हामी विदेशी भाषा बोल्दा फरक किन सुनिन्छौँ- त्यसमाथिको विज्ञान

तस्बिर स्रोत, Getty Images
- Author, गिलिया ग्रान्ची
- Role, बीबीसी न्यूज ब्रजिल
यदि तपाईँ एकभन्दा बढी भाषा बोल्नुहुन्छ भने तपाईँले याद गर्नुभएकै होला तपाईँको स्वर सबै भाषामा उस्तै हुँदैन।
मेरोबारे कुरा गर्दा म स्पष्ट रूपमा पाउँछु - अङ्ग्रेजी बोल्दा मेरो आवाज चर्को हुन्छ, फ्रान्सेली बोल्दा म नरम हुन्छु र असाध्यै विचार गरेर मात्र बोल्छु र स्पेनी भाषा बोल्दा अत्यन्त जीवन्त तरिकाले र छिटो छिटो बोल्छु। यस्तो लाग्छ हरेक भाषाले मेरो व्यक्तित्वको फरक फरक पक्षहरू उजागर गर्छ।
भाषाविद् भन्छन् यो हाम्रो टाउकाको मात्र कुरा होइन, हाम्रो शरीर, मस्तिष्क र हाम्रो पहिचानको कुरा हो। हरेक भाषाले हामीलाई खेल्न लगाउने "भूमिका"प्रति अनुकूलित गराउँछ।
ब्रजिलको फेडरल टेक्नोलोजिकल युनिभर्सिटी अफ परानामा प्रोफेसर आना पाउला पेट्रिउ फरेइरा एङ्गलबर्ट भन्छिन्, "यो अभिनय गर्ने जस्तै हो: हामी जुन भाषामा कुराकानी गरिरहेका छौँ त्यही भाषा बोल्ने समुदायका विशेषता अपनाउँछौँ। हामी हामी नै हुन्छौँ, तर उस्तै हुँदैनौँ।"
आफ्नो पीएचडी शोधका क्रममा उनले हाम्रो आवाज हामीले बोल्ने भाषा अनुसार किन बदलिन्छ र त्यो परिवर्तन वास्तविक हो कि त्यसरी हेरिएको मात्र हो भनेर अनुसन्धान गरेकी थिइन्।
उनी भन्छिन्, फरक फरक भाषाका फरक फरक सांस्कृतिक ध्वनि हुन्छन्। "उदाहरणका लागि जर्मन ध्वनिमा भोकल ट्र्याक्टको पछाडिको भाग प्रयोग भएको हुन्छ त्यसले गर्दा जर्मन आवाज अलि कठोर लाग्छ। फ्रान्सेली भाषा अगाडिको भागबाट बोलिन्छ र घुमाउरो 'भावल'हरू प्रयोग हुन्छ त्यसकै सहयोगले फ्रेन्च बोल्नेहरूको आवाज फरक हुन्छ।"
आवाजहरू कसरी परिवर्तन हुन्छन् ?

तस्बिर स्रोत, Getty Images
हाम्रो आवाज र अरू मानिसहरूले हामीलाई कसरी सुन्छन् भन्ने कुरा जीवविज्ञान, संस्कृति र सन्दर्भको मिश्रणबाट आउने हो।
आवाज भोकल फोल्ड्सबाट सुरु हुन्छ र भोकल ट्र्याक्टमा पुग्दा आवाजको तीव्रता बढ्छ। जिब्रो, ओठ र मुखको सहयोगमा आवाजले आकार लिन्छ र अन्तिममा हाम्रो बोलीको रूपमा बाहिर आउँछ।
"यो सबै केन्द्रीय स्नायु प्रणालीद्वारा नियन्त्रित हुन्छ र भावनाबाट प्रभावित भएको हुन्छ। यदि हामी उत्साहित या चिन्तित या दु:खी हुन्छौँ भने हाम्रो स्वर परिवर्तन हुन्छ", साओ पाउलो फेडेरल विश्वविद्यालयमा स्पीच थेरपिस्ट रेनाटा अजेभेडो भन्छिन्।
त्यसमाथि शिक्षा, स्थान र संस्कृतिले पनि आवाजमा प्रभाव पारेका हुन्छन्।
"हरेक भाषाको आफ्नो विशेष आवाज हुन्छ। उदाहरणका लागि अङ्ग्रेजीमा 'फोनिम्स' हुन्छ जुन पोर्चुगीजमा हुँदैन।"
छन्दशास्त्र - लय, सुर र रागको प्रवृत्ति पनि फरक फरक हुन्छ।
"इटालियन डिनर टेबलमा आवाजको तह जापानीभन्दा धेरै नै चर्को हुने गर्छ। एउटै संस्कृतिमा व्यक्तित्वले पनि आवाजमा फरक पार्छ - कति छिटो छिटो हामी बोल्छौँ, कति कुरा हामी व्यक्त गर्छौ हामी कस्तो हाउभाउ प्रयोग गर्छौँ," रेनाटा अजेभेडो भन्छिन्।
हाम्रो आवाजले सन्दर्भ र सांस्कृतिक पहिचानबाट पनि आकार लिने एङ्गलबर्ट बताउँछिन्।
"जब हामी कुनै विदेशी भाषा बोल्छौँ त्यो कुनै विशेष सन्दर्भमा बोलिरहेका हुन्छौँ र त्यसले हामी कस्तो बोल्छौँ भन्नेमा प्रभाव पारेको हुन्छ," उनी भन्छिन्। "जस्तो कि म खासगरी कामको सन्दर्भमा अङ्ग्रेजी बोल्छु त्यसैले मैले त्यस्तो ध्वनि प्रयोग गर्छु जुन मेरो परिवारसँगको कुरा गर्ने भाषामा प्रयोग गर्दिनँ। उद्देश्य, परिस्थिति र सामाजिक भूमिकाले पनि हामी कस्तो सुनिन्छौँ भन्ने तय गर्छ।"
यो परीक्षण गर्न उनले अमेरिकामा पोर्चुगिज र अङ्ग्रेजी बोलिरहेका ब्रजिलियनहरूका आवाज रेकर्ड गरिन्। उनीहरूले लेखहरू पढेको र बोलेको पनि।
फरक स्पष्ट थियो। पोर्चुगिज बोल्ने सहभागीहरू- खासगरी महिलाहरू- आफ्नो आवाजलाई नरम बनाएर बोल्थे। र अङ्ग्रेजीमा उनीहरूको आवाज कम चर्को थियो तर मजबुत थियो। केही महिलाले वाक्यको अन्त्यमा लगभग खासखुस गरेको जस्तो पनि थपेर बोलेका थिए जुन अक्सर अमेरिकी अङ्ग्रेजीमा सुनिन्छ।
त्यसपछि उनले त्यो रेकर्डिङलाई दोभासे श्रोताहरूलाई सुनाइन्, उनीहरूले आवाजमा आएको परिवर्तनलाई बारम्बार खुट्याए। उनीहरूले आवाजलाई उँचो, गहिरो, नरम र ठोसका रूपमा वर्णन गरे। तर उनले व्यक्तित्वको गुणमा पनि जोड दिए: उत्साहित, सङ्कोच मान्ने, आत्मविश्वासी र असुरक्षित।
एङ्गलबर्टका लागि परिवर्तन व्यक्तिपरक भन्दा अन्य केही पनि भएको प्रमाणित भयो।
त्यो परिवर्तन नाप्न सकिन्थ्यो, थाहा पाउन सकिन्थ्यो र सांस्कृतिक रूपमा प्रभावित भयो: उनको ब्रजिली दुइभाषीय समूहले आफ्नो अङ्ग्रेजी आवाजलाई अमेरिकी वक्ताहरूसँग जोडिएको गुणसँग मेल खाने गरी मिलाउन सक्छन् - गहिरो, बलियो र आफ्नो कुरामा जोड दिने।
यद्यपि उनको भनाइ छ: यो तुलनात्मक रूपमा कम अध्ययन गरिएको क्षेत्र हो र मानिसहरू दोस्रो भाषामा लय स्वर र अभिव्यक्तिलाई मानिसहरूले कसरी लिन्छन् भन्ने जस्ता कैयौँ प्रश्न अहिले पनि बाँकी नै छन्।

तस्बिर स्रोत, Getty Images
दुई भाषामा बोल्दै भएको हुर्काइ
एक भन्दा बढी भाषा बोल्दै हुर्किएका मानिसहरूमा फरक भाषामा केही फरक आवाज निस्किन्छ।
एङ्गलबर्टको तर्क छ: दुई भाषीको परिभाषा फरक फरक हुन्छ। "उदाहरणका लागि सन् १९९० को दशकको अध्ययनबाट क्याटलन स्पेनिश दुई भाषीबीच आवाजमा परिवर्तन कम देखिन्छ तर त्यसमा पनि एउटा भाषा प्रमुख हुन्छ - त्यो भाषा जसमा उनीहरू अधिक आत्मविश्वास महसुस गर्छन्। "
जसले दोस्रो भाषा किशोरावस्थामा वा वयस्क भएपछि सिक्छन् उनीहरूमा सुरुवाती दिनमा ठूलो फरक देखिन्छ।
"जतिबेला तपाईँ नयाँ भाषा सिक्न सुरु मात्र गर्नुभएको हुन्छ त्यतिबेला लय, सुर र स्वरमा ठूलै फरक पनि देखिन्छ। जब दखल बढ्दै जान्छ र सजिलो हुन थाल्छ अनि ती फरकपन पनि खुम्चिँदै जान्छन्, " अजेभेडो भन्छिन्।
सन्दर्भले पनि महत्त्व राख्छ। "जति तपाईँको अनुभव बढ्दै जान्छ अनुकूलन त्यति नै स्वाभाविक बन्दै जान्छ र नयाँ भाषामा तपाईँको 'अर्को संस्करण'लाई आत्मविश्वासी र प्रखर बन्न सजिलो बन्दै जान्छ, " उनी भन्छिन्।
व्याकरण र शब्दावलीभन्दा बढी
कुनै भाषा सिक्नु भनेको शब्दहरू र नियम जान्नु मात्र कदापि होइन।
मानिसहरूसँग वास्तविक वार्तालाप र सोही भाषा मातृभाषा हुनेहरूलाई सुन्नु र त्यो संस्कृतिसँग सङ्गीत फिल्म र साहित्यमार्फत् सक्रिय हुनुबाट भाषामा दखल बढ्दै जान्छ र एउटा भाषाबाट अर्कोमा जाँदा हुने परिवर्तनलाई सहज बनाइदिन्छ।
अजेभेडो भन्छिन्, "जति धेरै हामी सांस्कृतिक रूपमा डुब्छौँ उनी नै त्यो भाषाको लय र ध्वनि अपनाउन पुग्छौँ चाहे त्यो भाषण साहित्य खाना वा सङ्गीतको माध्यमबाट होस्।"
उनी बोलाइको सूक्ष्म विवरणमा ध्यान दिनुको महत्त्वमा जोड दिन्छिन्। "कैयौँ लयात्मक र अभिव्यक्तिका तौर तरिका औपचारिक कक्षामा पढाइन्नन्। तर तिनले हामी कति फररर बोल्छौँ र बुझिने गरी बोल्छौँ भन्नेमा ठूलो फरक पार्छन्।"
जहाँसम्म उच्चारण फरक हुने कुरा छ त्यो पूर्ण रूपमा जाने भन्ने हुँदैन र त्यो ठिकै पनि छ।
"तपाईँ त्यसलाई नरम बनाउन सक्नुहुन्छ तर तपाईँको उच्चारणको तरिका तपाईँको एक हिस्सा पनि हो त्यो तपाईँको पृष्ठभूमि र पहिचानको प्रतिविम्ब हो," अजेभेडो भन्छिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








