अमेरिकासँग अर्को साता हुने वार्ता 'अर्थपूर्ण' हुने आशामा जेलेन्स्की, रुस के भन्छ

    • Author, यारोस्लाभ लुकिभ
    • Role, बीबीसी न्यूज

अर्को साता साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुन लागेको र त्यो वार्ता 'अर्थपूर्ण' हुने आफूले आशा गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

उक्त समयमा जेलेन्स्की पनि साउदी अरबमा हुने छन्। तर उनी वार्तामा सहभागी हुने छैनन्। आफूहरू "चाँडो र दीर्घकालीन शान्ति" हासिल गर्न कार्यरत रहेको किएभले बताएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफले अमेरिकी प्रतिनिधिमण्डलले रुस-युक्रेन युद्ध अन्त्य गर्न आवश्यक "शान्तिका निम्ति प्रारूप" पहिल्याउने कोसिस गर्ने बताए।

चर्काचर्की र 'क्षमायाचना'

गत शुक्रवार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच सार्वजनिक चर्काचर्की भएको थियो – त्यतिखेर ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएको बताएका थिए। लगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएका सैन्य सहयोग स्थगन अनि खुफिया जानकारी दिने काममा रोक लगाइदियो।

युक्रेनी राष्ट्रपतिले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै अमेरिकासँगको सम्बन्ध सुधार्न खोजे। युक्रेनका लागि अमेरिका सबैभन्दा ठूलो सैन्य सहयोगदाता थियो।

बिहीवार ट्रम्पले जेलेन्स्कीले लेखेको पत्र प्राप्त गरेको विट्कफले बताए। उक्त पत्रमा "क्षमायाचना" तथा "कृतज्ञता" झल्किएको पनि उनले बताए।

"आशा गरौँ अब युक्रेनीहरूसँगका मामिला सही मार्गमा आउने छन् र पुरानो अवस्थामा फर्किने छन्," विट्कफले भने।

शान्ति वार्ताका अगाडि आफ्ना तर्फबाट "छुट'हरू दिन युक्रेनमाथि अमेरिकाको चर्को दबाव परेको छ भने युक्रेनी राष्ट्रपतिले चाहिँ किएभका लागि दृढ सुरक्षा सुनिश्चितता खोजेका छन्।

शान्तिको प्रस्ताव

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनको अतिक्रमण गरेको थियो। उसले हाल युक्रेनको २०% भूभागमा नियन्त्रण जमाएको छ।

बिहीवार ब्रसल्समा आयोजित युरोपेली युनियनको आपत्कालीन बैठकमा भाग लिएलगत्तै जेलेन्स्कीले सामाजिक सञ्जालमा शृङ्खलाबद्ध पोस्ट गर्दै साउदी अरबमा अमेरिका-युक्रेन वार्ता हुन लागेको घोषणा गरे।

ब्रसल्स बैठकमा युरोपेली नेताहरूले रक्षा खर्च वृद्धिका योजना अनुमोदन गरेका छन्।

"युक्रेनी र अमेरिकी टोलीहरूले काम फेरि थालेका छन्। अर्को साता अर्थपूर्ण बैठक हुने छ भनेर हामी आशा गर्छौँ," जेलेन्स्कीले एक्समा लेखेका छन्।

"युद्धको प्रारम्भिक समयदेखि नै युक्रेनले शान्ति चाहिरहेको छ। रुसका कारण युद्ध चलिरहेको हामीले सधैँ भन्दै आएका छौँ।"

युद्ध अन्त्यको आवश्यकता स्वीकार गर्ने गरि मस्कोमाथि थप दबाव दिन उनले विश्वसमुदायलाई आह्वान गरेका छन्।

यो साता फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रस्ताव गरेको युद्धविरामको योजनालाई पनि जेलेन्स्कीले इङ्गित गरेका छन्। उक्त प्रस्तावित योजनामा हवाई तथा सामुद्रिक क्षेत्रमा युद्धविराम गर्नुका साथै ऊर्जा एवं गैरसैनिक संरचनामा हमला गर्न बन्द गरिनुपर्ने उल्लेख छ।

रुस के भन्छ

रुसले फ्रान्सको प्रस्तावबारे सार्वजनिक टिप्पणी गरेको छैन।

बिहीवार पुटिनले मस्कोले यस्तो शान्ति चाहिरहेको "जसले हाम्रो देशमा दीर्घकालसम्म शान्तिको निश्चितता गरोस्" भनेका छन्।

"हामीलाई अरूको केही चाहिएको छैन। तर हाम्रो केही पनि छाड्ने छैनौँ," उनले भने।

रुसले सन् २०१४ मा युक्रेनको दक्षिण भागमा रहेको क्राइमिया प्रायःद्वीप आफूमा गाभेको थियो भने युक्रेनको दक्षिणपूर्वमा रहेका थप चार क्षेत्र उसैको भएको दाबी गर्दै आएको छ। तर ती क्षेत्रमा मस्कोको पूर्ण नियन्त्रण छैन।

पछिल्ला साताहरूमा डोनल्ड ट्रम्पले रुससँग सम्पर्क राखेकामा युक्रेन र उसका युरोपेली साझेदारहरूले चिन्ता प्रकट गरेका छन्।

ट्रम्पले निर्वाचनकै बेला युद्ध चाँडै टुङ्ग्याइदिने वाचा गरेका थिए। गत महिना अमेरिका-रुसबीच कुनै युरोपेली वा युक्रेनी प्रतिनिधिबिना नै साउदी अरबमा प्रारम्भिक वार्ता भएको थियो।

हालै अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग स्थगन गर्नुलाई ट्रम्प प्रशासनका अधिकारीहरूले किएभलाई अमेरिकी अगुवाइमा हुन लागेका शान्ति वार्तामा सहयोगी बनाउन चालिएको कदम भनेका छन्।

तर मस्कोमाथि त्यस्तै सहयोगका लागि कुनै अमेरिकी दबाव दिइएको सार्वजनिक भएको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।