उच्च जीवनस्तर बिताउने धेरै परिवार राजधानी प्रदेशमा र थोरै कर्णालीमा हुँदा देखिएको 'असमान वितरण'

नेपाली घर परिवारको सम्पन्नताबारे यसै साता सार्वजनिक एक सरकारी जनसाङ्ख्यिक प्रतिवेदनले देशमा जनसङ्ख्याको उच्च असन्तुलन देखाएको अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता हेमराज रेग्मी भन्छन्: "काठमाण्डू, पोखराजस्ता ठूला सहरमा र तराईमा मानिसहरूको बसोबास उच्च छ। कर्णाली, सुदूरपश्चिम लगायतका क्षेत्र र हिमाली भेगमा जनघनत्व कम छ, जनसङ्ख्याको आकार पनि कम छ र स्वाभावैले त्यहाँ सेवा सुविधाको उपलब्धता पनि कम छ।"
दैनिक रूपमा राम्रोसँग भौतिक सेवा सुविधा उपभोग गर्दै उच्च जीवनस्तर हुनेहरू सबैभन्दा धेरै बागमती प्रदेशमा र त्यसपछि गण्डकी प्रदेशमा पाइएका छन्।
जनगणनाको एक पूरक प्रतिवेदन 'पपुलेसन कम्पोजिसन अफ नेपाल'मा सबैभन्दा कम त्यस्तो जीवनस्तर हुनेहरू कर्णाली प्रदेशमा पाइएका छन् भने सुदूरपश्चिम र मधेस प्रदेशको अवस्था पनि कमजोर देखिन्छ।
"देशका सबै भूभागमा सन्तुलित विकास गर्ने हो भने केही भूभागमा अझै विकास पुगेको रहेनछ भन्ने यस विवरणले देखाउँछ," रेग्मी भन्छन्।
"कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा सेवा सुविधामाथिको पहुँच राष्ट्रिय औसतभन्दा निकै कम छ।"
जनगणना २०७८ को विवरण सङ्कलन गर्दा नै प्रत्येक घर-परिवारमा सेवा सुविधामाथिको पहुँचबारे १७ वटा विषयवस्तुसँग सम्बन्धित विवरण लिइएको थियो।
जसले घरपरिवारलाई सेवा सुविधाको पहुँचका आधारमा पाँच भागमा विभाजित गर्दै माथिल्लो २० प्रतिशत घरपरिवारलाई उच्च वर्ग अथवा सम्पन्न वर्गका रूपमा राखिएको हो।
आधार

उक्त विवरण सङ्कलनका लागि राष्ट्रिय जनगणनामा रेडियो, टेलिभिजन, मोबाइल, गाडी, मोटरसाइकल, साइकल, बिजुली पानी, खाना पकाउने चुलो, आधुनिक शौचालय, इन्धनको स्रोत, इन्टरनेट जस्ता झन्डै डेढ दर्जन सेवा सुविधाका आधारमा देशका सबै परिवारलाई पाँच खण्डमा विभाजित गरिएको थियो।
ती सेवा सुविधामाथिको ८० देखि १०० प्रतिशत पहुँच भएको जनसङ्ख्यालाई उच्च वर्ग भनिएको छ भने न्यून वर्ग भनेर २० प्रतिशत मुनिकालाई राखिएको छ।
"यद्यपि यसले धनी, गरिब वा गरिब भए-नभएको परिभाषा दिँदैन। सेवा सुविधा नपुगेको तल्लो वर्ग र सेवा सुविधा पुगेको माथिल्लो वर्ग भन्न सकिन्छ," कार्यालयका उप-प्रमुख तथ्याङ्क अधिकारीसमेत रहेका हेमराज रेग्मीले बीबीसीसँग भने।
"त्यस पक्ष जीवनस्तर सर्वेक्षणले समेटेको हुन्छ जसमा उपभोगदेखि शिक्षा-स्वास्थ्य लगायतका कुराहरू समेत समेटिएका हुन्छन्।"
कहाँ कति सम्पन्न वर्ग?

तस्बिर स्रोत, PRADEEP BASHYAL/BBC
सम्बन्धित प्रदेशको कुल घरपरिवार सङ्ख्यालाई शतप्रतिशत मानेर त्यसलाई उल्लेखित पाँच वर्गमा विभाजन गरेर राष्ट्रिय औसतसँग तुलना गर्दा सबैभन्दा उच्च जीवनस्तर भएका वर्गका परिवारको अनुपात बागमती प्रदेशमा सबैभन्दा धेरै ३८ प्रतिशत पाइएको छ।
त्यसपछि क्रमशः गण्डकीमा २५.६ प्रतिशत, कोशीमा १७.६ प्रतिशत, लुम्बिनीमा १७ प्रतिशत, मधेसमा ८.६ प्रतिशत, सुदूरपश्चिममा ८.४ प्रतिशत र कर्णालीमा ४.२ प्रतिशत छन्।
भौगोलिक क्षेत्रका हिसाबले भने त्यस्ता घरपरिवार पहाडी भेगमा २३.७ प्रतिशत, तराईमा १८.८ प्रतिशत र हिमालमा २.७ प्रतिशत पाइएका छन्।
समग्र देशसँग तुलना गर्दा प्रदेशहरूमा रहेको जनसङ्ख्याको उच्च असन्तुलन देखिएको तथ्याङ्क कार्यालयका प्रवक्ता रेग्मी बताउँछन्।
"तर जनगणनामा झन्डै ६७ लाख परिवारमा पुगेर आम्दानी-खर्चका विषय समेत समावेश गरिएको थिएन। त्यसरी सोध्न सकिँदैन र सोध्नु हुँदैन भन्ने मान्यता राखिन्छ," रेग्मी भन्छन्।
"हामीले सोधेको सेवा-सुविधामाथिको पहुँच मात्र हो। पहुँच पुग्यो भने आम्दानी राम्रो होला भनेर अनुमान गर्न सकिने कुरा मात्र भयो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








