तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एशियाली खेलकुद: 'हान्झाउ सहरमा तपाईँहरूलाई स्वागत छ'
- Author, निरञ्जन राजवंशी
- Role, हान्झाउ, बीबीसी न्यूज नेपाली
एशियाली खेलकुदको 'एक्रिडिटेशन कार्ड' लगाएर हान्झाउ मेट्रोमा यात्रा गरिरहेका पत्रकारको टोलीलाई देखेपछि एक जना चिनियाँ नागरिकले मोबाइलबाट चिनियाँ भाषालाई अङ्ग्रेजीमा उल्था गरेर देखाए।
त्यसमा लेखिएको थियो- "हान्झाउ सहरमा तपाईँहरूलाई स्वागत छ।"
त्यसो त झन्डै डेढ करोड जनसङ्ख्या भएको हान्झाउ पर्यटकीय सहर हो। र, सेप्टेम्बर महिना अत्यधिक पर्यटक भित्रिने समय पनि हो। तर अरू बेला यहाँ अधिकांश पर्यटकहरू आन्तरिक हुने गर्छन्।
त्यसैले पनि एकजना चिनियाँ महिलाले थुप्रै विदेशीलाई देखेपछि हाँस्दै भनिन्, "ओहो! कति धेरै विदेशी।"
अहिले एशियाली खेलकुदका लागि हान्झाउ सहर सजिएको छ।
त्यसै पनि हरियाली सहरको रूपमा पनि चिनिने यो सहरलाई अहिले एशियाडका कारण थप सजाइएको छ।
'हार्ट टु हार्ट एट् फ्यूचर' का नाराहरूले सहरका भित्ताहरू सजिएका छन्।
बाटोमा नागरिकहरूले गरेको व्यवहार देख्दा लाग्छ- "एशियाली खेलकुद आयोजना गर्न पाएको ८ वर्षका क्रममा आयोजकले सहरका बासिन्दाहरूलाई एशियाली खेलकुदको बारेमा र विशेष गरी पाहुना सत्कारमा प्रशस्त ज्ञान दिइसकेको छ।
सन् २०१० को ग्वान्झाउ एशियाली खेलकुदका बेलामा पनि समाचार सङ्कलन गरेका एक जना भारतीय पत्रकार के. अर्मुगम भन्छन्, " त्यति बेला भाषाको असाध्यै समस्या थियो। चिनियाँहरू अङ्ग्रेजी भाषा पटक्कै बुझ्दैनथे। तर अहिले त्यो छैन। 'ट्रान्सलेटर प्रविधि' भएर पनि होला। तर अहिले धेरै नै विषयमा राम्रो गरिसकेको छ हान्झाउले। "
प्रगतिको रफ्तार
सन् १९९० मा बेइजिङमा एशियाली खेलकुदको आयोजना गरेपछि खेलकुद क्षेत्रमा अगाडि बढेको चीनले आफ्नो प्रगतिको प्रमाण प्रस्तुत गर्ने थलोको रूपमा खेलकुद क्षेत्रको भरपुर प्रयोग गर्दै आएको छ।
सन् २००८ मा बेइजिङमा ओलिम्पिकको आयोजना गर्ने क्रममा चीनले विदेशीहरूसँग कसरी सभ्य भएर प्रस्तुत हुने भनी नागरिकलाई प्रशिक्षण नै दिएको थियो।
ओलिम्पिककै बहानामा खाना खाएपछि केही 'खाना छोड्ने' पुरानो चिनियाँ परम्परालाई बन्द गर्न सिकाएको कुरा त्यति बेला चर्चाको विषय बनेको थियो।
मङ्गोलियाका पत्रकार ओतगन बटारले धेरै पटक चीनका विभिन्न सहरहरू घुमिसके। तर उनी भन्छन्, " जति पटक म चीन आउँछु, यहाँका सहरहरू नयाँ नयाँ पाउँछु। प्रगतिको रफ्तार यहाँ तीव्र गतिमा भइरहेको मैले महसुस गरेँ। "
आफूलाई चिनाउने मौका
उनलाई मन पर्ने कुरा भने चिनियाँ खानाको परिकार हो।
तर भारतीय पत्रकार भी. श्रीकान्तलाई भने एउटा समस्याले मज्जाले सताएछ।
भारतको आईएषएनएस (इन्डो एशिया न्यूज सर्भिस) का पत्रकार श्रीकान्त भन्छन्, "शाकाहारी खाना खानेलाई यहाँ समस्या नै हुँदो रहेछ। पाउनै गाह्रो।"
उनले जिस्किँदै भने, "घाँसपात र फलफूलले मात्र ज्यान थेग्न धौ धौ हुने।"
श्रीकान्त मात्र होइन चीनमा शाकाहारी खाना खान प्राय: मुश्किल नै हुने अनुभव धेरैको छ।
विभिन्न खेलका खेलाडीहरूले अहिले हान्झाउको सहरमा घुमफिर गरिरहेका तस्बिरहरू पनि सार्वजनिक हुन थालिसकेका छन्।
विदेशी खेलाडीहरूले होलसेल पसलमा शपिङ गरिरहेको तस्बिरलाई स्थानीय मिडियाले प्राथमिकताका साथ छापेको थिए।
प्रतियोगिताका खेलहरू अगाडि बढेसँगै स्थानीय तहको चासो पनि यसरी बढ्दै जाने आम प्रचलन नै हो।
अरूभन्दा अब्बल छ भन्ने सन्देश दिनमा सफल देखिएको हान्झाउ सहरले अबको दुई हप्ताका दौरान एशियाली राष्ट्रका थुप्रै अनुहारहरूको स्वागत गर्नेछ।
१२ हजार खेलाडी, १० हजारको हाराहारीमा पत्रकार तथा अन्य अधिकारीहरू गरी २५ हजारभन्दा बढी खेलकुद क्षेत्रसँग सम्बन्धित सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू अहिले हान्झाउमा छन्।
त्यसैले चीनको यो पूर्वी सहरलाई आफ्नो संस्कृति, सभ्यता र परिपक्वतालाई विश्व सामु कसरी पेस गर्ने महत्त्वपूर्ण अवसर हुने ठानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।