तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अवैधानिक आप्रवासन : घना जङ्गलको बाटो, सीमामा धारिलो तारबार त कतै कुकुरको डर
- Author, ज्यासमिन डायर
- Role, बीबीसी विश्व सेवा
दावित (नाम परिवर्तन) इथियोपियाका एक युवा हुन्।
पोल्यान्डको ठूलामध्येको एउटा शहरको शान्त र रुख बिरुवाले भरिएको एक पार्कमा मसँग उनले भेटे। उनी लजालु छन् र सानो स्वरमा बोल्छन्। चिसो मौसमका लागि उपयुक्त पहेँलो र कालो रङको ज्याकेट लगाएका छन्।
जबर्जस्ती सेनामा भर्ती हुनबाट बच्न आफ्नो घरबाट भागेको उनले मलाई बताए। उनले मानव तस्करहरूलाई करिब ७ हजार डलर (५,५०० पाउन्ड) तिरेको बताए। तिनै तस्करले रुस र बेलारुस हुँदै पोल्यान्डसम्मको यात्रामा उनको मद्दत गरेका हुन्।
सन् २०२१ मा सङ्कट सुरु भए यता बेलारुस-पोल्यान्ड सीमा अवैधानिक रूपमा पार गर्ने दशौँ हजार मानिसमध्ये उनी एक हुन्।
दावित पोल्यान्डमै बस्न चाहन्छन् तर बाटोमा उनले भेटेका कैयौँ आप्रवासीहरूले भने यूके पुग्ने लक्ष्य राखेको बताएका थिए।
सीमा वारपार नै कुनैबेला युरोपभर फैलिएको प्राचीन जङ्गलको अवशेष बाँकी छ।
बिआलोविएजा फरेस्ट युनेस्कोले सूचीकृत गरेको सम्पदा क्षेत्र हो अर्थात् संरक्षित क्षेत्र। अहिले मानिसहरूले यसलाई ईयू प्रवेश गर्ने अवैधानिक मार्गका रूपमा प्रयोग गर्ने गरेका छन्।
जङ्गल बीचबाट बनाइएको यो १२० माइल लामो पर्खाल पोल्यान्ड सरकारले पोल्यान्डको र वृहत् युरोपको सीमा बलियो बनाउन सन् २०२२ मा निर्माण गरेको हो।
पोल्यान्डका सीमा रक्षकहरूले दिनरात पैदल वा बख्तरबन्द वाहन र अन्य वाहनबाट गस्ती गर्छन्। उनीहरूले उच्च क्षमता भएका ड्रोनहरूको उपयोग गरेर आकाशबाट पनि निगरानी गर्छन्।
औपचारिक पोसाकमा रहेका सीमा सुरक्षा अधिकारी मिचल बुरा ५ मिटर अग्लो पर्खालको छेउ छेउ हिँड्दै मसँग कुरा गरिरहेका छन्। हिउँदको उज्यालो घाममा पर्खालका डन्डीहरू चम्किरहेका छन्।
"हामी तस्करहरूभन्दा एक कदम अगाडि हुनुपर्छ। हाम्रा शत्रुहरूभन्दा एक कदम अगाडि," उनी भन्छन्।
बुराले बेलारुसी समकक्षीहरूलाई पनि शत्रुको सूचीमा राखेका छन् अहिले।
"अर्को (बेलारुस) तर्फका रक्षकहरू अवैध आप्रवासीहरूको पक्षमा काम गरिरहेका छन्," उनी भन्छन्।
"उनीहरूले अवैधानिक रूपमा कहाँबाट सीमा पार गर्न सकिन्छ भन्ने आप्रवासीलाई देखाइदिन्छन्। उनीहरूले भर्याङ र तार काट्ने मसिनहरू पनि अवैधानिक आप्रवासीहरूलाई उपलब्ध गराइदिन्छन्," उनी भन्छन्।
तर पोल्यान्डका अधिकारीहरूमाथि पनि आप्रवासीहरूप्रति गैरकानुनी व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको छ।
सन् २०२४ को डिसेम्बरमा तयार पारिएको ह्युमन राइट्स वाच रिपोर्टमा "पोलिश प्रहरी अधिकारीहरूले गैरकानुनी रूपमा र कहिलेकाहीँ हिंसात्मक रूपमा पोल्यान्ड पस्ने प्रयत्न गरिरहेकाहरूलाई, उनीहरूलाई आवश्यक परेको संरक्षणको आवश्यकतालाई बेवास्ता गरेर उतै (बेलारुसतिरै) पठाइदिन्छन्," भनिएको छ।
सन् २०२० को बेलारुसको व्यापक रूपमा बदनाम भएको चुनावयता युरोपले लगाएको कडा प्रतिबन्धपछि त्यसका नेता एलेग्जेन्डर लुकाशेन्कोले मध्य पूर्व र अफ्रिकाबाट आइपुग्ने आप्रवासीहरू अवैधानिक रूपमा पोल्यान्डतिर लागे भने हस्तक्षेप नगर्ने घोषणा गरेका थिए।
लुकाशेन्कोले बीबीसीलाई सन् २०२१ मा भनेका थिए, "मैले उनीहरू (ईयू)लाई भनिदिएको छु कि मैले सीमामा आइपुगेका आप्रवासीलाई नियन्त्रणमा लिन्नँ उनीहरूलाई सीमामा रोक्दिनँ र उनीहरू आइरहे भने म रोक्दिनँ किनभने उनीहरू मेरो देशमा बस्न आउने होइनन् तिमीहरूको देशतिर आउने हुन्।"
तर यो अहस्तक्षेपकारी दृष्टिकोण मात्रै होइन। बेलारुसले सक्रिय रूपमा आप्रवासीलाई यो बाटो युरोप प्रवेश गर्न प्रोत्साहन गर्ने गरेको आरोप लाग्ने गरेको छ।
सन् २०२१ मा लुकाशेन्कोको सरकारले चलाएको एउटा ट्राभल एजेन्सीलाई इयूले आप्रवसासीलाई सीमा पार गराउन सहयोग गरेको भन्दै प्रतिबन्ध लगाइदिएको थियो
उक्त सेन्टरकुरोर्ट ट्राभल एजेन्सीको संयोजनमा सन् २०२१ मा बेलारुसी विदेश मन्त्रालयले पाँच वर्ष उमेरका समेत केही इराकीहरूलाई 'हन्टिङ भिसा' दिएको बीबीसीले प्रमाण हेरेको छ।
यो भिसाले मानिसहरूलाई बियालोविएजा फरेस्टको बेलरुसस्थित क्षेत्रको संरक्षित क्षेत्रमा प्रवेश अधिकार दिन्छ। र यो क्षेत्र पोल्यान्डबाट निकै नजिक छ।
बेलारुसी सीमा अधिकारीहरूले सीमा पार गर्न सक्रिय रूपमा सघाउने गरेको आरोप अस्वीकार गरेका छन्। उनीहरूले सीमा सुरक्षाबारे यसअघि जारी विज्ञप्तिहरूबारे बीबीसीलाई उल्लेख गरेका छन्।
"आप्रवासी समस्या बढ्दै जाँदा राज्यको सीमासम्बन्धी निकायले ईयू मुलुकहरूलाई सचेत बनाउँदै रचनात्मक वार्ताको आवश्यकता औँल्याउने गरेको, स्थगित गरिएका गैरकानुनी आप्रवासनसम्बन्धी मुद्दा लगायत सीमा पार सहयोग आयोजना पुनः सक्रिय बनाउन आग्रह गरिएको छ। "
"दुर्भाग्यवश रचनात्मक वार्तामा सामेल हुनुको साटो छिमेकी ईयू मुलुकहरूले सीमामा सैन्यकरण, झडप र सीमा सहयोग कार्यलाई उपेक्षा गर्ने मार्ग चुनेका छन्। अहिले देखिएको आप्रवासी समस्यालाई समाधान गर्न उनीहरूले कट्टरपन्थी तरिका प्रयोग गरेका छन्।"
पोल्यान्ड बेलारुस सीमा सम्बन्ध
आप्रवासीहरूको बढ्दो सङ्ख्याले सीमाको दुवैतिर बस्ने रक्षकहरूबीचको सम्बन्ध पनि नाटकीय रूपमा बदलिएको छ।
बुरा भन्छन्, "केही वर्ष अगाडिसम्म हामी उनीहरूसँग कुराकानी गर्थ्यौँ, चुरोट सँगै खान्थ्यौँ तर अहिले त एक अर्कालाई हेराहेर गर्ने मात्रै हो, हाम्रो उनीहरूसँग कुनै सम्पर्क छैन।"
पोल्यान्डले आप्रवासी रोक्न आफ्ना प्रयत्न बढाएको भए पनि सन् २०२४ मा करिब ३० हजारले सीमा पार गर्ने प्रयत्न गरेका थिए । सन् २०२१ मा सङ्कट सुरु भए यताको यो दोस्रो ठूलो नम्बर हो।
र सीमा पार गर्न सफल हुनेहरूमध्ये कैयौँ दयनीय अवस्थामा फेला पर्ने गर्छन्।
'यदि तिमी दौड्यौ भने उनीहरूले तिमीलाई कुकुर लगाइदिन्छन्'
जङ्गल बाक्लो छ र त्यो पार गर्न सजिलो छैन। ५.५ मिटर अग्ला धारिलो धातुको बारको अर्थ हो त्यो पार गर्ने आप्रवासीलाई गहिरा घाउ चोट लाग्ने गर्छन्।
'वी आर मोनिटरिङ ग्रुप' भन्ने संस्थाका अनुसार ८९ जना मानिसले यो सीमा पार गर्न खोज्दा ज्यान गुमाएका छन्।
आप्रवासीहरूका अनुसार उनीहरूलाई सीमा पार गर्न सहयोगी उपकरणहरू दिइए पनि बेलारुसी सीमा रक्षकहरूले बेलारुसको सीमा कटाइदिन र ईयूतिर गइहालून् भनेर आप्रवासीहरूका पछाडि कुकुर लगाइदिन्छन् ।
हिउँदका बेलाको समय झन् कष्टकर हुन्छ। जाडोका कारण हाइपोथर्मिया र विभिन्न अङ्गमा हिउँले खाइदिने समस्या हुन्छ।
"यदि तिमी भाग्यौ भने उनीहरूले कुकुर लगाइदिन्छन्," दावितले मलाई भने।
"मैले घाँटी र खुट्टामा कुकुरले टोेकेका मानिस देखेँ।"
ओल्गा नयाँ आउने आप्रवासीहरूलाई सहयोग उपलब्ध गराउने परोपकारी संस्थाका लागि काम गर्छिन्। उनले भेटेका मानिसहरू धेरैजसो डराएका र उपचारको आवश्यक परेकाहरू हुन्छन्।
उनीहरूमा रेजरवाला तारबारका कारण कैयौँ चोटपटक लागेको हुन्छ। कतिपयको त बारबाट हाम फाल्दा हात खुट्टा नै भाँचिएको हुन्छ।
हामीले च्यारिटीको मुख्यालयमा ओल्गालाई भेट्यौँ ।
नजिकैको एउटा गाउँको बाहिरी क्षेत्रमा तीनकोठे एउटा घर त्यहाँको समुदायका आप्रवासीलाई सहयोग गर्ने धारणालाई समर्थन गर्ने व्यक्तिले उपलब्ध गराएका छन्।
उनीहरू आफ्नो 'लोकेसन' गोप्य राख्छन् किनभने कतै आप्रवासी आगमनप्रति आक्रोशितहरूले प्रतिशोधमा हमला गर्लान् कि भन्ने उनीहरूलाई डर रहन्छ।
"यहाँ उपकरण र अन्य सामग्रीहरू देखिन्छन् - न्यानो लुगा, खाना, ब्यान्डेज र प्राथमिक उपचार किट - भित्तामा चाङ लगाएर राखिएको छ र एउटा कुनामा दुईवटा खाट छन् जसमा स्वयंसेवकहरू आवश्यक परे सुत्ने गर्छन्।"
सहयोग दिउँसो वा राति जुनसुकै बेला दिनु पर्ने अवस्था आउन सक्छ। त्यहाँ आइपुग्ने मानिसहरूको प्रकार पनि फरक फरक हुने गर्छ।
"हिउँदका बेला आउनेहरू युवा र केटामान्छे छन्। तर सेप्टेम्बर र अक्टोबरमा आउनेहरूमा केटीहरू थिए। युवतीहरू। त्यहाँ कैयौँ त किशोर किशोरी थिए।"
सम्भव भएसम्म उक्त च्यारिटीले प्राथमिक उपचार उपलब्ध गराउँछ र उनीहरूको कुरा सुन्न चाहनेहरूलाई शरणबारे सुझाव पनि उपलब्ध गराउँछ।
यसैबीच डढेलो र नियन्त्रित क्षेत्र हुँदै अगाडि बढेका छरपस्ट फालिएका सामग्रीले बियालोविएजाका जनावरको बेहोरा परिवर्तन हुन थालेको पाइएको छ।
मानव गन्धबाट बच्नका लागि युरोपेली बाइसनका झुन्डहरू जङ्गलको त्यस्तो क्षेत्रतर्फ लागेका छन् जहाँ उनीहरू पहिले जाँदैनथे।
आप्रवासीहरूका खुट्टामार्फत् त्यहाँ बाहिरी प्रजातिको आगमन हुन सक्छ जसको नियन्त्रणका लागि वन विशेषज्ञहरूले कडा मेहनत गर्नु पर्छ।
मात्योस जाइमुराले २० वर्षभन्दा लामो समयदेखि फरेस्ट रेन्जरको रूपमा काम गरेका छन् र बियालोविएजामा आफ्नो सम्पूर्ण जीवन बिताएका छन्।
हामी हिउँले ढाकिएको पुलमा बाक्लो जङ्गलमा हिँडिरहँदा उनले मलाई आफू काममा हिँडिरहँदा आप्रवासीहरू देख्ने गरेको र बेलारुसका तर्फबाट कुनै कारबाही नगरेको देख्दा चिन्ता लाग्ने गरेको बताए।
उनी भन्छन्, "यो संरक्षित क्षेत्रमा बेलारुसले मानिसहरूको प्रवेश निरन्तर गर्न दिइरह्यो भने बियालोविएजा जङ्गलमा समस्या झन् बढ्ने छ।"
हिउँद याममा अवस्था अझ गाह्रो हुन्छ किनभने कैयौँ आप्रवासीहरूमा हाइपोथर्मिया हुने गरेको पाइएको छ।
यद्यपि धेरैका लागि यो युरोपका अन्य मुलुकमा जाने उनीहरूको यात्राको एउटा विश्रामस्थल मात्र हो।
बेलारुसको राजनीतिक खेललाई अवैधानिक आप्रवासनले बल पुर्याएसम्म यो सङ्कटले युरोपको सीमामा असर पारिरहने छ।
दावितले मलाई उनको यात्रामा भेट भएका कैयौँले यूके पुग्न चाहेको बताएको जनाए। तर दावितले पोल्यान्डमै शरण मागेका छन् र उनको दाबीमाथि प्रक्रिया चलिरहेको छ।
"म सुरक्षित हुन चाहन्छु। त्यही कारण म यहीँ बस्न चाहन्छु," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।