यूएसएआईडीका ८०%भन्दा धेरै कार्यक्रम 'औपचारिक रूपमै बन्द' हुँदै

    • Author, बर्न्ड डिबुस्म्यान जुनिअर
    • Role, बीबीसी न्यूज, ह्वाइट हाउस

विगत छ सातादेखि जारी पजनीपश्चात् अमेरिकी सहयोग नियोग (यूएसएआईडी)का अधिकांश कार्यक्रमहरू बन्द गरिएको विदेशमन्त्री मार्को रुबिओले घोषणा गरेका छन्।

सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै रुबिओले उक्त नियोगले दशौँ अर्ब डलर "अमेरिकी स्वार्थअनुकूल नहुने ठाउँमा वा प्रतिकूल हुने गरी" खर्च गरेको जनाए।

यूएसएडका केही बाँकी कार्यक्रम - १८% मात्र – अब अमेरिकी विदेश मन्त्रालयबाटै सञ्चालन हुने छ।

विश्वभरि असर पर्ने चेतावनी

संसारभरिका मानवीय सहायता कार्यक्रममा सामेल सङ्घसंस्थाहरूले लामो समयदेखि चलिरहेका यूएसएआईडीका सहायता कार्यक्रम बन्द हुँदा अहिले नै त्यसका गम्भीर परिणामहरू देखा परिसकेको र फलस्वरूप कतिपय ठाउँमा मानव जीवन समेत जोखिममा पर्ने चेतावनी दिएका छन्।

ट्रम्प प्रशासनले उसले अन्तर्राष्ट्रिय जगत्मा गर्ने खर्च उसको 'अमेरिका पहिले' भन्ने नीतिसँग मेल खानुपर्ने बारम्बार बताउँदै आएको छ।

ज्यानुअरी २० मा ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्नेबित्तिकै यूएसएआईडीका हजारौँ कर्मचारीलाई बिदामा बस्न भनियो भने विदेशमा खटेका कर्मचारीहरूलाई फिर्ता बोलाइयो।

पहिलो दिनमै हस्ताक्षर गरिएको कार्यकारी आदेशमा ट्रम्पले अन्तर्राष्ट्रिय सहायतालाई पनि रोक्का गर्दै यूएसएआईडीका विदेशस्थित कामको समीक्षा गर्न आदेश दिए। ती समीक्षा गर्ने जिम्मेदारी इलोन मस्क नेतृत्वको डिपार्टमन्ट अफ गभर्न्मन्ट इफिशन्सी (डीओजीई) लाई दिइयो।

विकास सहायता कार्यसम्बन्धी हजारौँ ठेक्काहरू रद्द गरिए अनि हजारौँ कर्मचारीलाई अन्तत: बर्खास्त गरियो।

'एक्स'मा राखेको पोस्टमा विदेशमन्त्री रुबिओले समीक्षाका आधारमा अमेरिकाले यूएसएआईडीका ६,२०० कार्यक्रमहरूमध्ये करिब ५,२००लाई "औपचारिक रूपमै बन्द" गर्न लागिएको जनाएका छन्।

"कङ्ग्रेससँगको सरसल्लाहमा बाँकी १८% कार्यक्रमहरू जुन हामी निरन्तर गर्न चाहन्छौँ….(तिनलाई) विदेश मन्त्रालयअन्तर्गत थप प्रभावकारी रूपमा सञ्चालन गर्ने छौँ ," रुबिओले भनेका छन्।

उनले "लामो समयदेखि आवश्यक रहेको र ऐतिहासिक सुधारका निम्ति घण्टौँ घण्टा काम गरेकोप्रति" डीओजीई र विदेश मन्त्रालयका कर्मचारीहरूलाई धन्यवाद दिएका छन्।

अब के होला?

डेमोक्र्याटिक पार्टी अनि कैयौँ मानवीय सहायता संस्थाहरूले अमेरिकी संसद् कङ्ग्रेसले कोष उपलब्ध गराउँदै आएको यूएसएआईडीका कार्यक्रमहरू रोक्ने कार्य अवैध भन्दै मुद्दा हालेका छन्।

संसारभरि यूएसएआईडीलाई विभिन्न कार्य दिइएको थियो जसमा भोकमरीको अनुगमनदेखि लिएर पोलिओ खोप तथा द्वन्द्वग्रस्त क्षेत्रहरूमा खाद्य सहयोग रहेका थिए।

उसका कार्यक्रम रोक्का गरेपछि त्यसका असर देखा पर्न थालिसकेका छन्।

उदाहरणका लागि, सुडानमा मानवीय सहायता बन्द हुँदा त्यहाँको गृहयुद्धमा परेका अतिविपन्न मानिसहरूको निम्ति खडा गरिएका सामुदायिक भान्सा बन्द भएका छन्।

यसबाट करिब २० लाख मानिस प्रभावित भएको अनुमान छ।

तालिबान सरकारले महिला शिक्षामा बन्देज लगाएपछि भागेर ओमान पुगेका दर्जनौँ अफगान महिलाहरू अब तिनलाई यूएसएआईडीमार्फत् प्राप्त छात्रवृत्ति अकस्मात् रोकिएपछि अन्योलमा परेका छन् र स्वदेश फर्कने बाध्यतामा छन्।

त्यस्तै भारतमा तेस्रो लिङ्गीहरूका निम्ति तीनवटा सहरमा खोलिएका मेडिकल क्लिनिकहरू बन्द भएका छन्।

यूएसएआईडी अमेरिकी सरकारको तर्फबाट विश्वभरि मानवीय सहायतासम्बन्धी कार्यक्रमहरू हेर्नका लागि सन् १९६० को दशकको आरम्भतिर गठन भएको निकाय हो।

यूएसएआईडीमा झन्डै १०,००० कर्मचारी थिए। तीमध्ये दुईतिहाइ विदेशमा कार्यरत थिए।

विश्वका ६० वटाभन्दा बढी देशमा उक्त निकायका आधारक्षेत्र थिए। त्यसबाहेक अरू दर्जनौँ देशहरूमा पनि उक्त संस्थाले काम गरेको छ।

सम्बन्धित क्षेत्रमा अधिकांश काम यूएसएआईडीले गरेका अरू संस्थाहरूले गर्दै आएका थिए। तिनलाई उक्त निकायले सहायता उपलब्ध गराउँथ्यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।