अमेरिकाको लस एन्जलसमा तनावपछि ट्रम्पले पठाए न्याशनल गार्ड

तस्बिर स्रोत, EPA
- Author, रेगन मोरेस र यारोस्लाभ लुकिभ
- Role, प्यारामाउन्ट र लन्डन
आवश्यक कागजपत्र नभएका आप्रवासी खोज्न छापा मार्ने क्रममा अशान्ति फैलिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लस एन्जलसमा २,००० न्याशनल गार्डहरू तैनाथ गर्ने निर्णय गरेका छन्।
स्थानीय समय अनुसार आइतवार बिहानै न्याश्नल गार्डको पहिलो समूह त्यहाँ पुगेको छ।
ट्रम्पका सीमा मामिला हेर्ने अधिकारी (बोर्डर जार) टम होमनले शनिवार फक्स न्यूजसँग भने, "हामी लस एन्जलसलाई सुरक्षित बनाउँछौँ।"
सङ्घीय निकाय इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) का एजेन्टहरूसँग विशेषगरी ल्याटिन अमेरिकी आप्रवासीहरू रहेको बस्तीका मानिसहरूले झडप गरेपछि क्यालिफोर्नियास्थित उक्त सहर शनिवार दोस्रो दिन पनि तनावपूर्ण र अशान्त देखियो।
प्यारामाउन्ट जिल्लामा भिडलाई तितरबितर पार्न अश्रुग्यास र लाठीचार्ज गरिएको थियो।
हालसम्म कति पक्राउ परे?
आईसीईले गरिरहेको कारबाहीका क्रममा एक सातामा लसएन्जलसमा ११८ जनालाई पक्राउ गरिएको छ। त्यसमध्ये शुक्रवार मात्र ४४ जना पक्राउ परेका थिए।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले छापा मार्ने कार्यलाई "क्रूर" भन्दै निन्दा गरेका छन्।
प्यारामाउन्ट अहिले धेरै हदसम्म शान्त भएको छ तर प्रदर्शनकारीहरू र कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीबीच अझै झडपहरू भइरहेका छन्।
त्यहाँको एउटा चर्चित निर्माण सामग्री बिक्री गर्ने चेन स्टोर बाहिर अश्रुग्यास र धुवाँले मुस्लो देखिएको छ। त्यस क्षेत्रमा पहिलो पटक विरोध प्रदर्शन सुरु भएको थियो।
उक्त नगरका काउन्टी शेरिफहरूले प्रदर्शनकारीहरूलाई हटाउन प्रयास गर्दा प्रत्येक केही मिनेटमा फ्ल्याश ब्याङ्ग र अश्रुग्यास प्रहार गरिरहेका छन्।
छिमेकीहरू र प्रदर्शनकारीहरूका अनुसार कैयौँ आप्रवासीहरूले आफ्नै पसलभित्र आफूहरूलाई बन्द गरेर राखेका छन् र बाहिर निस्कन डराइरहेका छन्।

तस्बिर स्रोत, Reuters
ह्वाइट हाउस के भन्छ?
ह्वाइट हाउसले एउटा प्रेस विज्ञप्तिमा भनेको छ, "हालैका दिनहरूमा हिंसात्मक भिडहरूले क्यालिफोर्नियाको लस एन्जलसमा आप्रवासनसम्बन्धी आधारभूत काम गरिरहेका आईसीई अधिकारीहरू र संघीय कानुन कार्यान्वयन एजेन्टहरूमाथि आक्रमण गरेका छन्।"
"संयुक्त राज्य अमेरिकामा अवैध अपराधीहरूको आक्रमण रोक्न र त्यस्तो परिस्थिति उल्टाउन यी काम आवश्यक छन्। यस्तो हिंसात्मक अवस्थाको परिस्थितिमा क्यालिफोर्नियाका अक्षम डेमोक्र्याट नेताहरूले आफ्ना नागरिकहरूको सुरक्षा गर्ने उनीहरूको जिम्मेवारी पूर्ण रूपमा त्यागेका छन्। त्यसैले राष्ट्रपति ट्रम्पले बढ्दो अराजक गतिविधि नियन्त्रण गर्न २,००० न्याशनल गार्डहरू तैनाथ गर्ने राष्ट्रपतीय आदेशमा हस्ताक्षर गर्नुभएको छ।"
ट्रम्पका सीमा मामिला हेर्ने अधिकारी होमनले व्यक्तिगत रूपमा त्यहाँको जारी आईसीईको कारबाही हेर्न लस एन्जलस भ्रमण गरेका थिए।
त्यहाँ बोल्दै उनले भने, "हामी बोल्दै गर्दा थप स्रोतहरू जुटाउँछौँ। हामी आज राति न्याशनल गार्ड ल्याउनेछौँ। हामी हाम्रो काम गरिरहन्छौँ।"
उनले कुनै पनि हिंसा वा निजी सम्पत्तिमा हुने क्षतिप्रति "शून्य सहनशीलता" अपनाइने चेतावनी पनि दिए।

तस्बिर स्रोत, Reuters
सङ्घीय अधिकारीहरूको कडा चेतावनी
एक्समा एउटा पोस्ट गर्दै सङ्घीय जाँच ब्यूरो एफबीआईका उपनिर्देशक ड्यान बन्जिनोले पनि प्रदर्शनकारीहरूलाई चेतावनी दिएका छन्।
उनले लेखेका छन्, "तिमीहरूले अराजकता निम्त्याउँछौँ, हामी हथकडी लगाउँछौँ। कानुन र व्यवस्था कायम रहनेछ।"
उनले आप्रवासी मामिलामा चालिएका कदमहरूमा "अवरोध गरिएपछि" त्यहाँ "धेरै जनालाई गिरफ्तार" गरिएको पनि लेखेका छन्।
रक्षामन्त्री पिट हेगसेथले एक्समा लेख्दै मन्त्रालयले "लस एन्जलसमा सङ्घीय कानुन कार्यान्वयनका लागि तत्काल न्याशनल गार्डलाई परिचालन गरिरहेको" जनाएका छन्।
उनले त्यहाँ हिंसा जारी रहेमा नौसेनालाई पनि खटाइने र उनीहरू उच्च सतर्क अवस्थामा रहेको चेतावनी दिएका छन्।

तस्बिर स्रोत, Reuters
लस एन्जलसका अधिकारी के भन्छन्?
गत शुक्रवार एउटा विज्ञप्तिमा निकाल्दै लस एन्जलसका गभर्नर न्यूजमले भनेका थिए, " गिरफ्तारीको कोटा पूरा गर्न क्यालिफोर्नियाभरि मनोमानी रूपमा जारी अराजक सङ्घीय सफाया एकदमै लापरबाहीपूर्ण र क्रूर छन्।"
"डोनल्ड ट्रम्पको अराजकताले विश्वासलाई ध्वस्त पारिरहेको छ, परिवारहरूलाई टुक्राटुक्रा पारिरहेको छ र अमेरिकाको अर्थतन्त्रलाई ऊर्जा दिने श्रमिक अनि उद्योगहरूलाई ध्वस्त पारिरहेको छ।"
लस एन्जलसकी मेअर करिन बासले त्यसअघि आईसीईलाई अमेरिकाको दोस्रो ठूलो सहरमा "आतङ्क रोप्ने" काम गरेको आरोप लगाएकी थिइन्।
एफबीआई र होमल्यान्ड सेक्युरिटी प्रमुखहरूले मेअरको टिप्पणीले सङ्घीय एजेन्टहरूलाई खतरामा पारिरहेको बताएका छन्।
आप्रवासन अधिकारसम्बन्धी एउटा गठबन्धनको नेतृत्व गर्ने एन्जेलिका सालासले हालै एउटा र्यालीमा भनेकी छन्, "हाम्रो समुदायमाथि आक्रमण भइरहेको छ र उनीहरूलाई आतङ्कित पारिएको छ। उनीहरू श्रमिक हुन्। बुबा हुन्। आमा हुन् र यो रोकिनुपर्छ।"
अमेरिकी राष्ट्रपतिसँग "विद्रोहलाई नियन्त्रण गर्ने" जस्ता केही उद्देश्यका लागि न्याशनल गार्ड तैनाथ गर्ने अधिकार छ।
तर शनिवार क्यालिफोर्नियाका गभर्नरले "क्यालिफोर्नियामा न्याशनल गार्डलाई पठाउने र २,००० सैनिकहरू तैनाथ गर्ने" सङ्घीय सरकारको कदम "जानाजान भड्काउने" र "तनाव बढाउने" खालको भएको बताए।
"लस एन्जलसका अधिकारीहरू एकै छिनको सूचनाका आधारमा कानुन कार्यान्वयन गर्नका लागि सहायता गर्न पुग्ने अवस्थामा छन्," उनले भने।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा गभर्नरलाई उल्टै प्रहार गरेका छन् र उनले यदि न्यूजम र बासले आफ्नो काम गरेनन् भने सङ्घीय सरकारले हस्तक्षेप गर्ने बताएका छन्।
ट्रम्पले "दङगा र लुटपाटको जसरी पनि समाधान गरिनु पर्ने" लेखेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








