भाषा सिक्ने सबैभन्दा सही उमेर कुन हो र किन?

बेलारुसमा भाषा सिक्दै दुई युवतीहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बेलारुसमा भाषाको कक्षा: नयाँ भाषा सिक्दा बालबालिकालाई भन्दा युवाहरूलाई त्यसको बढी फाइदा हुन्छ
    • Author, सोफी ह्याडक
    • Role, बीबीसी फ्यूचर

शरद ऋतुको एउटा व्यस्त बिहानी। उत्तरी लन्डनस्थित स्पेनिस नर्सरी। यो एउटा दोभासे नर्सरी स्कुल हो।

"यो उमेरमा बालबालिकाहरूले भाषा सिक्दैनन्, उनीहरूले भाषा ग्रहण गर्छन्," स्कुलकी निर्देशक कार्मेन रामप्रेसादले भनिन्।

यस विद्यालयका धेरै बालबालिकाका लागि स्पेनिस भाषा तेस्रो वा चौथो भाषा हो।

उनीहरूको मातृभाषामा क्रोयसियन, हिब्रु, कोरियन र डच पर्छन्।

बालबालिकाले भाषा सिक्न गरिरहेका यी सङ्घर्षलाई औसत उमेर पुगेको मानिससँग दाँज्दा हामी सजिलै निष्कर्ष निकाल्छौँ: भाषा सानो छँदै सिक्नु नै उत्तम हो।

तर विज्ञानले भने भाषासँग कसरी हाम्रो जीवनकालभरी सम्बन्ध विकसित भइरहन्छ भन्ने एउटा जटिल धारणा प्रस्तुत गर्छ।

यसले ढिला भाषा सिक्न थाल्नेहरूलाई प्रोत्साहित गर्छ।

जीवनको फरकफरक समयमा भाषा सिक्नुका भिन्न-भिन्न फाइदाहरू छन्।

भाषा कक्षामा बालबालिका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आफू जन्मिएको ठाउँको भाषा र लबज सिक्न बालबालिका निपुण हुन्छन् तर फरक भाषाका फाइदाहरू भने उमेर पुगेपछि नै लिन सकिन्छ

शिशुका रुपमा हामी फरक स्वरहरू सुन्न सक्छौं; त्योभन्दा अलि ठूलो बामे सर्नसक्ने बच्चा हुँदा हामी रैथाने लबज चकित पार्ने गतिमा सिक्न सक्छौँ।

वयस्क हुँदा हामी लामो समय शब्दमा ध्यान दिन्छौँ र लेखपढका लागि महत्त्वपूर्ण क्षमता हुन्छ जसले गर्दा शब्द सिक्न हामीलाई मद्दत गर्छ।

र, उमेर बाहेक सामाजिक परिवेश, पढाउने तरिका एवम् प्रेम र मित्रता जस्ता कुराले पनि हामी कतिवटा भाषा कति राम्ररी बोल्न सक्छौँ भन्ने विषयलाई असर गर्नसक्छ।

वयस्क महिला भाषा सिक्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भाषाका नियमहरू सिक्न वयस्कहरू पारङ्गत हुन्छन्

युनिभर्सिटी अफ एडिनबराकी बहुभाषासम्बन्धी केन्द्रकी निर्देशक एन्टोनेल्ला सोराचेले उमेरसँगै सबैकुरा ओरालो नलाग्ने बताइन्।

उनले 'व्याख्यासहितको स्पष्ट सिकाइ' को उदाहरण दिइन् जसमा कक्षाकोठामा शिक्षकले नियमसहित भाषा सिकाउँछन्।

यस्तो सिकाइका लागि बालबालिकाभन्दा वयस्कहरू धेरै उत्तम हुन्छन्।

इजरेलमा भएको एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले वयस्कहरूले कृत्रिम भाषाको नियम बुझेर त्यसलाई नयाँ शब्दहरूमा प्रयोग गर्नसक्ने पत्ता लगाए।

क्याम्पसमा हिँडिरहेका केही युवा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, केही अनुसन्धानहरूले नयाँ विचारबारे युवासँग राम्रो जानकारी हुने पत्ता लगाएको छ

स्पेनका दुईवटा भाषा सिकिरहेकाहरू २,००० जनासँग गरिएको एउटा अध्ययनमा पनि कम उमेरका भन्दा उमेर पुगेका मानिसहरूले छिट्टै भाषा सिक्न सकेको देखायो।

हामी प्राकृतिक रुपमै भाषा सिक्न सुरु गर्छौँ। बाल्यावस्थामा हामीले विश्वका भाषाहरूमा हुने छ सय व्यञ्जन र दुई सयवटा वर्ण सुन्न सक्छौँ।

पहिलो वर्षभित्र हाम्रो दिमाग धेरै सुनिरहेको स्वरहरूमा पोख्त हुन थाल्छ।

रुँदै गरेको बालक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भर्खरै जन्मिएका बच्चा पनि लबजसहित रुन्छ। उसले कोखमा हुँदा सुनेको स्वरकै देखासिकी गर्छ

नवजात शिशु त आमाको कोखमा हुँदा सुनेकै लबजको नक्कल गरेर रुन थाल्छ।

सोराचे भन्छिन्, "आफ्नै भाषा टिप्नका लागि बाल्यावस्था निकै महत्त्वपूर्ण हुन्छ।"

एक्लिएका वा अनाथ बालबालिकामा गरिएको अध्ययनले समयमै भाषा नसिकेको अवस्थामा पछि त्यसलाई सजिलै टिप्न नसक्ने देखाएको छ।

तर आश्चर्य के छ भने विदेशी भाषा सिक्नका लागि भने त्यो नियम लागु हुँदैन।

युनिभर्सिटी अफ योर्ककी मनोभाषाविद् ड्यानिएला ट्रेनकिकले नयाँ देश सर्न लागेको एउटा परिवारको उदाहरण दिइन्।

बालबालिकाहरूले अभिभावकको दाँजोमा धेरै छिटो भाषा सिक्छन्।

आमाछोरी खेल्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कुनै एउटा परिवार अर्को देश सरेपछि बच्चाहरूले धेरै छिटो भाषा सिक्छन् तर त्यो उनीहरूको आवश्यकताका कारण हुनसक्छ

नयाँ भाषा सिक्नका लागि बालबालिकाले हतारो महसुस गर्छन्।

साथी बनाउने र उनीहरूसँग घुलमिल हुने जस्ता सामाजिक कारणले उनीहरूले भाषा सिक्नु निकै महत्त्वपूर्ण हो भन्ने बुझ्छन्।

उनीहरूका आमाबुवा भने आफूलाई बुझ्ने आफूहरूजस्तै आप्रवासीसँग घुलमिल हुने सम्भावना बढी हुन्छ।

सन् २०१३ मा इटलीको भाषा सिकिरहेका ब्रिटिश वयस्कहरूसँग गरिएको अध्ययनमा भाषा सिक्न समस्या भएकाहरूलाई शिक्षक र अन्य विद्यार्थीसँग मिलाएर मद्दत गरिएको थियो।

"सामाजिक उत्प्रेरणा भएन भने टिक्नै मुस्किल हुन्छ, भाषा सिक्नका लागि वर्षौं बिताउनु पर्छ।"

यो वर्षको सुरुमा एमआइटीमा अनलाइन प्रश्नोत्तरमा आधारित भएर झण्डै छ लाख ७० हजार मानिसहरूमा गरिएको एउटा अध्ययनमा स्थानीय मानिसको जस्तै अङ्ग्रेजी व्याकरणको ज्ञान हासिल गर्न १० वर्ष हुँदा सुरु गर्नु निकै उत्तम हुने पाइएको थियो।

थेम्स नदी हेर्दै एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मानिस आधा उमेर पुग्दासम्म पनि जन्मिएकै देशको भाषाको पनि एउटा नयाँ शब्द प्रत्येक दिन सिकिरहेको हुन्छ

तर उक्त अध्ययनले हामी आफ्नै भाषामा पनि राम्रो हुँदै जाने देखाएको थियो।

उदाहरणका लागि हामी आफ्नो भाषामा पनि व्याकरणमा पारङ्गत ३० वर्षभित्र मात्रै हुन सक्छौँ।

एउटा छुट्टै अनलाइन अध्ययनले भने रैथाने मानिसहरूले पनि आफ्नो आधा उमेर नपुग्दासम्म प्रत्येक दिन नयाँ शब्द सिक्ने देखाएको थियो।

भाषा किन पढ्ने?

"मानिसहरूले कहिलेकाहीँ सोध्छन् विदेशी भाषा सिक्नुको ठूलो फाइदा के छ?" ट्रेनकिक भन्छिन्।

"के मैले थप पैसा कमाउँछु? म थप बाठो हुन्छु? म स्वस्थ रहन्छु?"

अक्षर सिक्दै वृद्ध हातहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सिक्नका लागि कहिल्यै पनि ढिला हुँदैन

"तर खासमा विदेशी भाषा जान्नुको सबैभन्दा ठूलो फाइदा भनेको धेरै मानिससँग सम्वाद गर्न सक्नु हो," उनी भन्छिन्।

स्पेनिस नर्सरीकी निर्देशक आफैँले पनि दोस्रो भाषा ढिला सिक्न थालेकी हुन्।

रामप्रेसाद रोमानियामा हुर्किइन् र उनले अङ्ग्रेजीमा पकड जमाउन थालेकी २० वर्षको उमेरपछि मात्रै हो।