सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ

    • Author, हिकमत रावल
    • Role, बीबीसी न्यूज नेपाली

सुदूरपश्चिम प्रदेशमा सरकार गठन प्रक्रियामा लामो समयको विवादपछि अन्तत: मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले शपथ लिएका छन्।

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एउटा खेमाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका सोडारीलाई बिहीवार नै प्रदेश प्रमुख नजिर मियाँले नियुक्त गरेका थिए।

सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि गएको एक सातामा विभिन्न परिदृश्य देखिएको थियो।

अन्तत: व्यक्तिमा विमति जनाउँदै आएको नेकपा एमालेले समर्थन गरेपछि मुख्यमन्त्रीमा उनले दाबी पेश गरेका हुन्।

मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि प्रदेश प्रमुख मियाँले दिएको दोस्रो समयसीमा बिहीवार (आज) साँझ पाँच बजे सकिनुअघि नै सोडारीले आफ्नो दाबी पेश गरेका थिए।

यसैबीच नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षका प्रदेशसभा सदस्यहरूले सोडारीको नियुक्ति प्रक्रियालाई असंवैधानिक भनेका छन्।

पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले बीबीसीसँग भने, "प्रदेशप्रमुखले हिजो पनि असंवैधानिक काम गर्नुभयो र आज पनि असंवैधानिक काम गर्नुभयो। फेरि उहाँ फस्नुभयो। अब हामी यसको कानुनी उपचार खोज्छौँ।"

शाहले नैतिक रूपमा प्रदेशप्रमुखले जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने पनि बताए।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीको रेशमलाल चौधरी पक्षका नेता घनश्याम चौधरीले पनि प्रदेश प्रमुखले गरेको कार्य गैरसंवैधानिक भएको बताए।

अन्तत: एमालेको समर्थन

सोडारीलाई तत्कालीन रूपमा माओवादी र एमाले मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले 'पद अनुसारको आचरण नगरेको' भन्दै पाँच वर्षअघि प्रदेश मन्त्री र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको थियो।

तर पछि पार्टी विभाजन भएपछि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए।

नेकपा एमालेले एकीकृत समाजवादीको नेतृत्व स्वीकार्न सकिने भए पनि व्यक्तिमा भने आपत्ति रहेको बताउँदै आएको थियो।

एमालेले सोडारीलाई समर्थन जनाउनुअघि एमाले नेता प्रदीप ज्ञवालीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन समस्या नभए पनि “सार्वजनिक रूपमा प्रश्न नउठेको व्यक्ति” पठाउन भनिएको प्रतिक्रिया बीबीसीलाई दिएका थिए।।

किन देखियो लामो विवाद?

सरकार गठनमा निर्णयक मानिएको नागरिक उन्मुक्ति पार्टी दुई समूहमा विभाजित बनेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिको विषय अन्यौलपूर्ण बनेको थियो।

गठबन्धन दलहरुबीच सात प्रदेशको मुख्यमन्त्री भागबण्डाका क्रममा सुदूरपश्चिम मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको समाजवादीका नेताहरूले बताउँदै आएका थिए।

तर पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीको कारण केन्द्रीय सत्ता समीकरणमै असर पर्ने देखिएपछि उक्त पार्टीलाई मुख्यमन्त्री दिने नयाँ सहमति भएको थियो।

यसबाट रुष्ट बनेको एकीकृत समाजवादीले कांग्रेसलाई सघाउँदै रेशमलाल खेमाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो।

पछि समर्थन फिर्ता लिँदै एकीकृत समाजवादीले मुख्यमन्त्रीको दाबी गरेको थियो।

सात प्रदेशसभा सदस्यमध्ये नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको पक्षमा रहेका दुई प्रदेशसभा सदस्य एमाले–माओवादी गठबन्धनको पक्षमा उभिएका छन् भने रेशमलाल पक्षका पाँच जनाले सोडारी नेतृत्वको सरकारलाई समर्थन गरेका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।