नेपाली खाद्य प्रयोगशालालाई थप वर्गमा अन्तर्राष्ट्रिय मान्यता, फाइदा के?

राष्ट्रिय खाद्य प्रयोगशालाले परीक्षणको क्षेत्र विस्तार गर्दै लगेको छ

तस्बिर स्रोत, DFTQC

नेपालको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला (एनएफएफआरएल) ले थप वर्गमा पाएको पछिल्लो अन्तर्राष्ट्रिय मान्यतालाई अधिकारीहरूले "महत्त्वपूर्ण कोसेढुङ्गा" को सङ्ज्ञा दिएका छन्।

अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय मान्यता प्राप्त भारतको न्याश्नल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेशन ल्याबोरटरिज (एनएबीएल) ले नेपाली प्रयोगशालालाई दुईवर्षे मान्यता दिएको हो।

"सन् २०२५ मा एनएफएफआरएलले ८१४ परीक्षण प्यारामिटरमा अन्तर्राष्ट्रिय मान्यता पाएको हो," खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महजर्नले बीबीसी न्यूज नेपालीसँग भने।

"सन् २०२५ को मार्च ३१ देखि सन् २०२७ को मार्च ३१ सम्म यो लागु रहन्छ," उनले अगाडि थपे।

योसँगै नेपालबाट हुँदै आएका धेरैजसो उत्पादनहरूको निर्यातमा थप सहजता हुने अधिकारीहरूको विश्वास छ।

राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत पर्छ।

विभागका अनुसार राष्ट्रिय खाद्य तथा तथा दाना रिफरेन्स प्रयोगशाला नेपालकै सबैभन्दा धेरै 'एक्रिडिटेशन प्राप्त' प्रयोगशाला हो।

यसका फाइदा के?

अधिकारीहरूका अनुसार नेपालले आफ्ना धेरै उत्पादन दक्षिणी छिमेकी देश भारतमा निर्यात गर्ने गरेको छ।

भारतकै दुई निकायबाट एक्रिडिटेशन प्राप्त हुनु महत्त्वपूर्ण भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरूको निष्कर्ष छ।

"खाद्यवस्तु तथा कृषिजन्य पदार्थबाहिर देशबाहिर निर्यात गर्नुपर्दा नेपालमा परीक्षण गरेपछि अन्तर्राष्ट्रिय मान्यता हुन्छ। त्यो भएर बाहिर पठाउनलाई सहजीकरण हुने भयो," प्रवक्ता महर्जनले भने।

"धेरै व्यापार भारतसँग हुने गरेको पृष्ठभूमिमा एनएबीएल र भारतकै भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण एफएसएसएआईबाट मान्यता पाएकोले झन् सहज हुने छ।"

महर्जनका अनुसार एफएसएसएआईबाट मात्रै ६८० वटा परीक्षण प्यारामिटरमा मान्यता पाइएको छ।

"धेरै परीक्षणका लागि नेपाल बाहिर पठाउनुपर्थ्यो। त्यसले गर्दा खर्च पनि र समय पनि धेरै लाग्थ्यो। अब निर्यातकर्ताहरूलाई कम समय पनि र कम खर्च पनि लाग्ने भयो," महर्जनले थपे।

मान्यताको नालीबेली

राष्ट्रिय खाद्य प्रयोगशालाले सन् २०१२ मा २७ वटा 'केमिकल प्यारामिटर' मा एक्रिडिटेशन पाएकोमा सन् २०१५ मा ३९ वटा र सन् २०१९ मा केमिकल तथा माइक्रोबायोलोजिकल गरी १०२ वटा परीक्षण प्यारामिटरका लागि एनएबीएलबाट एक्रिडिटेशन प्राप्त गरेको विवरण छ।

त्यसपछि एनएफएफआरएलले सन् २०२३ मा २४५ वटा केमिकल र ४१ वटा माइक्रोबायोलोजिकल गरी २८६ वटा परीक्षण प्यारामिटरका लागि एक्रिडिटेशन प्राप्त गर्‍यो।

सोही अवधिमा उसले ३५० वटा परीक्षण प्यारामिटरका लागि भारतको फूड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटी एफएसएसएआईबाट प्रमाणपत्र प्राप्त गर्‍यो।

एनएफएफआरएलबाट परीक्षण भई प्रदान गरिने परीक्षण प्रमाणपत्र र खाद्य स्वच्छता तथा गुणस्तर निर्यात प्रमाणपत्रलाई भारतमा आयात प्रयोजनका लागि मान्यता दिने एफएसएसएआईले भारतमा आदेश जारी गरेको छ।

सो क्रममा उसले पहिलो चरणमा विभिन्न आठ प्रकारका खाद्य पदार्थहरू जुस, जाम, जेली, अचार, क्यान्डी, तयारी चाउचाउ, अदुवा तथा ताजा तरकारी एवं फलफूलका लागि प्रदान गरिने परीक्षण प्रतिवेदनलाई मान्यता गरेको छ।

विभागले हालै ५३८ वटा केमिकल र १४२ वटा माइक्रोबायोलोजिकल गरी ६८० वटा प्यारामिटरका लागि एफएसएसएआई र एनएबीएलबाट एकीकृत प्रयोगशाला मूल्याङ्कन भई दुवै एकीकृत मान्यता प्रमाणपत्र प्राप्त गरेको छ।

पछिल्लो मान्यताले निर्यातमा सहजीकरण हुने अपेक्षा अधिकारीहरूको छ

बाइस खाद्य समूह

दूधबाट बनेका दही, पाउडर दूध, पनिर, घिउ, तेल, तरकारी र फलफूल अनि त्यसबाट बनेका विभिन्न खानेकुरा, मसला, बेकरी उत्पादन, चाउचाउ लगायतका लागि राष्ट्रिय खाद्य प्रयोगशालाले पछिल्लो एक्रिडिटेशन पाएको हो।

"नेपालले मान्यता पाएको विभिन्न २२ वटा खाद्य समूहभित्र यहाँ उत्पादन गर्ने अधिकांश पर्न आउँछन्," उनले भने।

प्रवक्ता महर्जनका अनुसार जति बढी प्यारामिटरका लागि मान्यता पाइन्छ उति धेरै खालका परीक्षण गर्न पाइन्छ।

"खाद्य वस्तुको जति धेरै पक्ष हेर्ने हो उति धेरै प्यारामिटर चाहिने भयो। अहिलेसम्मकै धेरै प्यारामिटरमा मान्यता पाएका हौँ।"

विभागले निर्यातकर्ताहरूलाई पूर्ण सुविधाको फाइदा लिन व्यापारीहरूलाई अनुरोधसमेत गरेको छ।

विभागका अनुसार कुन प्यारामिटर र कुन वस्तुको परीक्षण गर्ने भन्ने कुरामा नतिजा आउन निर्भर गर्छ।

"केमिकल परीक्षण भए एक-दुई दिनमा हुन्छ भने माइक्रोबायोलोजिकलको हकमा सामान्यतया एक हप्ता लाग्छ," महर्जनले थपे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।