ। तर त्यसपछि यो एउटा मान्छेबाट अर्कोमा सर्छ कि सर्दैन निश्चित छैन।

गएको एप्रिलमा ५९ ठाउँका पोल्ट्री फार्महरूमा यो सङ्क्रमण फैलिएको थियो। अनि अमेरिका, एशिया र युरोपमा ४४ ठाउँमा यस्तो सङ्क्रमण अरू स्तनधारी र पन्छीमा देखिएको एनिमल हेल्थ अर्गनाइजेशनले जनाएको छ।

सन् २०२४को डिसेम्बरयता अमेरिका, यूके, भारत, मेक्सिको, क्याम्बोडिया र भियतनाममा H5N1को सङ्क्रमण मानिसहरूमा पनि देखिएका छन्।

दशकौँसम्म एभिअन फ्लू चराहरूमा मात्रै सर्ने भाइरस थियो र यसले मानिसहरूमा निकै थोरै मात्रै समस्या निम्त्याएको थियो।

तर पछिल्लो समय फरकफरक प्रजातिका जनावरहरूमा निकै छिटो दरमा फैलिइरहेको छ।

"जीवविज्ञानका दृष्टिमा यो ठूलो फड्को हो किनभने यो परेवाबाट हाँसमा मात्रै सरेको होइन नि," डा रिभर्स भन्छिन्।

"यो बढ्दै जाने सम्भावना छ र बढ्दै जाँदा प्रत्येक दिन यो मानवका लागि खतरा बन्न सक्छ।"

यदि भाइरस नियन्त्रणमा नआए यो व्यापक रूपमा फैलिन सक्नेबारे हामी होसियार हुनुपर्ने उनको चेतावनी छ।

"यो परिवर्तनशील र घुलमिल हुन सक्ने भाइरसको रूपमा परिचित छ," उनी भन्छिन्।

"लामो समयदेखिको चिन्ता के हो भने जति लामो समय यो वरपर घुमिरहन्छ, यसले त्यति धेरै अनुकूलनको मौका पाउँछ।"

चराहरू एक देशको सीमाभित्र मात्रै सीमित हुँदैनन्। वैज्ञानिकहरू अब चराहरूको बसाइँसराइको समयमा यो भाइरस अझै फैलन सक्नेबारे चिन्तित छन्।

बर्ड फ्लू नियन्त्रणको कुनै खोप छ?

घरपालुवा जनावरलाई खोप लगाउने विषय पनि विवादास्पद छ। आफ्नो फार्मका जनावरको बथान नष्ट गर्न बाध्य भएका किसानहरू कुखुरा र चराहरूमा खोप लगाउने कुरामा जोड दिन्छन्। तर यो कुरा पनि कहाँ सजिलो छ र?

ठूलो सङ्ख्यामा खोप लगाउने कुरा निकै कठिन छ। केही फार्मका कुनैकुनै जनावरमा मात्रै खोप लगाइयो भने पनि त्यसले उनीहरूमा प्रतिरोधी क्षमता विकास गर्न मद्दत गर्न सक्ने यूकेको एक निकायका एभिअन इन्फ्लुएन्जा प्रमुख डा मुनिर इकबाल बताउँछन्।

"उदाहरणका लागि फ्रान्सले आफ्नो देशमा हाँसहरूलाई खोप दिइरहेको छ। त्यहाँ सङ्क्रमण नि निकै सुस्त छ। त्यसले यसको फैलावट कमजोर बनाएको छ तर एउटा क्षेत्रमा मात्रै यो अवस्था छ," उनी भन्छन्।

युरोपेली सङ्घले यसबारे एउटा निर्देशिका बनाइरहेको छ। त्यसकारण प्रत्येक देशले खोप लगाउन सक्छन्। तर खोप लगाएको पन्छीले पनि आफूमा भाइरस बोकेर जङ्गली पशुपन्छीमा सार्न सक्छ।

अमेरिकाले भने पालिएका पन्छीहरूमा खोप लगाउने कुरामा असहमति जनाएको छ। खोप लगाइएका पन्छीहरू खानका लागि प्रयोग हुँदा अमेरिकी मासुजन्य उत्पादन निकासीमा प्रतिबन्ध लाग्ने चिन्ता अमेरिकाको छ।

तर अमेरिकाको कृषि मन्त्रालयले हालै मात्र H5N1बाट जोगाउन निश्चित सर्तहरूसहित पालिएका पन्छीहरूमा खोप लगाउने अनुमति दिएको छ।

मानिसलाई खोप लगाउने उपाय छ?

अमेरिकासहित अन्य केही देशका सरकारी निकायहरूले एभिअन फ्लूका दशौँ लाख खोपहरू मानिसमा लगाउन जम्मा गरिरहेका छन्।

"उच्च जोखिमको अवस्थामा यिनीहरू प्रयोगमा आउँछन्, विशेष गरी जनावरसँग नजिक रहेर काम गर्नुपर्ने मानिसहरूलाई दिइन्छ," खान भन्छन्।

"यदि यो महामारी निम्त्याउने इन्फ्लुएन्जा भाइरस बनेको अवस्थामा भाइरसको त्यो प्रजाति खोप बनाउन प्रयोग गरिन्छ र ठूलो सङ्ख्यामा खोप तयार गरिन्छ," उनी थप्छन्।

यस्तो उत्पादन व्यापक मात्रामा गर्न समय लाग्न सक्छ। तर अहिले जम्मा गरिएका खोपहरू आवश्यक भएको अवस्थामा तत्कालै प्रयोग गर्न सकिन्छ।

"हामीसँग अहिले भएका केही खोप सबैभन्दा उपयुक्त नहुन सक्छन् तर महामारीको प्रारम्भिक चरणमा केही हदसम्मको प्रतिरोध क्षमता विकास गर्न सहयोग गर्न सक्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।