तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रुस भन्दा युक्रेनसँग काम गर्न 'धेरै कठिन' : ट्रम्प
- Author, इयान एकमन र टम बेटमन
- Role, बीबीसी न्यूज, लण्डन र वासिङ्टन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किएभ-मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्ने प्रयासमा युक्रेनसँग काम गर्न रुसभन्दा "बढी कठिनाइ" महसुस गरिरहेको बताएका छन्।
शुक्रवार ह्वाइटहाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाको "रुससँग राम्रो भइरहेको" र किएभसँग भन्दा मस्कोसँग काम गर्न "सहज हुनसक्ने" बताए।
त्यसको केही घण्टाअघि ट्रम्पले युक्रेनसँग युद्ध विराम नहुँदासम्म रुसलाई ठूलो स्तरको प्रतिबन्ध र आयातमा शुल्क लगाउनेबारे आफूले "जोडदार रूपले विचार गरिरहेको" बताएका थिए।
यसैबीच गतरात डोनेत्स्क क्षेत्रको एक सहरमा भएका रुसी हमलामा कम्तीमा १४ जना मारिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
त्यसैगरी अमेरिकाले भूउपग्रहबाट प्राप्त हुने केही तस्बिरहरूको पहुँचमा युक्रेनमाथि अस्थायी प्रतिबन्ध लगाएको छ।
युक्रेनविरुद्ध सैन्य सहायता रोकेपछि ट्रम्पले त्यसो गरेको भूउपग्रह प्रविधिसम्बन्धी कम्पनी म्याक्सरले बीबीसी भेरिफाईलाई बताएको छ।
चर्काचर्कीपछिको विकासक्रम
दुई देशका राष्ट्रपतिहरूबीच ह्वाइटहाउसमा अभूतपूर्व रूपमा चर्काचर्की परेको ठिक एक सातापछि यस्तो विकास क्रम देखा परेको हो।
उक्त संवादका बेला ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाप्रति "कृतघ्न" भएको आरोप लगाएका थिए।
सार्वजनिक रूपमा भएको उक्त नोकझोकपछि यस साता ट्रम्पले किएभलाई सबै खाले अमेरिकी सैन्य र गुप्तचर सहायता रोकिदिएका थिए।
जसपछि बिहीवार राती रुसले युक्रेनी ऊर्जा पूर्वाधारमा ठूला आकारका क्षेप्यास्त्र र ड्रोन हमला गरेको छ।
पहिल्यै भारी प्रतिबन्ध सामना गरिरहेको रुसका लागि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी तिनै हमलाको जबाफमा आएको देखिन्छ।
ट्रम्पले यतिखेर रुसले युक्रेनी युद्ध भूमिमा पूर्ण रूपले हमला गरिरहेको भन्दै आफूले नयाँ आयात शुल्क लगाउनेबारे विचार गरिरहेको बताए।
तर केही घण्टामै ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ठाउँमा अरू जोसुकै भए पनि त्यही नै गर्ने बताए।
"मलाई लाग्छ उनले उनीहरूलाई [युक्रेन] पहिलेभन्दा जोडसँग हमला गरिरहेका छन्," ट्रम्पले भने।
"र मलाई लाग्छ त्यस ओहदामा हुने जोकोहीले सम्भवतः त्यही नै गर्थ्यो।"
ट्रम्पको शङ्का
डोनल्ड ट्रम्पले आफ्नो विश्वासमा पुटिनले युद्ध अन्त्य गर्न चाहेको तर युक्रेनका हकमा आफूले त्यसो भन्न नसक्ने बताए।
किएभलाई किन सहायता रोकियो भन्नेबारे सोधिएको प्रश्नमा ट्रम्पको जबाफ थियो: "उनीहरू [युक्रेन] सबै कुरा मिलाउन चाहुन् भन्ने म चाहन्छु र तर उनीहरू मिलाउन चाहन्छन् भन्ने मलाई थाहा छैन।"
ट्रम्पको पुटिनसँगको सिधा कूटनीतिले नेटो साझेदारहरूलाई आश्चर्यचकित पारेको छ। सन् २०२२ मा रुसले सुरु गरेको पूर्ण स्तरको अतिक्रमणपछि पश्चिमा विश्वले मस्कोसँग सम्पर्क टुटाएको थियो।
जेलेन्स्की-ट्रम्प विवाद चुलिइरहँदा पछिल्ला दुई दिनमा उनको विदेश नीति तय गर्ने टोली भने युक्रेनप्रति बढी मेलमिलापपूर्ण सुनिएको छ।
अमेरिकीहरू आफूहरूलाई मुख्य हिस्सा हुने गरी जेलेन्स्की खनिज सम्झौता गरून् भन्ने चाहन्छन् र उनी छिट्टै मस्कोसँग युद्ध विराम सम्झौता गर्न सहमत होउन् भन्ने चाहन्छन्।
जेलेन्स्कीको जोडबल उक्त सम्झौताको हिस्साकै रूपमा किएभका लागि बलियो सुरक्षा सुनिश्चिततामा रहेको छ।
ट्रम्पले त्यस्तो सुरक्षा सुनिश्चितता पछि छलफल गर्न सकिने र त्यो "सजिलो काम" हुने बताउँछन्।
युक्रेनी आशा
यसैबीच अन्तरिक्ष प्रविधि कम्पनी म्याक्सरले शुक्रवार बीबीसी भेरिफाइलाई बताए अनुसार वासिङ्टनले अमेरिकी भूउपग्रहका केही उच्च गुणस्तरीय तस्बिरहरूमा प्रतिबन्ध लगाएको छ।
विपक्षीका सूचना सङ्कलन गर्न सघाउने भएकाले त्यस्ता तस्बिरहरू युद्धका बेला महत्त्वपूर्ण अस्त्र मानिने गर्छन्।
अमेरिकी कम्पनी म्याक्सारले सरकार र कम्पनीहरूलाई भूउपग्रहका तस्बिर उपलब्ध गराउनका लागि सम्झौता गरेको हुन्छ।
अर्को साता ट्रम्पका वरिष्ठ अधिकारीहरू साउदी अरब पुगेर जेलेन्स्कीको टोलीसँग भेट्दैछ जहाँ युक्रेनी राष्ट्रपतिमाथि ट्रम्पको मागमा सहमत हुन दबाब बढ्दो छ।
युक्रेनी राष्ट्रपतिले वार्ता "अर्थपूर्ण" हुने आशा व्यक्त गरेका छन्।
शुक्रवार उनले आफ्नो देश "सक्दो चाँडो शान्तिको लागि तयार" रहेको र यसलाई प्राप्त गर्न "ठोस कदम" प्रस्ताव गरेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।