तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकासँग 'कुरा मिलाउने' जेलेन्स्कीको सन्देश, ट्रम्पद्वारा स्वागत
- Author, ज्याकलिन हावर्ड
- Role, बीबीसी न्यूज
ह्वाइट हाउसस्थित ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको "बलियो नेतृत्वसँग" मिलेर युक्रेनमा दीर्घकालीन शान्तिका काम गर्न आफू तयार रहेको बताएका छन्।
अमेरिकाले युक्रेनमा सैन्य सहायता स्थगित गर्ने घोषणा गरेलगत्तै युक्रेनी राष्ट्रपतिले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै ह्वाइट हाउसमा भएको वादविवादलाई "पश्चात्तापयोग्य" भनेका छन्। ट्रम्पले वार्ताका लागि तयार नभएको आरोप लगाएपछि जेलेन्स्कीले अब सबै "कुरा मिलाउने समय आएको" टिप्पणी गरे।
यसैबीच अमेरिकाको संसद्मा सम्बोधन गर्दै ट्रम्पले युक्रेन "यथासम्भव चाँडै" शान्ति वार्ता थाल्न तयार भएको बताएका छन्। उनले रुस पनि सहमतिमा आउन तयार भएको सङ्केत आएको जनाए।
युक्रेनका राष्ट्रपतिले पठाएको भन्दै ट्रम्पले कङ्ग्रेसमा एउटा पत्र पढेर सुनाए। उक्त पत्रको विवरण जेलेन्स्कीले सामाजिक सञ्जाल 'एक्स'मा पोस्ट गरेको व्यहोरासँग मिल्दोजुल्दो छ।
"उनले यो पत्र पठाएकोमा म प्रशंसा गर्छु," ट्रम्पले भने।
बीबीसीको उत्तर अमेरिका संवाददाताका एन्थोनी जर्करका अनुसार ट्रम्पको भाकाले दुई नेताबीच उत्पन्न कटुता मत्थर सुने सङ्केत दिएको छ।
जेलेन्स्कीको योजना
युक्रेनी राष्ट्रपतिले युद्ध अन्त्य गर्ने पहिलो चरणको प्रारूप समेत तयार पारेका छन्।
"हामी युद्ध अन्त्यका लागि छिटो काम गर्न तयार छौँ। त्यसको पहिलो चरण बन्दीहरूको रिहाइ र हवाई युद्धविराम, क्षेप्यास्त्रहरूमा प्रतिबन्ध, लामो दूरीको क्षमताका ड्रोनमा रोक तथा ऊर्जा र अन्य गैरसैनिक पूर्वाधारहरूमा बम रोक्ने हुन सक्छ। रुसले पनि त्यसको पालना गरे त्यसलगत्तै समुद्रमा पनि युद्धविराम गर्न सकिन्छ," उनले लेखेका छन्।
"हामी त्यसपछिका चरणहरूमा पनि तीव्र गतिमा अघि बढ्न चाहन्छौँ र अन्तिम सुदृढ सम्झौताका लागि अमेरिकासँग सहकार्य गर्न चाहन्छौँ।"
सामाजिक सञ्जालमा गरेको पोस्टमा जेलेन्स्कीले शुक्रवारको बैठक "सोचे जस्तो नभएको" जनाए। "यो यसरी भएकोमा पश्चात्ताप छ," उनले लेखे।
उनले भविष्यमा दुई देशबीच हुने सहकार्य र सञ्चार रचनात्मक हुने विश्वास समेत व्यक्त गरेका छन्।
अमेरिकाप्रति कृतज्ञता
अमेरिका भ्रमणका क्रममा हुन नसकेको खनिज सम्झौता गर्न युक्रेनले तयार रहेको उनले फेरि दोहोर्याए।मङ्गलवार युक्रेनमा उज्यालो हुँदा अमेरिकाले आफ्नो देशलाई दिइरहेको सैन्य सहयोग "स्थगित र समीक्षा गरिरहेको" समाचार आएको थियो।
आफ्नो पोस्टमा जेलेन्स्कीले अमेरिकाले आफ्नो देशलाई दिएको सहयोगबारे स्पष्ट शब्दमा कृतज्ञता पनि व्यक्त गरे। "युक्रेनलाई आफ्नो सार्वभौमिकता र स्वतन्त्रता जोगाउन अमेरिकाले जति गरेको छ, त्यसलाई हामीले अत्यन्तै मूल्यवान् ठानेका छौँ," जेलेन्स्कीले लेखेका छन्।
"राष्ट्रपति ट्रम्पले युक्रेनलाई ज्याभेलिन [क्षेप्यास्त्र] उपलब्ध गराएपछि आएको परिवर्तनको क्षण पनि हामी स्मरण गर्न चाहन्छौँ। हामी यसका लागि आभारी छौँ," उनले लेखे। उनले ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले युक्रेनलाई बिक्री गरेका ट्याङ्क प्रतिरोधी क्षेप्यास्त्रतर्फ सङ्केत गरेका हुन्।
यूके र फ्रान्सको प्रतिक्रिया
गत शुक्रवारको बैठकमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति कृतज्ञ नभएको आरोप जेलेन्स्कीलाई लगाएका थिए।
"तपाईँले यो पूरा बैठकमा 'धन्यवाद' को कुनै शब्द उच्चारण गर्नुभयो?" भान्सले भनेका थिए। त्यसपछि ट्रम्पले पनि जेलेन्स्की "कृतज्ञ" नभएको बताएका थिए।
उक्त बैठकमा आफ्नो प्रतिरक्षा गरेका जेलेन्स्कीले त्यसको केही घण्टामै फक्स न्यूजलाई अन्तर्वार्ता दिँदै भनेका थिए : "तपाईँहरूको सहयोगका लागि म अमेरिकीहरूप्रति कृतज्ञ छु।"
गत साता ओभल अफिसमा जेलेन्स्की र अमेरिकी अधिकारीबीच भएको बैठकमा दुई पक्षबीच 'रेअर अर्थ' सहितका युक्रेनी खनिजमा अमेरिकालाई पहुँच दिने सम्झौता हुने अपेक्षा गरिएको थियो।
तर विवादमा टुङ्गिएको बैठकमा ट्रम्पले जेलेन्स्कीलाई "तेस्रो विश्वयुद्ध निम्त्याउन चाहेको" आरोप लगाएका थिए। हस्ताक्षर नगरी फर्किएको युक्रेनी प्रतिनिधिमण्डललाई ट्रम्पले "शान्तिको लागि तयार भएपछि फर्किएर आउन" भनेका थिए।
युक्रेनका केही सहयोगी देशहरूले राष्ट्रपति जेलेन्स्कीको पछिल्लो पोस्टबारे प्रतिक्रिया जनाएका छन्। यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले "शान्ति स्थापित गर्ने दृढ प्रतिबद्धता"को प्रशंसा गरेका छन्।
यूकेको प्रधानमन्त्री कार्यालयले युक्रेनमा यथाशक्य छिटो दीर्घकालीन शान्ति कायम गर्न सबै पक्षले काम गर्नु जरुरी रहेको उल्लेख गरेको छ।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनि ट्रम्पसँग पुनः वार्तामा बस्ने जेलेन्स्कीको चाहनाको प्रशंसा गरेका छन्।
जेलेन्स्कीलाई भेट्नुभन्दा केही दिनअघि अमेरिकी राष्ट्रपतिले माक्रोँसँग भेट गरेका थिए। माक्रोँले "पुटिनका नजरमा कमजोर नहुन" ट्रम्पलाई चेतावनी दिएका थिए।
नेटो महासचिवको आग्रह
ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि युरोपेली नेताहरू युक्रेनको पक्षमा उभिएका थिए। तर नेटोका महासचिवले ट्रम्पसँगको सम्बन्ध पुनः स्थापित गर्न जेलेन्स्कीलाई सुझाव दिएका थिए।
बीबीसीसँग कुरा गर्दै नेटो महासचिव मार्क रुटले ट्रम्पले हालसम्म युक्रेनलाई गरेका कामको, "कदर" हुनुपर्ने बताएका थिए।
जेलेन्स्कीको वक्तव्यमा ट्रम्पसँग क्षमायाचना भने गरिएको छैन। अमेरिकी राष्ट्रपतिका निकट व्यक्तिहरूले जेलेन्स्कीले माफी माग्नुपर्ने बताउँदै आएका छन्।
अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहायता रोक्ने निर्णयलाई भ्लादिमिर पुटिनको टोलीले स्वागत गर्दै त्यो शान्तिका लागि "उत्कृष्ट" उपहार भएको बताएको थियो।
"अमेरिकाले आपूर्ति रोक्छ वा बन्द गर्छ भने शान्तिका लागि त्यो सम्भवतः सबैभन्दा उत्कृष्ट आधार हुन्छ," क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले बीबीसीका स्टीभ रोजन्बर्गसँग भने।
युक्रेनमा सैन्य सहयोग स्थगित गर्ने निर्णय र जेलेन्स्कीको वक्तव्य दुवैबारे ट्रम्पले कुनै प्रतिक्रिया जनाएका छैनन्। यद्यपि सप्ताहान्तमा युरोपेली नेताहरूसँगको भेटपछि उनले जेलेन्स्कीलाई धिक्कारेका थिए।
आइतवार यूकेका प्रधानमन्त्रीले आयोजना गरेको सम्मेलनको उद्देश्य युक्रेनप्रति समर्थन देखाउने थियो। उक्त सम्मेलनपछि जेलेन्स्कीले युक्रेन र रुसबीच युद्ध अन्त्यसम्बन्धी सम्झौता "अझै धेरै टाढा रहेको" बताएका थिए।
त्यसमा टिप्पणी गर्दै ट्रम्पले जेलेन्स्कीले निकृष्ट अभिव्यक्ति दिएको बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।