यूकेमा जेलेन्स्कीलाई स्वागत, युक्रेनलाई 'पूर्ण साथ दिने' ब्रिटिश प्रधानमन्त्रीको बाचा

    • Author, टम मेकार्थर
    • Role, बीबीसी न्यूज

ब्रिटिश प्रधानमन्त्री सर किअर स्टार्मरले भोलोदिमिर जेलेन्स्कीलाई डाउनिङ स्ट्रीटमा भेट्दै उनीप्रति "संयुक्त अधिराज्यभर पूरा साथ" रहेको बताएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री स्टार्मरलाई आफ्नो देशका "त्यस्ता मित्रहरू" हुनुले खुसी बनाएको बताए।

ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको भेटमा चर्काचर्की भएको पृष्ठभूमिमा जेलेन्स्की लण्डन आइपुगेका हुन्।

जेलेन्स्की र स्टार्मरबीच युक्रेनी सैन्य सामग्रीका लागि २.२६ अर्ब पाउन्ड स्टर्लिङको ऋण सहमतिमा हस्ताक्षर समेत भएको छ। उक्त रकमको भुक्तानी रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट गरिनेछ।

शनिवार भएको उक्त बैठकपछि प्रधानमन्त्री स्टार्मरले ट्रम्प र फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँसँग कुराकानी गरेका छन्।

माक्रोँले युक्रेनबाट पछि हट्नु आफ्नो स्वार्थ अनुकूल नहुने कुरा अमेरिकाले बुझ्नुपर्ने बताएका छन्।

युरोपेली नेताहरू लण्डनमा जुट्दै

आइतवार लण्डनमा युरोपेली नेताहरू रुस-युक्रेन युद्ध अन्त्य गर्ने र साझा युरोपेली प्रतिरक्षाको प्रयासमा आयोजित एक शिखर सम्मेलनका लागि जुट्दैछन्।

जेलेन्स्कीले राजा चार्ल्स तृतीयलाई समेत भेट्दैछन्।

ती बैठकहरू वासिङ्टनमा विकसित घटनाक्रम र अमेरिकासँगको सम्बन्धलाई लिएर उत्पन्न चिन्ताका छायामा परेका छन्।

पछिल्ला सातामा प्रधानमन्त्री स्टार्मर अमेरिका र युरोपबीचको सेतुको रूपमा उभिन खोजेका देखिन्छन्।

ट्रम्प प्रशासन युरोपेली प्रतिरक्षामा कम संलग्न हुन खोजिरहेका समयमा ब्रिटिश प्रधानमन्त्री स्टार्मरले जेलेन्स्कीभन्दा एक दिनअघि ट्रम्पसँग सौहार्दपूर्ण वार्ता गरेका थिए।

उक्त भेटका बेला स्टार्मरले ट्रम्पलाई प्रत्यक्ष रूपमा राजा चार्ल्स तृतीयले पठाएको राजकीय भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए।

ओभल अफिसमा जेलेन्स्कीसँग परेको चर्काचर्कीपछि उक्त निमन्त्रणा फिर्ता लिन स्कर्टिस न्याश्नल पार्टी (एसएनपी)का सांसदहरूले स्टार्मरलाई आह्वान गरेका छन्।

युक्रेन पक्षको पैरवी गर्ने प्रयासमा स्टार्मरले जुनसुकै शान्ति सम्झौताका लागि किएभले सुरक्षा सुनिश्चितता खोज्ने बताएका छन्। उनले दुई देशका राष्ट्रपतिबीच चर्काचर्कीपूर्ण संवाद भएपछिको शुक्रवार साँझ उनले ट्रम्प र जेलेन्स्की दुवैसँग टेलिफोन संवाद गरेका थिए।

ब्रिटिश साथ

जेलेन्स्कीको ट्रम्पसँग सार्वजनिक रूपमा चर्काचर्की भएको पृष्ठभूमिमा शनिवारको भेट प्रधानमन्त्री स्टार्मरका लागि जेलेन्स्कीप्रति आफ्नो निरन्तरको साथ दर्साउने अवसर बन्यो।

प्रधानमन्त्री कार्यालयबाहिर व्यक्त नाराबाजीलाई सङ्केत गर्दै स्टार्मरले युक्रेनी नेतालाई भने: "यी तपाईँप्रतिको साथ कति छ, युक्रेनप्रतिको साथ कति छ भनेर दर्साउन बाहिर निस्किएका संयुक्त अधिराज्यका मानिस हुन्।"

उनले थपे: "जति समय लागे पनि हामी तपाईँ र युक्रेनका साथ छौँ।"

जेलेन्स्कीको जबाफ थियो: "मैले धेरै मानिसहरू देखेँ। तपाईँलाई र संयुक्त अधिराज्यका मानिसहरूलाई यस युद्धको निकै सुरुदेखिको यस्तो ठूलो साथका लागि धन्यवाद दिन चाहन्छु।"

उनले आइतवार राजासँग हुने भेटका लागि आफू हर्षित रहेको भन्दै युरोपेली शिखर सम्मेलनका लागि समेत धन्यवाद दिए।

बुझिए अनुसार राजाबीचको बैठकका लागि युक्रेनी राष्ट्रपतिले आग्रह गरेका थिए जसलाई यूके सरकारले सहमति जनाएको थियो।

यूकेले दिने सहमति जनाएको ऋणको लागि धन्यवाद दिँदै जेलेन्स्कीले त्यो युक्रेनमा अस्त्र उत्पादनमा प्रयोग हुने बताए।

"यो वास्तविक न्याय हो - जसले युद्ध सुरु गर्‍यो उसैले त्यो बेहोर्नुपर्छ," जेलेन्स्कीले भने।

उक्त ऋण सबैभन्दा पहिले अक्टोबरमा घोषणा गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।