नेपालमा बसाइँसराइको अवस्था 'गम्भीर', ३० वर्षपछि यस्तो परिदृश्य हुन सक्छ

- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
राष्ट्रिय जनगणना २०७८ का बसाइँसराइसम्बन्धी पछिल्ला दुई विषयगत प्रतिवेदनले उच्च हिमाली तथा पहाडी क्षेत्रको जनसङ्ख्या उल्लेख्य रूपमा घटिरहेको "गम्भीर अवस्था" देखाएको अधिकारीहरूले बताएका छन्।
तराईबाट समेत काठमाण्डू उपत्यका र पोखराजस्ता पहाडका मुख्य सहरमा बसाइँसराइ हुने अवस्था रहे तापनि अन्यत्र तीव्र रूपमा जनसङ्ख्यामा कमी आएको उक्त प्रतिवेदनले देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछाने उक्त प्रतिवेदनमा विगतमा हुने गरेको हिमाल-पहाडबाट तराईतिर झर्ने प्रवृत्ति कायमै रहे तापनि यसपटक साना सहरबाट ठूला सहरमा जानेजस्ता नयाँ अवस्था थप भएको पाइएको बताउँछन्।
कारणहरू
स्थायी रूपमै थातथलो छाड्नेहरू २९ प्रतिशतजति रहेको पाइएको छ।
असी लाखभन्दा धेरै त्यस्ता मानिसहरू अवसरका लागि एउटा जिल्लाबाट अर्को एवं सानादेखि ठूला सहरसम्म सरिरहेको देखिएको छ।
त्यसको सम्भाव्य कारणहरूबारे लामिछाने भन्छन्, "त्यो शिक्षा तथा स्वास्थ्यको अवसर र रोजगारीजस्ता कारणले गर्दा नै छ।"
२९.२%देशभित्रको स्थायी आन्तरिक बसाइँसराइको दर
३२%पहाडका मानिसहरूले मूलथलो छाडेका छन्
५७.२%देशभित्र बसाइँसराइ गर्नेको पहिलो रोजाई काठमाण्डू जिल्ला पुगेका मानिसहरू
२०%जिल्ला नाघेर स्थायी बसाइसराई गर्नेहरू
५८जिल्लाबाट बाहिरिने धेरै, १८ जिल्लामा थपिने धेरै
अन्तरजिल्ला बसाइँसराइको क्रम बढिरहेका बेला राजधानीका तीनवटै जिल्लामा भने करिब ५० प्रतिशत थप मानिसहरू बसाइँ सरेर थपिएका छन्।
"नेपालमा मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्ग बनिसकेको अवस्था छ। त्यहाँ स्वास्थ्य चौकी र विद्यालयहरू समेत बनिसके पनि त्यो ढिलो हुँदा अहिले तिनै बाटाहरू बसाइँ सरेर अन्यत्र जाने माध्यम बनेका छन्," लामिछाने भन्छन्।

तस्बिर स्रोत, RSS
नेपालको श्रम र आप्रवासनबारे अध्ययन गर्दै आएका अनुसन्धानकर्ता जीवन बानियाँ विकासको बुझाइमा ढिलो स्पष्टता आउँदा सामाजिक संरचना बिथोलिएको ठान्छन्।
"लामो समय हामीले विकास भनेपछि भौतिक पूर्वाधारसँग मात्र जोड्यौँ, जनजीविकासँग त्यसलाई जोड्न सकिएन र बसाइँसराइले यस्तो स्वरूप लियो।"
"कोभिडको समयबाहेक पछिल्ला कैयौँ वर्षदेखि नेपालबाट अन्तर्राष्ट्रिय बसाइँसराइ हुने क्रम निरन्तर बढिरहेको छ। श्रमका लागि मात्र नभएर ठूलो सङ्ख्यामा विद्यार्थीका रूपमा नेपालीहरू बाहिरिरहेका छन्," बानियाँले भने।
समाधानको खोजी
मङ्गलवार सार्वजनिक गरिएका राष्ट्रिय जनगणना २०७८ का पाँच ओटा विषयगत प्रतिवेदन आन्तरिक र अन्तर्राष्ट्रिय बसाइँसराइबाहेक प्रजनन, जनसाङ्ख्यिक लाभ र जनसङ्ख्याको प्रक्षेपणबारे छन्।
यी प्रतिवेदनहरू विश्लेषणात्मक स्वरूपका भएका कारण देखा परेका यस्ता समस्यासँग कसरी जुझ्ने भन्नेबारे समेत सोचिएको बताइएको छ।
"अबको प्राथमिकता खाडीलगायतका देशमा रहेका नेपालीहरूलाई कसरी फिर्ता ल्याउने र उनीहरूको ज्ञान तथा सीप देशका लागि प्रयोग गर्ने भन्नेमा हुनुपर्ने देखिन्छ।"
७.५%जनसङ्ख्या देशबाहिर (८२.२% पुरुष)
तीन चौथाइ+धेरै १५-३४ वर्षको उमेरमा बाहिरिने
गन्तव्य१४% मध्यपूर्वका देशमा, ११% भारत, ३% प्रशान्त महासागरीय क्षेत्र
कारण५९.८% रोजगारी, २०.४ प्रतिशत आश्रित भएर, १४% काम खोज्ने गरी
३४ जिल्लाका झण्डै १०% जनसङ्ख्या विदेशमा
त्यस्तो लक्ष्यका लागि उनीहरूको फर्कने दर बढ्नुपर्ने तथ्याङ्क अधिकारीहरू बताउँछन्। स्वदेश फर्कनेहरूको हिस्सा यतिखेर २५.४ प्रतिशत छ।।
"यो कम नै हो। तर यही हिसाबले पनि खाडी देशहरूमा गएकाहरू क्रमिक रूपमा त फर्कन्छन् नै। युरोप, अमेरिकामा गएकाहरू पनि एउटा समय पुगेपछि फर्कँदा उनीहरूको सीप-क्षमता सदुपयोग गर्न सक्नुपर्ने देखिन्छ।"
विदेश जाने नेपालीहरूमा अझै झन्डै पाँच भागको एक भाग महिलाहरू रहे तापनि पछिल्लो जनगणनाको तुलनामा दुईतिहाइभन्दा धेरैले त्यस्तो सङ्ख्या बढेको यस प्रतिवेदनले देखाएको छ।
प्रवक्ता लामिछाने थप्छन्, "विदेशमा स्थायी बसोबास गर्नेहरूबारे यस प्रतिवेदन मौन रहे तापनि स्थायी बसोबास गर्ने गरी गएकाहरू पनि केही समयपछि फर्कन थाल्छन् भन्ने आकलन छ। त्यसका लागि गैरआवासीय नेपाली नागरिकताजस्ता नीतिगत सरकारी प्रयास फलदायी हुन सक्ने देखिन्छ।"
उता विज्ञ बानियाँ "आन्तरिक रूपमा ठूलै परिवर्तन नगरीकन अहिलेको बसाइँसराइ प्रवृत्ति फेरिन कठिन रहेको" टिप्पणी गर्छन्।
३० वर्षपछिका तीन परिदृश्य
पछिल्लो जनगणना गर्दाको वर्ष अर्थात् २०७८ को ३० वर्षपछि नेपालको जनसङ्ख्या ३ करोड ३५ लाख पुग्ने प्रक्षेपण यस प्रतिवेदनले गरेको छ।
विज्ञ जीवन बानियाँले नेपालको जनसङ्ख्याको आकारमा अझै २० वर्ष जनसाङ्ख्यिक लाभ लिने समय रहेको बताउँदै बिदेसिएका जनसङ्ख्यालाई नेपालमै फिर्ता ल्याउने सोच्दा उनीहरूको उपयोगिताबारे योजना बनाउनुपर्ने बताउँछन्।
"केही नगरीकन युवाहरू देशमै हुनुपर्छ भन्नु भनेको उनीहरूको शारीरिक श्रम खोज्नुबाहेक केही होइन। कस्ता नेपाली जनशक्ति विदेशमा छन् भन्ने बुझ्दै तिनको यहाँ अथवा उनीहरू विदेशमै रहेर देशलाई उपयोगी हुने परिस्थिति दुवै सोच्न सकिन्छ।"
प्रवक्ता लामिछाने अब के गर्नुपर्छ भन्ने गरी ३० वर्षपछिको आकलन प्रतिवेदनमार्फत् दिएको बताउँदै त्यसका लागि तीनवटा सम्भावित परिस्थितिहरू आकलन गरिएको जानकारी दिन्छन्।
पहिलो मध्यम परिदृश्य भनेर औसत आशावादी भएर देश अहिलेकै विकास पथमा जाँदा जन्मदर क्रमशः घट्दै जाने, आयुमा सुधार हुने र बसाइँसराइको क्रम यस्तै नै रहेर सहरीकरण हुँदै जाने ठानिएको छ।
तर त्यस बेला गाउँमा खाली घरहरू भने बढ्ने छन्।
अर्कोतर्फ उच्चतम परिदृश्य भन्दै समृद्ध र दिगो नेपालको परिकल्पना गर्दै तीव्र आर्थिक-सामाजिक विकास भएको अवस्था परिकल्पना गरिएको छ।

तस्बिर स्रोत, EPA
"त्यस बेला बसाइँसराइको दृष्टिमा ससाना नगरहरू सहर हुँदै जाने, ग्रामीण क्षेत्रहरू सहरोन्मुख हुँदै जाने र ती सहर तथा अहिलेका सहरहरूबीचको बसाइँसराइको क्रम स्थिर रहने छ," लामिछानेले भने।
"त्यतिबेला अन्तर्राष्ट्रिय बसाइसराइँ गर्नेहरूको क्रम पनि घट्दै जान थाल्ने छ।"
हालको अवस्थामा भने अझै कैयौँ वर्ष विदेश जाने नेपालीको क्रम बढ्ने देखिएको बताइन्छ।
अर्कोतर्फ निम्न परिदृश्य भनेर अति कम विकसित अहिलेकै जस्तो अवस्थामा नेपाल रहन सक्ने आकलन समेत प्रतिवेदनले गरेको छ।
त्यतिखेर युवाको विदेश पलायन यथावत् रहने, देश रेमिट्यान्समा निर्भर रहिरहने, न्यून आर्थिक वृद्धिदर, वृद्ध जनसङ्ख्याको निरन्तर वृद्धि, बसाइँसराइ एवं श्रम शक्ति निर्यातको अवस्था झनै खराब हुने अवस्था सोचिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








