सुदूरपश्चिम सरकार गठन प्रयासमा देखिएको सत्ता गठबन्धनको कमजोरी

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

सुदूरपश्चिम सरकार गठनको प्रयासमा पछिल्लो एक सातामै अनेक परिदृश्य देखिए।

कुनै बेला विपक्षीलाई सत्तापक्षले साथ दियो त कुनै बेला सत्तापक्षले सत्तापक्षकै साथ पाइरहेको छैन।

त्यसबाहेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टी उक्त प्रदेशमा आधा सत्तापक्ष, आधा प्रतिपक्षजस्तो भएर उभिएको छ।

मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि प्रदेश प्रमुखले दिएको दोस्रो समयसीमा बिहीवार साँझ पाँच बजे सकिँदै छ।

तर नेकपा (एकीकृत समाजवादी) लाई सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले साथ दिइरहेको छैन।

एमालेले एकीकृत समाजवादीलाई मुख्यमन्त्री स्विकार्न समस्या नभएको तर उसले अर्को उम्मेदवार प्रस्तुत गर्नुपर्ने बताइरहँदा एकीकृत समाजवादीले भने आफ्नो दलको निर्णयमा गर्न खोजिएको हस्तक्षेप स्वीकार्य नहुने बताइरहेको छ।

तर राजनीतिक विश्लेषक हरि रोकाले यी घटनाक्रमपछाडि गठबन्धनको भविष्यलाई लिएर एमाले अध्यक्ष केपी ओलीले के सोचिरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण हुने बताउँछन्।

“ओलीले गठबन्धन टिकाउन चाहनुहुन्छ कि हुन्न भन्ने सोचसँग यो कुरा जोडिन्छ। उहाँले आफ्नो पुरानो अडान रहेको मध्यावधिमा लैजाने प्रयत्न गरिरहनु भएको हो कि जस्तो पनि देखिन्छ।”

एमालेको सर्त

एमाले नेता प्रदीप ज्ञवालीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन समस्या नभए पनि “सार्वजनिक रूपमा प्रश्न नउठेको व्यक्ति” पठाउन भनिएको बीबीसीलाई बताए।

“उहाँहरूको नेतृत्व स्वीकार गर्ने विषयमा केही समस्या भएन। केही केही प्रश्न वहाँको बारेमा उठेको भएर त्यही पार्टीले नै उक्त विषयमा पुर्नविचार गर्दा राम्रो हुन्छ।”

एकीकृत समाजवादीले मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेका दीर्घ सोडारीलाई तत्कालीन रूपमा माओवादी र एमाले मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले 'पदअनुसारको आचरण नगरेको' भन्दै पाँच वर्षअघि प्रदेश मन्त्री र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको थियो।

तर पछि पार्टी विभाजन भएपछि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए।

यसै साता मात्र त्यहाँ कांग्रेसले साथ दिएका नागरिक उन्मुक्ति पार्टीका मुख्यमन्त्री दाबेदारतर्फ सोडारी नेतृत्वको एकीकृत समाजवादी संसदीय दल उभिएपछि एमाले झनै चिढिएको बताइन्छ।

केही दिनअघि एमालेका अध्यक्ष ओली माधवकुमार नेपाल नेतृत्वको दललाई 'अराजनीतिक' र 'दक्षिणपन्थी' भन्दै आक्रोशित बनेका थिए।

एकीकृत समाजवादीका प्रवक्ताले भने बीबीसीसँगको हालैको एक कुराकानीमा विश्वासको मत पाएपछि अन्य दलहरूले आफूहरूलाई 'किनारा लगाउन खोजेको' टिप्पणी गरेका थिए।

एकीकृत समाजवादी दृढ

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो दलले मुख्यमन्त्रीमा अर्को नामबारे नसोच्ने र अन्तिम समयसम्ममा एमालेले साथ दिने आशा गरेको बीबीसीलाई बताए।

उनले आफ्ना उम्मेदवारलाई नस्विकार्नु 'दलको स्वतन्त्र निर्णयमाथिको हस्तक्षेप' भएको टिप्पणी गरेका छन्।

“व्यक्तिलाई मुख्यमन्त्री दिइएको होइन, पार्टीलाई हो। पार्टीले कसैलाई लैजाने भन्ने हाम्रो अधिकारको कुरा हो। त्यस्तो प्रस्तावको पक्षमा हामी उभिन सकिँदैन,” खतिवडाले बीबीसीसँग भने।

सोडारी नै आफूहरूको मुख्यमन्त्री उम्मेदवार भएको भनेर सचिवालय बैठकले प्रष्ट पारिसकेकाले त्यसबारे अहिले छलफल समेत नहुने खतिवडा बताउँछन्।

“हामी उम्मेदवार परिवर्तन गर्दैनौँ। अब यही कारणले गठबन्धनमाथि चुनौती सिर्जना भएमा हामी जिम्मेवार हुँदैनौँ।”

उता बुधवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच काठमाण्डूमा भेटघाट हुनुलाई समेत कतिपयले चासोपूर्व हेरिरहेका छन्।

कांग्रेससँग उक्त प्रदेशमा १९ जना सांसद छन्।

सङ्केत

राजनीतिक विश्लेषक हरि रोकाले गठबन्धनमा देखापरेको यस्तो घटनाक्रमले फेरि 'अस्थिरता'को सङ्केत गरेको र गठबन्धनले स्थिरता नपाउने देखाएको बताउँछन्।

तर कांग्रेसले समेत राप्रपासहितका शक्तिलाई समेटेर लोकतान्त्रिक गठबन्धनको औपचारिक पहल नगरिसकेकाले अप्ठ्यारो दुवैतर्फ रहेको रोका बताउँछन्।

रोका भन्छन्, “यो अप्ठ्यारो हुँदा ओलीजीले आफ्नो पुरानो अडान सही थियो भन्न चालेको कदम हो कि भन्ने पनि लाग्छ, तर त्यसको पुष्टि हुन बाँकी छ।”

सुदूरपश्चिम प्रदेशसभामा जम्मा ५३ सदस्य छन् भने एकीकृत समाजवादीका चार। बहुमतका लागि आवश्यक पर्ने २७ सीटमा माओवादी केन्द्रसँग ११ र एमालेसँग १० सीट छ। सात सीट भएको नागरिक उन्मुक्ति पार्टी त्यहाँ निर्णायक हुने अवस्थामा देखिन्छ।

सङ्घीय संसद्‌मा एकीकृत समाजवादीका १० सांसद छन्। पछिल्लो पटक विश्वासको १५७ जना सांसदको विश्वासको मत पाएका प्रचण्डको सरकारलाई एकीकृत समाजवादी बाहिरिइहालेमा समेत तत्काल असर परिहाल्दैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।