बस्ने कि जाने? 'हिँडेर' अमेरिका छिरेका चिनियाँको सपना ट्रम्पको शासनमा धमिलिँदै

द्विविधामा परेजस्तो देखिएका एक व्यक्ति
    • Author, शन उएन
    • Role, ग्लोबल चाइना यूनिट, बीबीसी विश्व सेवा
    • Reporting from, क्यालिफोर्निया, अमेरिका

सन् २०२३ को सुरुवातमा आफ्नो मातृभूमि छाड्ने निर्णय गर्दै गर्दा पान अब त्यहाँ आफ्नो भविष्य छैन भन्नेमा दृढ थिए।

अमेरिका जाँदै गर्दा उनले तुलनात्मक रूपमा खुला समाज, निष्पक्ष अर्थव्यवस्था र आत्मसम्मानपूर्ण जीवनको सपना देखेका थिए। उनले बताएअनुसार चीनमा कहिल्यै त्यस्तो खोज्न मिल्दैनथ्यो किनकि घरजग्गा व्यवसायका निम्ति मार्ग खोल्ने क्रममा स्थानीय सरकारले उनको घरलाई जबर्जस्ती भत्काइदिएको थियो।

उक्त सपना पछ्याउन सन् २०२३ मा उनी चीनदेखि एक्वडोरसम्मको हजारौँ माइलको यात्रामा निस्किए र उक्त बिन्दुबाट आफ्नो लामो यात्राको जारी राख्दै जङ्गलको बाटो छिचोल्दै दुई महिनाजतिपछि अन्तत: अमेरिका पुग्न सफल भए।

उमेरले ६० पुग्न केही वर्ष मात्र बाँकी रहेका मृदुभाषी पान पूर्वी चीनको जियाङ्शी प्रान्तस्थित एउटा सानो गाउँबाट आएका हुन् र हालैका वर्षमा त्यसरी अमेरिका पुग्ने दशौँ हजार चिनियाँमध्येका एक हुन्।

उनीहरू चीनमा अधिनायकवादी सरकारको कडाइका कारण सुरु भएको आप्रवसानको नयाँ लहरको प्रतिनिधित्व गर्छन्। उनीहरू कहिलेकाहीँ सोझो भएर अनि प्रायजसो व्यग्र बन्दै अझै अमेरिकाले परिस्कृत जीवनको उचित मौका प्रदान गर्ने विश्वासबाट प्रेरित छन्।

उनीहरूको पलायनको कारण भिन्नभिन्न छ तर अमेरिकी भूमि टेकेपछि धेरैले उस्तै समस्याको सामना गर्छन्। तिनमा भाषाका कारण एक्लिने, ऋणमा चपेटामा पर्ने र शरणार्थीको दाबीमाथि प्रक्रिया सुरु हुने प्रतीक्षामा गुजारामुखी काम गर्नेजस्ता कुरा पर्छन्।

यस्तोमा केही आशावादी छन् भने अरू उल्झनमा छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पको राजनीतिक पुनरागमनले अमेरिका-चीन सम्बन्धलाई निकै खराब तुल्याएको छ र ती सबै यसबाट प्रभावित भएका छन्।

फ्याटम्यान डिङ प्लाजा, क्यालिफोर्निया
तस्बिरको क्याप्शन, लस एन्जलस सहरबाहिरको मोन्टेरे पार्कको मध्यमा रहेको फ्याटम्यान डिङ प्लाजा अमेरिका आएका चिनियाँ आप्रवासीहरूको केन्द्र हो

'यहाँ कडा मेहनतले आशा जन्माउँछ'

पान मैले दुई वर्षअघि सुरुमा भेटेका केही चिनियाँमध्येका हुन्। सँगै आएका समूहका अन्य धेरैले झैँ उनी अहिले एउटा चिनियाँ रेस्टुराँमा काम गर्छन्, भलै आफ्नो देशमा छँदा आफूमा भएको खेतिपातीको ज्ञानमाथि उनी गर्व गर्ने गर्थे।

यहाँको माटो नै अलग हुने भएकाले अमेरिकामा ती कौशल काम लाग्दैनन् र उनी अङ्ग्रेजी बोल्दैनन्। पुरानो जीवनले यहाँ खासै महत्त्व राख्दैन।

आएको केही समय त पानले सहरसहर चक्कर काटे, कहिले सोफामा सुते, कहिले सँगैका अन्य आप्रवासी साथीहरूसँग 'बङ्कबेड'मा सुते र अन्तत: उनी क्यालिफोर्नियाको धुलाम्मे औद्योगिक नगर बार्स्टो आइपुगे।

आज उनको जीवन एउटा सीमित घेरोमा खुम्चिएको छ। उनी खाना बनाउँछन्, कहिलेकाहीँ दिउँसो रेस्टुराँमा 'वेटर'को काम गर्छन्, राति चीनमा रहेका पत्नी र केटाकेटीसँग भिडिओ कलमा कुरा गर्छन् र अर्को दिन उनको यही दैनिकी दोहोरिन्छ। उनी भान्सासँगै जोडिएको कोठामा बस्छन्।

बाहिरबाट हेर्नेका निम्ति र उनका घरका मान्छेलाई समेत पानको जीवन खप्नै नसकिने किसिमको निरस लाग्न सक्छ। तर उनका लागि भने के कुराको अभाव छ भन्ने कुराले भन्दा पनि के छुट्यो भन्ने कुराले अर्थ राख्छ। जमिनको कब्जा छैन, हस्तक्षेप गर्ने अधिकारीहरू छैनन् र मनलाग्दी सजायको भय छैन।

"मेरा घरकाले बुझ्दैनन्," अर्धमुस्कानसहित उनले भने, "यति सजिलो जीवन छाडेर किन गएको भन्छन् तर भलै यहाँ (जीवन) सामान्य भए पनि यो मेरो हो। यो स्वतन्त्र छ।"

स्वतन्त्रताबारे पानको विचार शान्त तर दृढ छ। यात्राको पूर्वसन्ध्यामा दुई वर्षअघि एक्वडोरको कीटोस्थित एउटा होटेलको सानो कोठामा उनले मलाई बाटोमा आफ्नो ज्यानै गए पनि त्यो उचित हुने बताएका थिए।

उनी अहिले पनि त्यसै भन्छन्। "यो सबै कुरा...," उनले दोहोर्‍याए, "मूल्यवान् छ।"

कैयौँ नवआगन्तुकको जस्तै पानको सार्थक सामाजिक घेरो छैन। बढ्दो भाषागत समस्या र सांस्कृतिक भिन्नताबाट उत्पन्न चुनौतीहरूले सँगैका प्रवासीहरूसँग घुलमिल हुने उनको दायरालाई खुम्च्याइदिएको छ।

उनी कहिलेकाहीँ चिनियाँ वाणिज्य दूतावासबाहिर हुने प्रदर्शनमा भाग लिन लस एन्जलस जान्छन्। सार्वजनिक रूपमा देखाइने राजनीतिक विमति आफ्नो शरणार्थीको दर्जाको दाबीलाई बलियो बनाउने एउटा तरिका भएको उनी स्वीकार्छन्। तर दशकौँको मौनतापछि अब विरोध गर्न सक्ने भएकाले पनि उनले त्यसो गरेका हुन्।

तियानआनमेन स्क्वेअर नरसंहारको वर्षगाँठ पारेर जुन ४ का दिन उनले वाणिज्य दूतावासबाहिर उभिएर चिनियाँ कम्युनिस्ट पार्टीविरोधी नारा लगाए। परिचितहरूको भिडमा उनले त्यस दिन जेम्सलाई देखे।

उमेरले ३० कटेका र पश्चिम चीनबाट आएका जेम्सले पानसँगै एक्वडोरबाट डारिअन ग्याप हुँदै अमेरिकी सीमासम्मको यात्रा गरेका थिए। पानको कथा शान्त र सीधा छ भने जेम्सको गतिशील र अधिक बेचैन खालको छ।

आप्रवासीहरूलाई राखिने अमेरिकी हिरासत केन्द्रबाट छुटेपछि जेम्स पूर्वी लस एन्जलसको बाहिरपट्टिको चिनियाँबाहुल्य नगर मोन्टेरे पार्कमा जे पाइन्छ त्यही काम गर्न थाले। अन्तत: उनले एउटा 'कार्गो भ्यान' किने, पाम स्प्रिङ गए र भ्यानलाई आफ्नो जीविकाको साधन र बासस्थान दुवै बनाए।

भ्यानमा 'स्लिपिङ ब्याग', 'ग्यास क्यानिस्टर' र 'पोर्टेबल चार्जर'जस्ता जीवनमा सन्तुष्ट हुनका निम्ति उनलाई चाहिने सबै सामान छन्। उनी दिउँसोदिउँसो खाना 'डेलिभरी' गर्ने काम गर्छन् र राति चौबीसै घण्टा खुल्ने एउटा जिमखानाअघि भ्यान 'पार्क' गर्छन् र झ्याल खोलेर सुत्छन्।

चीनमा छँदा जेम्स सदैव कामकाजी रहे तर कोभिडले अर्थतन्त्रलाई तहसनहस पारेपछि र राजनीतिक दमनले सास फेर्न गाह्रो पारेपछि त्यहाँबाट हिँड्ने निर्णय गरे।

"यहाँ कमसेकम कडा मेहनतले आशा जन्माउँछ तर चीनमा दिनको दश घण्टा खटिए पनि भविष्य देखिँदैन," जेम्सले मसँग भने।

मोबाइल चलाउँदै गाडी हाँकिरहेका एक व्यक्ति
तस्बिरको क्याप्शन, पश्चिच चीनस्थित चिङ्हाई प्रान्तका जेम्स क्यालिफोर्नियाको पाम स्प्रिङमा खाना 'डेलिभरी' गर्ने गाडी हाँक्छन्

'अर्को चीन बन्दै छ अमेरिका'

त्यति हुँदाहुँदै पनि आशामात्रै पर्याप्त छैन। ट्रम्पको राजनीतिक पुनरागमनले जेम्स र पानसहित अमेरिकी जीवनसँग एक हदसम्म सन्तुष्ट लगभग सबै नवआगन्तुकहरूमा पुन: अस्थितरताको भावना जागृत भएको छ।

दक्षिणी क्यालिफोर्नियामा 'इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट' (आईसीई) को छापामारी, कागजातविहीन आप्रवासीलाई फिर्ता पठाउने ट्रम्पको निरन्तरको धक्का र ट्यारिफको लडाइँसहित अमेरिका-चीनबीच बढ्दो तनावले चिन्ताको माहोललाई झनै गहिरो बनाएको छ।

सन् २०२३ मा पहिलोपटक भेटेका आप्रवासीहरूसँग पुन: जोडिने मेरो कोसिस चल्दै गर्दा आईसीईद्वारा हालै गरिएको कारबाहीलाई लिएर लस एन्जलसमा प्रदर्शनकारी र सरकारी प्रहरी बलबीच झडप भइरहेका थिए।

ती कारबाहीहरू राष्ट्रपतिको "सबैभन्दा ठूलो देशनिकाला अभियान" कार्यान्वयनका हिस्सा थिए जुन प्रतिबद्धताले गत वर्ष उनलाई पुन: ह्वाइट हाउस छिर्न सघाएको थियो। जुनको सुरुआतमा गरिएको सीबीएस न्यूज/यूगभ सर्वेक्षणमा ५४% अमेरिकीले आफू ट्रम्पको देशनिकाला नीतिप्रति सहमत रहेको बताएका थिए।

प्रशासनले प्रारम्भिक कारबाहीमा आपराधिक विगत भएका व्यक्तिहरूलाई लक्षित गरिएको बताए पनि आलोचकहरूले त्यस क्रममा निर्दोष मानिसहरू पनि परेको बताएपछि आप्रवासीहरूमा चिन्ता बढिराखेको छ।

मैले पुन: सम्पर्क गरेका लगभग सबै आप्रवासीहरूसँग अहिले अमेरिकामा वैध रूपमा काम गर्न अनुमति दिने कागजात छ तर उनीहरूलाई आधिकारिक रूपमा शरणार्थीको दर्जा दिइएको छैन। ट्रम्पको विस्तारित छापा अभियानका क्रममा ठ्याक्कै यी आप्रवासीहरूको जस्तो स्थिति भएकाहरूलाई पक्राउ गरिएको थियो।

उक्त कारबाही कहिले चिनियाँ समुदायसम्म पुग्ला वा चीन र अमेरिकाबीचको सम्बन्धमा अर्को समस्या कहिले थपिएला भन्ने अनिश्चित भावना उनीहरूको डरको कारण बनिराखेको छ।

राष्ट्रपतिका रूपमा ट्रम्पको दुई कार्यकालको बीचमा जो बाइडन ह्वाइट हाउसमा छँदा समेत अमेरिका-चीन सम्बन्धमा खासै सुधार भएन। बाइडनले ट्रम्पको अघिल्लो ट्यारिफलाई कायमै राखे र बेइजिङले अमेरिकाको सहयोगी ताइवानविरुद्ध बयानबाजी तीव्र पारेसँगै तनाव चुलियो।

केहीका विचारमा यो चिन्ताले गर्दा धेरै चिनियाँ आप्रवासीको मनमा सुस्तरी एउटा प्रश्न पलाएको छ : के अमेरिकामा बसिरहनु श्रेयस्कर छ?

उमेरले तीसको दशकमा चल्दै गरेका चीनको फुजिआन प्रान्तबाट आएका केभिनलाई अमेरिकामा बसिरहन उचित छैनजस्तो लाग्छ। पान र जेम्सजस्तै केभिन ल्याटिन अमेरिकाको बाटो भएर अमेरिका आएका हुन् तर अमेरिकी जीवनको जुन सपना उनले कुनैबेला देखेका थिए त्यो अहिले भ्रामक महसुस हुन्छ।

उनी अहिले पत्नी र नवजात शिशुसहित क्यालिफोर्नियाको शन ग्याब्रिअल भ्यालीमा बस्छन्। जब मैले उनी कति निश्चिन्त छन् भनेर सोधेँ, लस एन्जलसमा आईसीईले चलाएको कारबाहीको चर्चा गर्दै उनले भने, "सबै कुरा अनिश्चित महसुस हुन्छ। त्यसैले ढुक्क महसुस गर्दिनँ।"

उनको अमेरिका मोह गहिरोसँग भङ्ग भएको छ। "मलाई अमेरिका अर्को चीन बन्दै गएझैँ लाग्छ," उनले भने।

"यस्तो हुन्छ भन्ने थाहा पाएको भए सायद म आउँदै आउँदैनथेँ," उनले अगाडि भने।

सनासोमा परेको अनुभव

लामो समयसम्म यी सबै आप्रवासीहरूलाई खतरनाक बाटोको साझा यात्राले बाँध्थ्यो।

उक्त बन्धनमा अहिले भावनाको नयाँ पत्र थपिएको छ। अमेरिका आएको दुई वर्षपछि उनीहरूले यहाँ आफ्नो स्थान अनिश्चित भएको महसुस गरेका छन्। जुन देश भनेर उनीहरूले सबै थोक दाउमा लगाए, आखिरीमा त्यहाँ उनीहरूका निम्ति ठाउँ नै नहुन पनि सक्ने ठानेका छन्।

चीनबाट आप्रवासनमा जानेहरूको लहर हताश हुनुको परिणाम थियो तर सँगसँगै अमेरिकाबारे यो देशले आफ्ना सबै कमजोरीका बाबजुद अझै पनि सम्मानित जीवनको मौका दिन्छ भन्ने एउटा झन्डै केटाकेटीको जस्तो विश्वास पनि थियो : एउटा 'डेलिभरी'को काम, जमिनको एउटा सानो टुक्रो र रेस्टुराँपछिल्तिरको एउटा ओछ्यान जहाँ राति ढक्ढक्याउन कोही पनि आउँदैन।

यतिबेला ट्रम्प चीनलाई राष्ट्रिय सुरक्षा खतराका रूपमा चित्रित गरिराखेका छन्, "घुसपैठ"विरुद्ध चेतावनी दिँदै चीनसँग जोडिएका कैयौँ कुराहरूमाथि कारबाही चलाउने वाचा गरिराखेका छन् र यसबाट मामुली आशाहरू पहिलेको तुलनामा साँघुरिएका छन्।

यसको असर स्पष्ट छ। चिनियाँ आप्रवासीहरूको यो नयाँ लहरका अधिकांश अझै शरणार्थीको दर्जा प्राप्त गर्ने प्रतीक्षामा छन्, तर अमेरिकीको अविश्वास, बेइजिङको अरुचि र कहिलेकाहीँ अनिर्णीत कानुनी स्थितिले गर्दा सनासोमा परेको महसुस गरिराखेका छन्।

उदाहरणका निम्ति पान अझै खराब स्थितिका निम्ति तयार छन्। "अब यहाँ त्यति सुनिश्चित भविष्य देखिँदैन," बार्स्टोको एउटा रेस्टोराँबाहिर उभिएर धमिलो देखिँदै गएका सडकका गाडीहरूलाई हेर्दै उनले भने, "मलाई यहाँ बस्न अनुमति दिइँदैन कि भनेर चिन्तित छु। यदि म चीन फर्किएँ भने..."

बिस्तारै उनको बोली रोकियो। एकछिनसम्म उनी केही बोलेनन्। त्यसपछि शान्त, स्थिर र निरीह भएर मलाई हेरे।

"त्यो सोच सहिनसक्नुको छ," उनले भने।

यो ठ्याक्कै त्यही भाव थियो जुन मैले कीटोको होटेलको कोठामा देखेको थिएँ : थकित आँखाहरूमा चिन्ता झल्किइरहेको थियो तर त्यसभित्र दृढ सङ्कल्पको भाव थियो।

चाहे जेसुकै होस्, पानले मलाई भनेअनुसार उनी यहीँ बस्नेवाला छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।