भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको शपथग्रहण

भारतमा नरेन्द्र मोदीले आइतवार साँझ तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथग्रहण गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

यसअघि मोदी सन् २०१४ मा पहिलो पटक र सन् २०१९ मा दोस्रो भारतका प्रधानमन्त्री निर्वाचित भएका थिए।

राजधानी दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित शपथग्रहण समारोहमा नेपाल, बाङ्गलादेश, श्रीलङ्का, भुटान, सेशेल्स, मरिशस र माल्दिभ्सका सरकार तथा राष्ट्रप्रमुखहरू सहभागी भए।

मोदीको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी भाजपाले आमनिर्वाचनमा एक्लै सरकार बनाउन आवश्यक पर्ने बहुमत नल्याएपछि उनले गठबन्धन सरकारको नेतृत्व सम्हालेका हुन्।

हजारौँ मानिसहरू सहभागी शपथग्रहण समारोहलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रहरीले राजधानीमा विभिन्न खाले उडानमा प्रतिबन्ध लगाउँदै ‘नो फ्लाई जोन’ घोषणा गरेको छ भने धेरैतिर सार्वजनिक सवारीसाधनको आउजाउमा समेत रोक लगाइएको छ।

मोदीको अघिल्लो मन्त्रिपरिषद्‌मा समावेश भएका २० जना मन्त्रीहरू यसपटक चुनावमा पराजित भएकाले भाजपाबाटै सरकारमा सहभागी हुने नयाँ अनुहारलाई लिएर धेरैको चासो पाइन्छ।

यद्यपि मोदीको अघिल्लो कार्यकालका गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, अर्थमन्त्री निर्मला सीतारमण, विदेश मन्त्री एस जयशङ्कर लगायतका अनुहारहरू भने सङ्घीय मन्त्रीका रूपमा दोहोरिँदै शपथ लिएका छन्।

खुम्चिएको गठबन्धनका नेता

अनपेक्षित ठानिएको यो चुनावी नतिजासँगै केही दिन एनडीए गठबन्धन साझेदारहरूले मोदीलाई नै साथ देलान् वा विपक्षी गठबन्धनमा सामेल भएर सरकार बनाउलान् भन्ने अनिश्चितता देखा परेको थियो।

तर शुक्रवार एनडीएका नेताहरूले सर्वसम्मत रूपमा मोदीलाई आफ्नो गठबन्धनको नेता मान्दै र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका थिए।

त्यस क्रममा उनले गठबन्धन साझेदारहरूलाई धन्यवाद दिँदै भनेका थिए, "एनडीएले [गठबन्धनको रूपमा] लगभग तीन दशक पूरा गरेको छ, यो कुनै सामान्य कुरा होइन। म यसलाई सबैभन्दा सफल गठबन्धन भन्न सक्छु।"

१८औं लोकसभा निर्वाचनमा मोदी नेतृत्वमा रहेको न्याश्नल डेमोक्र्याटिक अलायन्स एनडीए गठबन्धनले २९३ सिट जितेको छ।

सन् २०१९ मा ३०३ सीट जितेको भाजपा यसपटक २४० सीटमा खुम्चिएको छ।

कङ्ग्रेसको नेतृत्वमा विपक्षीहरूले 'इन्डिया' नामको गठबन्धन बनाएर चुनावमा होमिएका थिए। उनीहरूले अपेक्षा गरिएभन्दा राम्रो २३२ सीट हात जितेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।