वेस्ट ब्याङ्कका गाउँमा इजरेली बस्तीका मानिसहरूद्वारा आगजनी

वेस्ट ब्याङ्कमा भएको आक्रमण

तस्बिर स्रोत, Reuters

गाजामा इजरेलले बस्ती बसाएका ठाउँका दर्जनौँ मानिसहरूले इजरेली नियन्त्रणमा रहेको वेस्ट ब्याङ्कमा स्थानीयका घर र कारहरूमा आगजनी गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

घटनामा एक जना मारिएको प्यालेस्टाइनले बताएको छ। इजरेलले बस्ती बसाएका ठाउँका मानिसहरूले नब्लुस सहर नजिकैको जिट गाउँमा ढुङ्गा र पेट्रोल बम प्रहार गरेको इजरेली डिफेन्स फोर्सले जनाएको छ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले २० वर्ष आसपासका एक जना स्थानीयको मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको जनाएको छ।

इजरेली सेनाले क्षतिको विवरण अध्ययन भइरहेको बताएको छ।

इजरेली राजनीतिक नेतृत्वले घटनाको निन्दा गरेका छन् र दोषीमाथि कारबाही गर्ने वाचा गरेका छन्। इजरेली सेनाका अनुसार जिटबाट एक जना इजरेली नागरिक पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा उक्त क्षेत्रमा घर र सवारी साधनहरूमा आगजनी भएका भिडिओहरू देखा परेका छन्।

गाउँबाट धुवाँको मुस्लो उड्दै गरेको देखिएको थियो।

कारबाही गर्ने इजरेली बाचा

बिहीवार वेस्ट ब्याङ्कमा भएको इजरेली आक्रमण

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, बिहीवार वेस्ट ब्याङ्कमा भएको इजरेली हवाई आक्रमणमा पनि प्यालेस्टिनीहरूको ज्यान गएको थियो

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले “आपराधिक घटनामा संलग्न जो सुकैलाई पक्राउ गरिने र कारबाही गरिने” बताएका छन्।

इजरेलका राष्ट्रपतिले पनि कठिन परिस्थितिमा इजरेलको बदनाम गरिएको भन्दै प्रशासनलाई तत्काल कदम चाल्न भनेका छन्।

इजरेली सेना आईडीएफले एक विज्ञप्ति जारी गर्दै हिंसा सुरु भएको केही मिनेटभित्रै आफ्नो फौज उक्त गाउँमा परिचालन भएको दाबी गरेको छ। आफ्नो हवाई फायरपछि जिटबाट भीड तितरबितर भएको इजरेली सेनाको दाबी छ।

आईडीएफसहित इजरेलको सुरक्षा निकाय शिन बेत र इजरेली प्रहरीले उक्त “गम्भीर घटना”बारे अनुसन्धान सुरु गरिएको जनाएका छन्।

इजरेली बस्तीमा रहेर हिंसा गर्दै आएको समूहलाई प्यालेस्टिनी गाउँहरूमा आक्रमणका लागि इजरेली सेनाले छुट दिने गरेको आरोप प्यालेस्टिनीहरूको छ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकाय ओचाका अनुसार गत अक्टोबरयता प्यालेस्टिनीहरूमाथि १०००भन्दा बढी आक्रमणका घटना भएका छन्। जसमा ६६० जना बालबालिका सहित १३९० जना विस्थापित भएको राष्ट्रसङ्घीय निकायले जनाएको छ।

यस्ता आक्रमणहरूमा बारम्बार घातक हिंसाका घटनाहरू पनि हुने गरेका छन्। ओचाले १०७ वटा यस्ता आक्रमणमा प्यालेस्टिनीहरू घाइते भएको र ८५९ घटनामा प्यालेस्टिनी सम्पत्तिमा क्षति पुगेको जनाएको छ।

अन्तर्राष्ट्रिय ध्यान इजरेल गाजामा केन्द्रित रहँदा अमेरिका, युरोपेली सङ्घ र यूकेले इजरेली बस्तीका केही नेतामाथि प्रतिबन्ध लगाएका छन्।

इजरेल-गाजा वार्ता

बन्धक फिर्ता ल्याउन माग

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हमासद्वारा बन्धक बनाइएका इजरेली परिवारहरूले प्रदर्शन गर्दै आएका छन्

एक जना अमेरिकी अधिकारीले गाजामा युद्धविरामका लागि कतारमा भइरहेको पहिलो चरणको वार्ता रचनात्मक भएको बताएका छन्।

छलफल शुक्रवार पनि जारी रहने ठानिएको छ।

वार्तामा इजरेली पक्षले सहभागिता जनाए पनि हमासका नेताहरू सहभागी छैनन्। हमासले इजरेलले अघिल्लो चरणको वार्ताभन्दा इजरेलले सर्त परिवर्तन गरेको आरोप लगाएको छ।

हमासका एक जना नेताले इजरेलको जारी सैन्य कारबाही वार्ता अघि बढाउन अवरोधक भएको आरोप लगाएका छन्। हमासका नेताले पूर्ण युद्धविराम र गाजाबाट इजरेली सेना फिर्ता भएमात्रै इजरेलसँग सम्झौता हुन सक्ने जनाएका छन्।

यसअघि हमासको स्वास्थ्य मन्त्रालयले गाजामा मारिने प्यालेस्टिनीहरूको सङ्ख्या ४० हजारभन्दा धेरै पुगेको जनाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।