बजारमा बेचिने घिउ, तेल र पानीमा अझै 'समस्या'

तस्बिर स्रोत, RSS
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
बजार अनुगमनका क्रममा जारको खानेपानी, तेल र घिउमा तुलनात्मक रूपमा समस्या देखिएको अधिकारीहरूले बताएका छन्।
समस्या निराकरण गर्न सबै अनुगमनकारी निकायहरूबीच अझ बढी समन्वय आवश्यक भएको विज्ञ तथा सरकारी अधिकारी स्वीकार गर्छन्।
नेपाली बजारमा ठोसभन्दा तरल वस्तुमा त्यस्तो समस्या देखिने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी एक पूर्वमहानिर्देशकले बताइन्।
उपभोक्ताबीच जनचेतना अभिवृद्धि गरिए धेरै हदसम्म यो समस्या न्यूनीकरण हुने विज्ञहरूको राय छ।
आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाका अनुसार विसं २०८१ सालको साउन १ गतेदेखि विसं २०८२ को असार ३२ गतेसम्म देशभरि विभिन्न वस्तुको ३,९०० वटा अनुगमन गरिएको थियो।
सो अवधिमा देशभरि विभिन्न ३३ वटा फर्मका सामान नष्ट गरिएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा जनाइएअनुसार एक वर्षको अवधिमा पौने तीन करोड रुपैयाँभन्दा बढी जरिवाना तिराइएको छ। त्यस्तै अखाद्य वस्तु फेला परेका पौने चार लाख रुपैयाँ बराबरका वस्तु नष्ट गरिएको प्रतिवेदनमा उल्लेख छ।
उक्त अवधिमा आवश्यक कागजपत्र मागिएको सङ्ख्या चाहिँ १५१९ रहेको छ।
अधिकारी के भन्छन्

तस्बिर स्रोत, Reuters
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता भरतप्रसाद आचार्यका अनुसार अनुगमनका क्रममा कतिपय वस्तु खान नहुने देखिएको हो।
"खान अयोग्यजस्ता कुराहरू भए। ठ्याक्कै 'पोइन्ट आउट' गरेर योयो कुरा भन्ने होइन। तेलको हकमा मिसावट भयो। पानीको हकमा राम्ररी प्रशोधन नभएको, लेउ भेटिएको अनि घिउमा पनि अखाद्य वस्तुको अलिअलि मिश्रण देखिएको हो," बीबीसी न्यूज नेपालीसँग उनले भने।
अनुगमनका क्रममा कतिपय ठाउँमा पुनः लेबल गरिएको पनि फेला पारिएको उनले बताए।
उनका अनुसार त्यस्ता वस्तु जफत गरेर नष्ट गर्नुका साथै सम्बन्धित पक्षलाई जरिवाना तिराइएको छ।
यद्यपि पहिलाका वर्षको तुलनामा सुधार हुँदै गएको प्रवक्ता आचार्यको दाबी छ। "पहिलाका वर्षभन्दा केही सुधार भएकै हो, तर ठ्याक्कै नतिजा निकालिसकेको अवस्था छैन," केकेमा सुधार भनी प्रश्नमा उनले भने।
बजार अनुगमनका क्रममा जरिवाना तिराउने लगायतका कदम चाली सुधारका कामहरू गरिएको आचार्यले बताए।
अझ राम्रो नतिजाका लागि उनी सरकारी निकायहरूको समन्वयमा जोड दिन्छन्।
"वाणिज्य क्षेत्र हामीले हेर्ने हो। नापतौल तथा गुणस्तर विभागले सामानको गुणस्तरबारे हेर्छ भने खाद्य तथा गुणस्तर विभागले खाद्यतर्फ हेर्छ। त्यसैले यी तीनवटै निकायहरू आआफ्नो क्षेत्रमा क्षमताअनुसार विस्तार हुन सके भने धेरै कुरा ट्र्याकमा ल्याउन सक्छौँ," आचार्यले भने।
कतिपयले जरिवाना कम भएको तर्क गर्ने गरेको अवस्थामा उनी भने त्यसमा सहमत छैनन्।
"जति भए पनि जरिवाना भनेको जरिवाना नै हो। जरिवाना तिराएपछि त्यसले सम्बन्धित पक्षका लोगोदेखि ब्रान्डसम्ममा असर पर्छ। त्यसले व्यापारमै घाटा हुन्छ," प्रवक्ता आचार्यले भने।
उनका अनुसार एकचोटि जरिवाना तिराइएका विक्रेता अथवा उत्पादकले दोहोर्याएर गल्ती नगरेको पाइएको छ।
चाडबाडका बेला मात्र अनुगमन तीव्र हुने गरेको सर्वसाधारण उपभोक्ता तथा अधिकारवादीहरूको आरोप रहँदै आएको छ। तर आचार्य त्यो अस्वीकार गर्छन्।
"त्यस बेला अझ बढी अनुगमन हुने गरेकाले मात्र धेरै चर्चा हुने गरेको हो," उनले दाबी गरे।
जानकार के भन्छन्

तस्बिर स्रोत, Getty Images
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी भूतपूर्व महानिर्देशक जीवनप्रभा लामा ठोसभन्दा तरल पदार्थमा समस्या अलि बढी समस्या पाउने गरिएको अनुभव सुनाउँछिन्।
"मिसावटको प्रकृति पनि फरकफरक हुन्छ। पिउने पानीमा मिसावटभन्दा पनि सफा नहुन सक्छ, तोकिएको मापदण्डबमोजिम नहुन सक्छ," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।
"खाने तेलको हकमा पानीभन्दा फरक समस्या देखिएको उनी बताउँछिन्। "धेरै समय भण्डारण गरेर राख्दा त्यसको प्रकृति बदलिएर जान्छ। पहिलापहिला खुला वनस्पति घिउमा आलु र पिँडालु समेत मिसाउने गरेको पाइन्थ्यो। अहिले त त्यस्तो सुनिँदैन," उनले अगाडि थपिन्।
उनका अनुसार 'आरएम भ्यालू' तोकेजति नहुँदा घिउ निम्न स्तरको हुन जान्छ। "सरकारले तोकेको मापदण्ड पूरा नहुनासाथ निम्न स्तरको भइहाल्छ।"
उत्पादनदेखि उपभोगसम्म सबै पक्ष एउटै निकायले हेर्न नसक्ने भएकोले पनि समस्या देखिएको उनी औँल्याउँछिन्।
"खाद्य स्वच्छताको सन्दर्भमा उत्पादकदेखि विक्रेता, सरकारी अधिकारी र उपभोक्तासम्म जिम्मेवार हुनुपर्छ। लेबल हेरेर पनि किन्दा धेरै हदसम्म समस्या समाधान हुन्छ।"
"उपभोक्ताहरू जागरुक हुनेबित्तिकै बदमासी गर्नेहरूलाई पनि गाह्रो हुन्छ। 'लेबल सही छैन. किन्दिनँ' भनेपछि लेबल लगाएर आउनुपर्यो। त्यो लगाउन जाँदा अनिवार्य रूपमा खाद्य प्रमाणपत्र लिनुपर्यो," लामाले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








