तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जेन जी आन्दोलनपछि मानिसमा मानसिक स्वास्थ्य समस्याका लक्षण 'बढ्दै', डाक्टरका सुझाव यस्ता
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
जेन जी आन्दोलनपछि अस्पतालहरूमा मानसिक स्वास्थ्य समस्याका बिरामीको आउने क्रम केही सङ्ख्यामा बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
पाटन अस्पताल र काठमाण्डू मेडिकल कलेजमा बिरामीको उपचारमा संलग्न चिकित्सकहरूले जेन जी आन्दोलनपछि बिरामी आउने क्रम बिस्तारै बढेको बताएका हुन्।
केही नयाँ बिरामी उपचारमा आएको त केही विगतमा मानसिक स्वास्थ्य समस्या भएर निको भइसकेकाहरू पुन: बल्झिएर पनि आउने गरेको पाइएको उनीहरूले बताएका हुन्।
यस्तो अवस्थामा आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा आएको परिवर्तन हेरेर मनोचिकित्सक वा मनोविद् वा मनोपरामर्शदाताको सहायता लिन उनीहरू सुझाउँछन्।
आन्दोलनको असर
गत भदौ २३ गते राजधानी काठमाण्डूलगायत देशका विभिन्न ठाउँमा आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको थियो। त्यसपछि भदौ २४ गते थुप्रै सार्वजनिक भवनहरूमा आगजनी भए।
दुई दिन भएका ती घटनाका क्रममा ७४ जनाको ज्यान गएको विवरण आएका छन्।
सत्ता नै परिवर्तन हुने गरी भएका यी दुई दिनका घटनामा ठूलो मानवीय र भौतिक क्षति भएका छन्। त्यसबारे अध्ययनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन भएको छ।
देशैभरिका २६ वटा कारागारबाट कैदीबन्दीहरू पनि भागेका थिए। तीमध्ये धेरै सङ्ख्यामा फर्किए पनि अझै केही फर्किन बाँकी रहेको बताइएको छ।
नसोचिएको उक्त घटनाका क्रममा थुप्रै परिवारले आफ्नो सदस्य गुमाएका छन्, कतिका परिवारका सदस्य गम्भीर घाइते भएका छन्। त्यस्तै कति पेसाव्यवसायमा हमला हुँदा कति मानिसले रोजगारी पनि गुमाएका छन्।
यी घटनाहरूबाट मानिसमा डर र तनाव बढ्ने अनि विभिन्न खालका मानसिक स्वास्थ्य समस्या देखिएको मनोचिकित्सक र मनोविद्हरू बताउँछन्।
मानिसहरूमा कस्तो स्वास्थ्य समस्या देखिएका छन्?
काठमण्डूमा रहेको एउटा आश्रयस्थलमा बस्दै आएकी यौन दुर्व्यवहारपीडित एक किशोरीलाई कारागारबाट मानिसहरू भागेको भन्ने समाचार आएदेखि डर बढ्न थालेको उनलाई परामर्श दिँदै आएकी मनोविद् आरती झा बताउँछिन्।
"आफ्नै बाबुले गरेको दुर्व्यवहारबाट पीडित किशोरीले मानिसहरू जेलबाट भागेको टीभीमा देखिन्। त्यसरी भाग्नेमा आफ्नै बुवा पनि रहेको भनेर उनले चिनिन्," मनोविद् झाले भनिन्।
"अब कतै बुवाले घर गएर आमालाई पिट्ने त होइन भन्ने डर लागेको उनले मलाई बताइन्।"
ती किशोरीबाहेक उनकी दिदी पनि बाबुबाट बलात्कृत भएको मनोविद् झाले बताइन्।
"दिदी त मूर्च्छा नै परेकी थिइन् र उनीहरू दुवैलाई बुवाले आमालाई मारिदिने त होइन भन्ने पीर परेको छ," मनोविद् झाले भनिन्।
यी दुई किशोरीहरूजस्तै डर र चिन्ताका कारण परामर्श दिनुपर्ने धेरै मानिसहरू बढेको उनी बताउँछिन्।
काठमाण्डू मेडिकल कलेजमा कार्यरत वरिष्ठ मनोचिकित्सक डाक्टर सरोज ओझा आन्दोलनपछिका दिनमा उपचार गर्न आउने मानिसहरूको सङ्ख्या दैनिक रूपमा बढिरहेको आफ्नो अनुभव रहेको बताउँछन्।
"जो मानिसलाई पहिला बिमार छ, उनीहरूमा पनि बढेको देख्छु। र नयाँ मानिसमा पनि 'यो घटनाले गर्दा ध्यान केन्द्रित गर्ने क्षमतामा कमी आयो, निद्रा कम भयो, ध्यान दिन सकिनँ' भनेर आउनेहरू धेरै छन्," डाक्टर ओझाले भने।
"हरेक दिन [अघिल्लो दिनभन्दा] दुई जना बढी देखिरहेको छु। विशेष गरी २० देखि ४० वर्षका मानिसमा यो देखिएको छ। मेरा सहकर्मीहरूले पनि यही नै भनिरहेका छन्।"
डाक्टर ओझाजस्तै पाटनस्थित मानसिक अस्पतालका निर्देशक डाक्टर सुरज तिवारी पनि समस्याहरू बढिरहेको देखिएको बताउँछन्।
कुनै पनि हिंसात्मक घटना एक्कासि भएपछि मानिसहरूमा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या तत्काल देखिने र केहीमा भने अलि केही समयपछि मात्रै देखिने उनले बताए।
"अस्पतालमा मानसिक स्वास्थ्यसँग सम्बन्धित उपचार लिन आउने अलि बढेको पाएका छौँ। उनीहरूसँग यस्तो समस्या कहिलेबाट देखियो भन्दा धेरैले यही दुई हप्तायता समस्या भएको बताउने गरेका छन्," मानसिक अस्पतालका निर्देशक डाक्टर तिवारीले भने।
त्यसरी आउनेमा केही बिरामी 'एङ्जाइटी'को नयाँ समस्या भएर आउने रहेका र केही चाहिँ विगतमा मानसिक स्वास्थ्य समस्या भएकाहरू रहेको चिकित्सकहरू बताउँछन्।
लक्षणहरू कस्ता हुन्छन्?
डाक्टर तिवारीका अनुसार घटनासँग सम्बन्धित आघातजन्य लक्षणहरू बिरामीमा देखिन सक्छन्।
उदाहरणका लागि एकदमै ज्यादा डर लाग्ने र त्यसले गर्दा मुटु ढुकढुक हुने, श्वासप्रश्वासको चाल बढ्ने, पसिना आउने, काँप्ने जस्ता लक्षणहरू देखिन सक्छ।
"कतिपयलाई घटनाको एक महिनापछि पनि देखिन सक्छ," डाक्टर तिवारीले भने।
मानसिक स्वास्थ्यसँग सम्बन्धित डरत्रासका कारण शारीरिक स्वास्थ्यमा देखिने परिवर्तन हेरेर परिवारका सदस्य वा स्वयं व्यक्तिले सहायता खोज्नुपर्ने चिकित्सकहरू बताउँछन्।
वरिष्ठ मनोचिकित्सक डाक्टर ओझा कतिपय अवस्थामा औषधि नै सेवन नगरी केवल परामर्शबाट पनि ठिक हुने बताउँछन्।
त्यसैकारण सुरुमा आफूप्रति सहानुभूतिभन्दा पनि समानूभूति जनाउने साथीभाइ वा आफन्तजनलाई आफ्नो उकुसमुकुसबारे कुरा गरेर हलुका हुन उनी सुझाउँछन्।
सामाजिक सञ्जालको प्रयोगबारे के कुरामा ध्यान दिनुपर्छ?
कुनै पनि घटनापछि मानिसहरूमा सुरुमा निद्रा नलाग्ने समस्या देखिने र त्यसको कारक सामाजिक सञ्जालको अत्यधिक प्रयोग हुने गरेको डाक्टर ओझाले बताए।
लामो समय सामाजिक सञ्जाल हेर्दा त्यसले मस्तिष्कमा गरेको नकारात्मक असरबारे बुझ्न समय लाग्ने उनी बताउँछन्।
त्यसले गर्दा तनाव बढ्ने र तनाव बढ्नाले मानिसहरूको रक्तचाप र चिनीको मात्रा बढाउने उनले बताए।
"सामाजिक सञ्जालको प्रयोग सकेसम्म कम गर्नुपर्छ। सामाजिक सञ्जाल हेर्दा पनि धेरै नकारात्मक समाचार हेर्नुको सट्टा सकारात्मक कुराहरू हेर्ने र पढ्ने गर्नुपर्छ," उनले भने।
तर जेन जी आन्दोलनका क्रममा मानिसहरूले आफन्त गुमाएका छन्, घाइते भएका छन् वा पेसाव्यवसाय गुमाएका छन्। यस्तो बेला कसरी सकारात्मक सोच्ने?
जवाफमा डाक्टर ओझा भन्छन्, "सबैभन्दा पहिलो कुरा मानिसहरूले जे घटना भयो, त्यसलाई स्वीकार्नुपर्छ। त्यसपछि दैनिक क्रियाकलापलाई विगतकै लयमा ल्याउनुपर्छ।"
"त्यसबाहेक पर्याप्त निद्रा पुर्याउनुपर्छ। र, व्यायाम र ध्यान गर्ने गर्नुपर्छ।"
कुन अवस्थामा सहायता खोज्ने?
आफ्नो वरपरका मानिसहरूसँग कुरा गर्दा पनि सहज नभएको अवस्थामा भने लक्षणहरू विचार गरेर नजिकैको स्वास्थ्यसंस्थामा गएर मानसिक स्वास्थ्यका चिकित्सक वा मनोविद् वा मनोपरामर्शदातासँग कुरा गर्न चिकित्सहरू सुझाउँछन्।
मानसिक स्वास्थ्यमा समस्या हुनु भनेको मनमा प्रभाव पर्नु वा भावना र विचारमा असन्तुलन हुने अवस्थालाई बुझ्नुपर्ने चिकित्सहरू बताउँछन्।
"मनमा कुराहरू धेरै खेल्ने, चिडचिडाहट हुने, उदासीनता आउने, जीवन र वरपरका वातावरणबारे मनमा नकारात्मकता आउने र त्यसले शरीरमा प्रतिक्रिया जनाउने अवस्थाबारे गम्भीर हुनुपर्छ," डाक्टर तिवारीले भने।
लामो समयसम्म निद्रा नपर्ने, मनमा कुरा खेलिरहने, खान मन नलाग्ने वा अत्यधिक खान मन लाग्ने, शरीर झमझमाउने, विगतमा जे कुरामा मन रमाउँथ्यो, अहिले त्यसमा परिवर्तन आउने जस्ता कुरा कम्तीमा दुई हप्तासम्म देखिए अस्पताल जान चिकित्सकहरू सुझाउँछन्।
यस्तो अवस्थामा सामान्य खालको चिन्ताका लक्षणहरू देखिँदा ध्यान र योगले पनि सहयोग पुर्याउने चिकित्सकहरू बताउँछन्।
तर अलि जटिल मानसिक स्वास्थ्य समस्या देखिँदा भने योग ध्यान गर्न पनि बिरामीले नसक्ने र गरेकै अवस्थामा पनि त्यसले पर्याप्त फाइदा नपुग्ने उनीहरू बताउँछन्।
"मध्यम र कडा वर्गको लक्षणहरू देखिँदा वा एङ्जाइटी डिस्अर्डरको तहमा पुगेको बेला मनोचिकित्सक वा मनोविद्लाई भेटेर देखाउन सल्लाह दिन्छौँ," डाक्टर तिवारीले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।