महिला कबड्डीमा नेपालका लागि कांस्य पदक लगभग पक्का

    • Author, निरञ्जन राजवंशी
    • Role, हान्झाउ, बीबीसी न्यूज नेपाली

छाउसान गुयली स्पोर्टस् सेन्टरमा त्यति बेला खुसीको वातावरण उत्कर्षमा पुग्यो, जब खेल सकिएको घोषणा भयो। राष्ट्रिय महिला कबड्डी टोलीका खेलाडीहरू कोर्टमा खुसीले नाच्न थाले। त्यसमा मिसिए प्रशिक्षक व्यवस्थापक अनि प्यारापिटमा बसेर नेपालको खेल नियालिरहेका नेपाली अधिकारीहरू।

नेपाली महिला टोलीले बाङ्ग्लादेशलाई लीग चरणमा ३७- २४ ले पराजित गरेको थियो।

र, १९ औँ एशियाली खेलकुदको नवौँ दिनमा आएर महिला टोलीले कम्तीमा कांस्य पदक पक्कापक्की जस्तै गरेको थियो।

गणितीय रूपमा नेपालको कांस्य पदक जितेको घोषणा भने गर्न मिलिसकेको छैन।

महिला टोलीकी कप्तान मेनुका कुमारी राजवंशीले भनिन्," हामीले एउटा ठूलो सपनालाई यथार्थमा परिणत गर्यौँ। पदक हाम्रो आँखा अगाडि नै थियो र त्यसलाई चुम्न मात्र बाँकी थियो। हामी यति खुसी छौँ कि म त्यसको वर्णन गर्न सक्दिनँ। "

एशियाली खेलकुदको इतिहासमा नेपालले महिला कबड्डीलाई समावेश गरेको यो पहिलो सहभागिता थियो र पहिलो सहभागिता मै नेपालले पदक पक्का पक्की गर्न सफल भयो।

खेल जितेर मिक्स जोनमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदा उनका आँखाबाट आँसु थामिएको थिएन।

उनले भनिन्, "हिजो रातभरि हामी कोही सुत्न सकेनौँ। किनकि यो खेल जसरी पनि जित्नु थियो र हामी त्यसमा दृढ पनि थियौँ।"

विपक्षीमाथि हाबी

महिला खेलाडीहरू खेलको सुरुदेखि नै विपक्षी बाङ्ग्लादेशमाथि भारी देखिएका थिए।

खेलाडीहरूको विपक्षीलाई आक्रमण गर्दै पक्रने तरिका पनि राम्रो थियो।

सुरुको केहीबेर दुवै तर्फका खेलाडीहरू समान जस्तै देखिएकोमा बिस्तारै नेपाली टोली खेलमा हाबी हुन थालेको थियो। खेलको पहिलो 'हाफ'मा नेपालले २१-१६ ले अग्रता लिएको थियो।

दोस्रो हाफमा पनि नेपालले त्यही लय दोहोर्‍यायो।

विपक्षीलाई अङ्क नदिने र समयलाई जोगाउँदै खेल्ने नेपालको रणनीति सफल देखियो।

खेलाडी अनुजा कुलुङ राईले भनिन्, "हामी निश्चित अग्रता बनाएर बसेको हुनाले अन्तिम समयतिर समय जोगाएर खेल्यौँ। आक्रामक खेल्दा गल्ती हुन सक्ने हुनाले हामीले विपक्षीलाई दबाव दिएर खेल्यौँ र त्यो सफल भयो।"

अवस्था कस्तो

महिला कबड्डीमा ७ राष्ट्र सहभागी छन्। त्यसमा नेपाल समूह 'बी' मा इरान र बाङ्ग्लादेशसँग छ। समूह 'ए' मा भारत, चीन, ताइपेई, थाइल्यान्ड र दक्षिण कोरिया छन्।

प्रत्येक समूह बाट २ टोली सेमिफाइनलमा पुग्नेछ।

अनि सेमिफाइनलमा प्रवेश गर्ने बित्तिकै कांस्य पदक निश्चित हुन्छ।

कबड्डीमा सेमिफाइनल पुग्ने दुवै टोलीले कांस्य पदक पाउने नियम छ।

यस्तोमा अब हुने खेलहरूमा बाङ्ग्लादेश इरानसँग पराजित भएमा पनि नेपालको अन्तिम ४ मा प्रवेश पक्का छ भने नेपालले इरानलाई हराएमा पनि सेमिफाइनल पुग्ने तय छ।

तीन मध्ये एक टोली मात्र प्रतियोगिताबाट बाहिरिने हुनाले एक खेल जित्नासाथ नेपालले सेमिफाइनलको यात्रा लगभग निश्चित गरेको हो।

नेपालले अब मङ्गलवार इरानको सामना गर्नेछ।

मेहनतको फल

एसियाड खेल्न हान्झाउ आउनु अगाडि महिला टोली भारतमा एक महिना बन्द प्रशिक्षणमा बसेको थियो।

हरियाणामा मौर माजरा गुरुकुलमा प्रशिक्षण लिएका उनीहरूले त्यहाँको प्रशिक्षण निकै फलदायी भएको बताएका छन्।

महिला टोलीकी प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद्का मुख्य कबड्डी प्रशिक्षक पार्वती राईले भनिन्, "खेलाडीहरूले दु:ख पीडा केही भनेनन्। यसलाई जीवनको लक्ष्य ठानेर कडा मेहनत गरे। यो सफलता त्यसैको प्रतिफल हो।"

उनी थप्छन्, "महिला कबड्डी प्राथमिकतामा थिएन। तर नेपालको परम्परागत मौलिक खेलले आफ्नो क्षमता पस्किएको छ। कबड्डीको विशेषता प्रमाणित गरेको छ।"

महिला कबड्डीले ११ औँ र १२ औँ दक्षिण एशियाली खेलकुदमा कांस्य पदक जितेको थियो भने सन् २०१९ मा काठमाण्डूमा भएको १३ ‍औँ सागमा रजत पदक जितेको थियो।

सागमा रजत पदक जितेको पुरस्कार स्वरूप महिला कबड्डीलाई एसियाडमा समावेश गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।