पाँच हजार नेपालीको लोपोन्मुख मातृभाषा जोगाउन विद्यालयमा पढाइ

- Author, उमाकान्त खनाल
- Role, झापा, बीबीसी न्यूज नेपाली
नेपालमा मेचे समुदायको जनसङ्ख्या पाँच हजार मात्रै छ।
ती मध्ये २० प्रतिशतले मात्रै घरभित्र मेचे भाषा बोल्ने सम्बन्धित अधिकारीहरू बताउँछन्।
लोप हुन लागेको मेचे भाषा जोगाउन झापाको हल्दीबारी गाउँपालिकाले दीपेन्द्र प्राथमिक विद्यालयको कक्षा एकमा मेचे भाषाको पठनपाठन शुरू गरेको छ।
सो गाउँपालिकामा मेचे समुदायका सबैभन्दा बाक्लो बस्ती छ र करिब एक हजार तीन सय मानिसहरू बसोबास गर्छन्।
'जङ्नि राउ, थाख १'
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे भन्छन्, "जुन विद्यालयमा ५० प्रतिशतभन्दा धेरै मेचे समुदायका बालबालिका छन्, त्यही विद्यालयमा उनीहरूकै मातृभाषाको पठनपाठन शुरू गरेका हौँ।"
विसं २०४४ मा स्थापना भएको उक्त विद्यालयमा हाल एक सय ३१ जना विद्यार्थी अध्ययनरत रहेकामा ५५ जना मेचे समुदायका रहेका विद्यालयका प्रधानाध्यापक दीर्घराज आचार्यले बताए।
पठनपाठनका लागि पाठ्यक्रम विकास केन्द्रले कक्षा १ का लागि प्रकाशन गरेको नेपाली भाषाको पुस्तकलाई आधार मानेर मेचे भाषाको पुस्तक तयार पारेर स्वीकृत गरिएको बताइएको छ।
'जङ्नि राउ, थाख १' पुस्तकका लेखक सन्थलाल मेचे हुन् भने प्रकाशक हल्दीबारी गाउँपालिका हो। पुस्तकमा ३७ भाग र ९५ पेज रहेका छन्।

घरभित्रै सीमित भाषा
मेचे जातिका बूढाबूढीहरु घरभित्र आफ्नै भाषामा बोल्छन्। तर घरबाहिर भने उक्त भाषाको प्रयोग नै नहुने गरेको मेचे अगुवाहरू बताउँछन्।
गाउँपालिकाका घिमिरे भन्छन्: "नयाँ पुस्ताका मानिसहरूले अलि अलि बुझ्छन् तर कुराकानी गर्न जान्दैनन्।"
पुस्तक लेखक मेचेका अनुसार गाउँघरमा बूढापाकाले बोल्ने गरेको शैली तथा शब्दहरूलाई आधार मानेर उक्त भाषाको वर्ण तयार गरिएको हो।
उनले भने, "गाउँमा मेचे जातिका मानिसहरूको बाक्लो बस्ती रहेका ठाउँमा मात्र सीमित रहने भयो। पढाइ नै भएपछि भाषा बोल्ने मान्छे बढ्ने भए।"
मेचे भाषाको आफ्नो लिपी छैन। देवनागरी लिपी नै उनीहरूको लिपी मानिँदै आएको छ।
रोङमा लेप्चा भाषा
माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी पाएसँगै विभिन्न स्थानीय तहहरूले आफ्नो क्षेत्रमा बसोबास गर्ने विभिन्न जातिका भाषाका पाठ्यक्रम बनाएर पठनपाठन शुरू गरेका छन्।
इलामको रोङ गाउँपालिकाले लेप्चा भाषाको पठनपाठन गराउनका लागि पाठ्यक्रम बनाउन सिमान्तकृत लेप्चा समुदायका अगुवाहरू सम्मिलित एउटा समिति गठन गरेको छ।
रोङका प्रायः सबै वडाहरूमा लेप्चा समुदायका मानिसहरूको बसोबास रहेको उक्त गाउँपालिकाका प्रवक्ता सुवास तामाङले बताए।
उनले भने, "हामीले विज्ञहरूको समिति बनाएर लेप्चा भाषाको पढाइका निम्ति काम गरिरहेका छौँ।"
उनले भने, "हामी आगामी शैक्षिक वर्षदेखि लेप्चा भाषाको पढाइको तयारीमा छौँ।"
गाउँपालिकाका अध्यक्ष शमशेर राईका अनुसार लेप्चा भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्नका लागि विज्ञहरूको टोलीसँग सम्झौता भइसकेको छ।
मातृभाषाको पढाइ
नेपालका सामुदायिक विद्यालयका प्राथमिक तहमा हाल २६ वटा मातृभाषामा पठनपाठन हुने गरेको पाठ्यक्रम विकास केन्द्रले बताएको छ।
केन्द्रका अनुसार मैथिली, भोजपुरी, अवधि, नेवारी तथा नेपाली भाषा ऐच्छिक विषयका रूपमा माध्यमिक तहमा पढाइ हुन्छ।
केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईका अनुसार प्राथमिक तहमा मैथिली, अवधि, भोजपुरी, तामाङ, लिम्बु, वान्तवा राई, चाम्लिङ राई, शेर्पा, नेपाल भाषा, मगर, गुरुङ, थारु, सुनुवार, राजवंशी, याख्खा, थारु, माझी र नेपाली मातृभाषाको पठनपाठन हुने गरेको छ।
भट्टराईले अहिले स्थानीय तहले नै आवश्यकता अनुसार पाठ्यक्रम बनाएर केन्द्रको स्वीकृतिमा विद्यालयहरुमा पठनपाठनको व्यवस्था गरिरहेका छन्।









