तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लेबर पार्टीले अमेरिकी चुनावमा 'हस्तक्षेप गरेको' ट्रम्पको आरोप, ब्रिटिश प्रधानमन्त्रीले के भने
- Author, ब्यार्न्ड डेबुस्मन जूनिअर
- Role, बीबीसी न्यूज
डोनल्ड ट्रम्पको चुनावी अभियानले ब्रिटेनको सत्तारूढ लेबर पार्टीमाथि अमेरिकी निर्वाचनमा ‘विदेशी हस्तक्षेप’ गरेको आरोप लगाउँदै उजुरी दायर गरेको छ।
रिपब्लिकन अभियानको विज्ञप्तिमा ब्रिटेनको ‘द टेलिग्राफ’ पत्रिकामा प्रकाशित एउटा समाचारलाई उद्धृत गरिएको छ। उक्त समाचारले मध्यवामपन्थी लेबर पार्टीसँग आबद्ध व्यक्तिहरू डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसको पक्षमा अभियान चलाउन अमेरिका गएको दाबी गरेको थियो।
ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्पको निर्वाचन अभियानले लगाएको आरोपको विषयमा प्रतिक्रिया व्यक्त गरेका छन्। "लेबर पार्टीका स्वयंसेवकहरू छन्, उनीहरू प्रत्येक निर्वाचनमा गएका छन्," उनले भने।
यसअघि लेबर अधिकारीहरूले अमेरिका गएका व्यक्तिहरू व्यक्तिगत हैसियतमा भएको र उनीहरूलाई दलको कोषबाट कुनै आर्थिक सहयोग नगरिएको दाबी गरेका थिए। पार्टीले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको थिएन।
उक्त उजुरीमा लेबर पार्टीका एक अधिकारीको सामाजिक सञ्जालमा गरेको एउटा पोस्ट पनि प्रमाणका रूपमा समावेश गरिएको छ। यद्यपि उक्त पोस्ट पछि मेटिएको थियो।
त्यसमा लेबर पार्टीका सयौँ कार्यकर्ताहरूले ‘स्विङ स्टेट’ भनिने राज्यहरूमा डेमोक्र्याटिक पार्टीको पक्षमा प्रचार गर्ने योजना बनाइएको उल्लिखित थियो।
किअर स्टार्मरले अरू के भने?
स्टार्मर लेबर पार्टीका नेता हुन्।
"उनीहरू आफ्नो खाली समयमा त्यसो गर्दै छन्। उनीहरू स्वयंसेवक बनेर त्यसो गर्दै छन्। उनीहरू अरू स्वयंसेवकहरूसँग मिलेर बसेका छन् भन्ने मलाई लाग्छ," आफ्ना पार्टी कार्यकर्ता अमेरिका गएको विषयमा उनले भने।
कमनवेल्थ राष्ट्रका सरकार प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुन समोआ जाँदै गर्दा स्टार्मरले विमानमा संवाददाताहरूसँग कुरा गरेका हुन्।
उजुरीमा के छ?
डोनल्ड ट्रम्पको अभियानले सङ्घीय निर्वाचन आयोगमा हालेको उजुरीमा यूकेको लेबर पार्टीले ह्यारिस-वाल्ज अभियानलाई सहयोग पुर्याउने गरी "चर्को वैदेशिक हस्तक्षेप गरेको" आरोप लगाइएको छ।
उक्त उजुरीमा लेबर पार्टी र ह्यारिसको अभियानबीच सम्पर्क भएको विषयमा सञ्चारमाध्यममा प्रकाशित विवरण र स्वयंसेवाका प्रयासहरूको चर्चा गर्दै त्यस्तो "सहयोग" गैरकानुनी हुने तर्क गरिएको छ।
बीबीसीले अमेरिकी राष्ट्रपतीय चुनावमा अभियान चलाइरहेका लेबरका अभियानकर्ताहरूले व्यक्तिगत हैसियतमा त्यसो गरिरहेको जानकारी पाएको छ।
उक्त उजुरीमा लेबरसँग आबद्ध व्यक्तिहरूले ह्यारिसको पक्षमा अभियान चलाउन अमेरिकाको यात्रा गरेको समाचार विवरणलाई उल्लेख गरेको छ।
उक्त समाचारले "लेबर पार्टीले गरेको पर्याप्त हस्तक्षेप गरेको र ह्यारिस अभियानले त्यसलाई स्वीकारेको " सङ्केत गरेको तर्क गर्दै लेबर पार्टीले त्यसलाई "विदेशी नागरिकबाट भएको गैरकानुनी सहयोग" भनेको छ।
ट्रम्प अभियानको उजुरीमा 'वाशिङ्टन पोस्ट'को रिपोर्टलाई पनि उद्धृत गरिएको छ जसमा दुई दलबीच पत्रहरूको आदानप्रदान भएको र वरिष्ठ अधिकारीहरूले गोप्य भेटघाट गरेको जनाइएको छ।
बीबीसीले ह्यारिस-वाल्ज अभियानलाई पनि सो उजुरी र त्यसमा उल्लेख गरिएका विभिन्न समाचार विवरणहरूबारे प्रतिक्रिया लिन सम्पर्क गरेको थियो।
यद्यपि ह्यारिस-वाल्ज निर्वाचन अभियान लेबर पार्टी वा त्यसका कार्यकर्ताहरूले गर्न खोजेको सहयोगबारे जानकार रहेको सङ्केत अहिलेको क्षणसम्म पाइएको छैन।
के यस्तो अभ्यास विगतमा भएको थियो?
त्यसबाहेक उजुरीमा 'लिङ्क्डिन'मा प्रकाशित एउटा पोस्टमा लेबर दलकी एक सदस्यले पार्टीका "झन्डै १०० जना" वर्तमान र पूर्वसदस्यहरू अमेरिकाका चर्को प्रतिस्पर्धा हुने राज्यहरूमा जान लागेको लेखेको सन्दर्भ पनि उल्लेख गरिएको छ।
लेबर पार्टीकी 'हेड अफ अपरेशन्स' सोफिया पटेलको उक्त पोस्टमा "१० वटा स्थान" अझै उपलब्ध रहेको र "हामी तपाईँहरूको आवासको व्यवस्था मिलाउँछौँ" लेखिएको थियो। तर त्यो पोस्ट मेटिए जस्तो देखिन्छ।
सो उजुरीमा सन् २०१६ मा अस्ट्रेलियाको लेबर पार्टीले बर्नी स्यान्डर्सको अभियानलाई सघाउन प्रतिनिधिहरू पठाएको कुराको पनि अहिलेको प्रकरणसँग तुलना गरेको छ।
त्यस बेला अस्ट्रेलियाको लेबर पार्टीले हवाईयात्राको खर्च र दैनिक भत्ता उपलब्ध गराएको थियो। सो दल र अभियान दुवैलाई झन्डै १४,५०० डलर जरिबाना गराइएको थियो।
पार्टीले आफ्ना कार्यकर्ताहरूलाई नपठाएको र खर्च पनि नबेहोरेको जानकारी लेबर अधिकारीहरूबाट बीबीसीले पाएको छ।
अमेरिकाको सङ्घीय निर्वाचन आयोगको नियमानुसार विदेशी नागरिकहरू चुनावी अभियानमा स्वयंसेवक बन्न पाउँछन्। तर उनीहरूले पारितोषिक वा अरू लाभ लिन पाउँदैनन्।
ब्रिटिश पार्टीका पदाधिकारीहरू र अमेरिकी दलका सहकर्मीहरूबीच सम्पर्क हुनु असामान्य हैन।
विगतमा यूकेको कन्जर्भेटिभ पार्टी र अमेरिकी रिपब्लिकन दलबीच पनि त्यस्तो अभ्यास रहँदै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।