संस्कृत शिक्षा: के गुरुकुलमा दलित विद्यार्थीले पढ्नै पाउँदैनन्?

अध्ययन गर्दै गुरुकुलका विद्यार्थी

तस्बिर स्रोत, Kamal Timilsina

सुर्खेतका २१ वर्षीय प्रकाश परियारले महोत्तरीको राजकीय संस्कृत माध्यमिक विद्यालयबाट उच्च माध्यमिक तहको परीक्षा दिएका छन्।

ज्योतिषशास्त्र अध्ययन गर्ने हुटहुटीले देशकै पहिलो गुरुकुल भनिने विद्यालयमा पुगेका परियारले आचार्य अर्थात् स्नातकोत्तरसम्मको शिक्षा त्यही सक्ने योजना बनाएका छन्।

संस्कृत भाषाको आधारभूत ज्ञान नभएकाले पढाइ केही कठिन महसुस भए पनि त्यहाँको दुई वर्षे अध्ययन अवधि सहजै बितेको उनी सुनाउँछन्।

परियार गुरुकुलको "विभेद तथा असमानतारहित वातावरण"ले बाँकी अध्ययन पनि त्यहीँबाट सक्ने प्रेरणा मिलेको सुनाउँछन्।

तर गुरुकुल शिक्षा दलित समुदायका सबै विद्यार्थीका लागि निम्ति सहज नभएको जानकारहरू बताउँछन्।

केही दिनअघि ललितपुरको एक गुरुकुलमा दलित बालकहरूको भर्ना नलिइएको विवरणहरू सार्वजनिक भएका थिए।

बर्दियाबाट कर्मकाण्ड पढाउन ल्याइएका चार दलित बालकहरूलाई उक्त गुरुकुलमा जातकै कारण पढ्न अनुमति नदिइएको अभियानकर्मीहरू बताउँछन्।

जातीय विभेद र छुवाछुतविरुद्धकी एकजना अधिकारकर्मी सरु सुनार शिक्षाको अधिकारबाट वञ्चित ती बालकमध्ये कसैले पनि गुरुकुलमा भर्ना नपाउनुले "प्रत्यक्ष रूपमा जातीय विभेद" भएको बताउँछिन्।

सो गुरुकुलले भने विद्यालयमा विद्यार्थी राख्ने ठाउँको अभाव र विद्यार्थीको योग्यता नपुगेको कारण भर्ना नलिएको बताएको छ।

घटनाको विवरण

बर्दियाको बारबर्दिया नगरपालिकाका चार बालकहरू गुरुकुल शिक्षाका लागि काठमाण्डू आएका थिए।

शङ्खमूलस्थित जगद्गुरु आदर्श संस्कृत विद्यालयमा भौतिक संरचनाको अभाव भएको र विद्यार्थीहरूको समेत योग्यता नपुगेको भन्दै भर्ना नलिइएको आरोप छ।

जगद्गुरु आदर्श संस्कृत विद्यालय

तस्बिर स्रोत, Kamal Timilsina

बालकहरूको परिवार र अभियानकर्मीहरूले जातीय विभेद भएको बताउँदै घटना सार्वजनिक गरे।

लगत्तै राष्ट्रिय दलित आयोगले गुरुकुलसँग स्पष्टीकरण सोध्यो।

गुरुकुलले २०७२ सालको भूकम्पपछि त्यहाँको भौतिक संरचना जोखिमपूर्ण भएको र अस्थायी रूपमा सञ्चालित कक्षाकोठाहरूमा कोटाअनुरूप विद्यार्थी राख्न असमर्थ भएको बतायो।

भर्ना नपाएकामध्ये दुई जनालाई चितवनको देवघाटस्थित योगी नरहरिनाथ संस्कृत गुरुकुलले भर्ना लिएको छ। बाँकी दुई जनालाई एक संस्थाले शरण दिएको छ।

सो संस्था 'समानता अभियान नेपाल'का अध्यक्ष चन्द्रकान्त पौडेल भन्छन्, "आर्थिक रूपमा विपन्न बालकहरूको परिवारले नि:शुल्क शिक्षाको आशा गरेका छन्। उनीहरूलाई संस्कृत पढाउने परिवारको इच्छाअनुरूप उपयुक्त ठाउँको खोजी भइरहेको छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, संस्कृतप्रति आकर्षण बढ्दै

'विभेदकारी मानसिकता'

घटनासम्बन्धी छानबिनमा दलित आयोगसँग समन्वय गरेका उनले जातकै आधारमा बालबालिकालाई शिक्षाबाट वञ्चित गर्न नहुने बताए।

"जे भयो त्यो शतप्रतिशत जातीय विभेद हो र यसको अन्त्य हुनुपर्छ। जब पौडेल र परियारले कुनै बहानाबिना सँगै वेद पढ्न पाउँछन् तब मात्र विभेदको अन्त्य हुन्छ," उनले भने।

"हामी मान्छे होइन, विभेदकारी मानसिकताविरुद्ध लड्दै छौँ।"

उनको कुरामा सुनार पनि सहमत छिन्।

"हामीले 'खान, बस्न र पाठ्य सामग्रीको रकम हामी उपलब्ध गराउँछौँ, कम्तीमा दुई जनालाई गुरुकुलको आधारभूत शिक्षा दिनुहोस्' भन्यौँ तर त्यसको लागि पनि तयार हुनुभएन," उनले भनिन्।

"खर्च बेहोर्छौँ भन्दा पनि शिक्षा दिन मान्नुभएन। यो त प्रत्यक्ष र परोक्ष हिसाबमा विभेद नै हो।"

के भन्छ गुरुकुल पक्ष?

विसं २०७२ को भूकम्पपछि विद्यालयको भौतिक संरचना जीर्ण बनेको विद्यालयका प्रतिनिधिहरूको दाबी छ।

स्थान अभावकै कारण ५० जना विद्यार्थीको कोटामध्ये त्यहाँ हाल ३५ जना मात्र अध्ययन गरिरहेको विद्यालयका शिक्षक कमल तिमिल्सिनाले बताए।

उनका अनुसार त्यहाँ भर्ना हुन चाहने विद्यार्थीका लागि केही मापदण्ड तय गरिएको छ।

"यहाँ संस्कृतबाहेक नेपाली र अङ्ग्रेजी भाषामा समेत पढाइ हुन्छ। त्यसैले ती भाषाको आधारभूत ज्ञान चाहेका हौँ तर ल्याइएकामध्ये कुनै पनि विद्यार्थी पढ्न सक्ने थिएनन्," तिमिल्सिनाले सुनाए।

"हरेक वर्ष ब्राह्मण वा क्षेत्री जातका विद्यार्थीहरू पनि अयोग्य ठहरिन्छन्। उनीहरूलाई पनि हामी अर्को वर्ष आउन सुझाव दिन्छौँ तर परिस्थिति भड्किँदैनथ्यो।"

वेदमा "सबै जना सँगै हिँडौँ, सँगै बोलौँ र सहकार्य गरौँ" भन्ने कुरा उल्लेख गरेको र आफूहरूले सोही अनुसरण गरेको उनको कथन छ।

गुरुकुलमा विभेदको आरोपको खण्डन गर्दै उनले भने,"हामीकहाँ रम्तेल थर भएका एक बालक अध्ययनरत छन्। विभेद हुन्थ्यो भने उनी यहाँ हुने थिएनन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्थानीय तहमा आरक्षण किन आवश्यक छ?

दलित आयोग के भन्छ?

घटनाको सम्बन्धमा उपस्थित दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले पनि गुरुकुलको घटनामा जातीय विभेद नभएको देखिएको जानकारी दिए।

त्यहाँ विद्यार्थी राख्ने ठाउँको अभाव देखिएको र आगामी शैक्षिक सत्रदेखि दलित विद्यार्थी भर्ना गर्ने सम्झौता भएको बताए।

विश्वकर्माले भने, "जातीय विभेद भएको बुझिएन। त्यहाँ पहिलेदेखि नै दलित विद्यार्थी अध्ययनरत रहेकाले पनि विभेद हो भन्ने ठाउँ देखिएन।"

तर गुरुकुलहरूमा दलित विद्यार्थीको भर्ना प्रक्रिया सरल नबनिसकेको उनको धारणा छ।

"वेद पुराणमा 'जातीय विभेद गर' भनेको छ कि छैन भन्ने बुझ्न पनि हाल दलित समुदायका धेरैले संस्कृत पढ्न चाहेको देखिन्छ। जहाँबाट विभेद सुरु भयो त्यसको जरासम्म पुग्न खोजेका छन् तर सहजै भर्ना लिनुको साटो हतोत्साह गरेको पाइन्छ," विश्वकर्माले भने।

यसै सन्दर्भमा आयोगले गुरुकुलहरूमा दलित विद्यार्थीको सङ्ख्या र उनीहरूको अवस्थाबारे अनुगमन सुरु गर्ने भएको छ।

राजकीय संस्कृत माध्यमिक विद्यालय

तस्बिर स्रोत, Ishwori Paudel

के गुरुकुलमा जातीय विभेद हुन्छ?

केही समय अघिसम्म गुरुकुलहरूले व्रतबन्ध गरेर ब्राह्मणका बच्चाहरूलाई पढाउने अवधारणा राख्थे।

देशमा भएको राजनीतिक, सामाजिक र अन्य परिवर्तनसँगै गुरुकुलहरूमा हरेक जात, धर्म र लिङ्गका मानिसले गुरुकुलबाट शिक्षा लिन पाउने भनिएको छ।

तर भनिएको कुरा व्यवहारमा लागु नभएको देशको सबैभन्दा पुरानो गुरुकुल भनिने मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरी पौडेल बताउँछन्।

पौडेलका अनुसार हाल ९० प्रतिशत गुरुकुलले ब्राह्मणबाहेक अन्य समुदायका बालबालिकालाई अध्ययनको लागि सहज प्रवेश दिँदैनन्।

पौडेलले भन्छन्, "धेरै गुरुकुल सरकारको स्वामित्वमा छैनन्। मुट्ठीदानबाट चलेका छन्। त्यसैले सबैले आफ्नै खालको नियमकानुन बनाएका छन्। सञ्चालक र व्यवस्थापन समितिमा पनि कथित उच्च जातिकै मानिस रहेपछि समस्या देखिएको हो।"

राजकीय संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरू

तस्बिर स्रोत, Ishwari Paudel

तस्बिरको क्याप्शन, राजकीय संस्कृत गुरुकुलमा विभेदरहित रूपमा सबै समुदायका केही विद्यार्थी अध्ययन गरिरहेको विद्यालयको दाबी छ

संविधानले हरेक किसिमको विभेद र छुवाछुत वर्जित गरेको छ।

तर निश्चित जात र धर्म केन्द्रित गुरुकुलहरूले परम्परागत सोच त्याग्न नसक्दा विभेदपूर्ण घटनाहरू सार्वजनिक हुने गरेको पौडेलको तर्क छ।

"समयसँगै गुरुकुल धाउने ब्राह्मणका बच्चाहरू घट्दै गए। समाजका अन्य जातका मानिसहरू त्यहाँ सहभागी हुन खोजिरहेका छन् तर हाम्रो समाजले समावेशिता र समानतालाई स्वीकार्न सकेको छैन," उनले भने।

धेरै विद्यालयले कानुनले वर्जित गरेकै कारण आफूहरूले हरेक जातको विद्यार्थी राख्ने बताए पनि भर्ना लिने समयमा विभिन्न कारणहरू पेस गर्नुपरेको सुनाए।

तीन सय चार वर्ष पुरानो भनिने राजकीय संस्कृत गुरुकुलमा चमार, सार्की, परियारलगायत दलित जातका र मुस्लिम समुदायका केही विद्यार्थी अध्ययन गरिरहेको उनको दाबी छ।

सामाजिक समावेशिता चाहिन्छ

विद्यालयमा धार्मिक विविधता, भौगोलिक तथा सामाजिक समावेशिता भएको कारण विभेद नरहेको उनले बताए।

सामान्य विद्यालयहरू भौतिकवाद, विज्ञान र प्रविधि केन्द्रित भइरहँदा गुरुकुलहरूले भने विज्ञान र प्रविधिसँगै धर्म, संस्कृति, मूल्यमान्यता, भाषा र साहित्यलाई समेत अघि बढाएको बताइन्छ।

विशेषतः संस्कृत, ज्योतिषशास्त्रसँगै देवकार्य र पितृकार्यसँग सम्बन्धित कर्मकाण्डमा पनि विद्यार्थीहरूलाई सहभागी गराइन्छ।

उच्च माध्यमिक तहको नतिजा कुरिरहेका प्रकाश परियार भन्छन्: "आम विद्यालयमा संस्कृत पढ्न पाइँदैन। ती विद्यालयको तुलनामा गुरुकुलमा तिर्नु पर्ने शुल्क पनि कम छ। विभिन्न पृष्ठभूमिका साथीहरूसँगको घुलमिलले यहाँको शिक्षा झनै परिष्कृत लाग्यो।"

प्राचार्य पौडेल भन्छन्, "गुरुकुलले आचरणमा रहन सिकाउँछ। सिक्न र सिकेको कार्य व्यवहारमा लागु गर्न कुनै जातले छेक्नु हुँदैन।"