एकीकृत समाजवादीले किन गठबन्धनमा बसिरहने 'औचित्य कमजोर भइरहेको' देख्यो?

सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखले दिएको समय सीमा आइतवार सकिँदासमेत मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै तर्फबाट दुई जनाको दाबी परेपछि नियुक्ति अनिर्णीत बनेको छ।

तर त्यसको असर नेकपा (एकीकृत समाजवादी) हुँदै केन्द्रीय सत्ता गठबन्धनसम्ममा देखिएको छ।

माधवकुमार नेपाल नेतृत्वको सो दलले केन्द्रीय रूपमा बनेको सत्ता गठबन्धनले आफूलाई मुख्यमन्त्री नदिएर किनारा लगाउन खोजेको भन्दै सुदूरपश्चिममा कांग्रेससहितको गठबन्धनमा उभिएको छ।

उक्त दलका प्रवक्ता जगन्नाथ खतिवडाले बीबीसीसँग कुरा गर्दै कुनै एक प्रदेशमा आफ्नो दललाई मुख्यमन्त्री सुनिश्चित नगरे गठबन्धनमा बसिरहने औचित्य कम भएर जाने प्रतिक्रिया दिएका छन्।

उनले सुदूरपश्चिमका हकमा गरिएको निर्णय “यथावत् रहने तर गठबन्धनका मुख्य दलहरू जिम्मेवार बनेमा भोलिका दिनका लागि आफूहरू खुला रहेको” समेत बताए।

सत्ता गठबन्धनबाट के धोका भएको हो? भन्ने प्रश्नमा खतिवडाले भने: “विश्वासको मत लिनका निम्ति धेरै बिन्तीभाउ गर्नुभयो, विश्वासको मत प्राप्त गरेपछि किनारा लगाउन खोज्नुभयो। त्यसले हामीलाई निकै ठूलो चोट पुगेको छ।”

तर सत्ता साझेदार नेताहरूकै एकीकृत समाजवादीलाई 'अराजनीतिक' कदम चालेको आरोप लगाउँछन्।

गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार एक कार्यक्रममा बोल्दै एकीकृत समाजवादी 'विपक्षीको आशा पलाउने गरी' कदम चालेको भन्दै आक्रोश व्यक्त गरे।

“आन्तरिक रूपमा त त्यसका बोली व्यवहार, बार्गेनिङ सबै त्यस्तै खालका छँदै थिए, तर हिजो [आइतवार] त्यो बाहिर नै प्रकट भयो।”

प्रतिनिधिसभाको सातौँ ठूलो दल एकीकृत समाजवादीसँग तल्लो सदनमा १० सीट छ र केही प्रदेशमा उक्त दल गणितीय हिसाबले निर्णायक देखिन्छ।

के गठबन्धन धरापमा हो?

मङ्गलवार उक्त दलका एक जना शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले यसै विषयमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए।

जस क्रममा उनले पहिलो चरणमै आफूहरूलाई सुदूरपश्चिमको मुख्यमन्त्री दिने अवस्था नमिलाएमा गठबन्धन सङ्कटमा पर्ने जनाएको खबरहरू आएका छन्।

पार्टी प्रवक्ता खतिवडाले बारम्बार आफूहरूलाई धोका दिइएको भन्दै यस पटक लिखित सहमति चाहिने बताए।

“अब बोलीमा मात्र भर गर्न सक्ने स्थिति रहेन। त्यसैले व्यवहारमा थाहा पाउनका निम्ति कुनै लिखतमा प्याकेजमा सहमति जनाउनु पर्‍यो,” उनले भने।

“अहिलेसम्म त्यस्तो सहमति नभएकाले अन्य छलफलबाट केही निष्कर्ष निस्किएको ठान्नु आवश्यक छैन।”

एकीकृत समाजवादीले बुधवार बोलाएको केन्द्रीय सचिवालयको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ।

एकीकृत समाजवादी देखेका विकल्प

सत्ता गठबन्धनबाट त्यसअघि कुनै निर्णय नगरेमा बुधवार एकीकृत समाजवादीले 'आफ्नो अनुकूलता हेरेर प्रदेशमा छुट्टै गठबन्धन निर्माण गर्ने वा त्यस्तो गठबन्धनलाई सहयोग गर्ने' काममा लाग्ने बताए।

“केन्द्रीय गठबन्धनमै आधारित भएर अगाडि बढ्ने स्थिति कमजोर बन्दै जाँदा त्यसो गर्न हामी बाध्य हुनेछौँ,” प्रवक्ता खतिवडाले भने।

“केन्द्रीय गठबन्धनमा राम्रोसँग अगाडि बढ्ने सोच भएमा मुख्य दलहरूले छिट्टै उपयुक्त प्रकारको सम्झौतामा पुग्न जरुरी छ।”

खतिवडाले गठबन्धनबाट देशका सातमध्ये एक प्रदेशमा आफूहरूलाई मुख्यमन्त्री दिनु श्रेयस्कर हुने टिप्पणी गरे।

“यस विषय सुरुमा वहाँहरूले मान्नुभएको पनि हो तर पछि धोका दिनुभयो। त्यसैले सुदूरपश्चिम, बाग्मती, मधेस वा अन्य कहाँ भनेर वहाँहरूले सोच्ने कुरा हो,” उनले भने।

अन्यथा गठबन्धन छाड्न सकिने सम्मको गम्भीर निर्णय लिने आफूहरूले सोचिरहेको प्रवक्ता खतिवडाले बताए।

“हाम्रो शक्ति, क्षमता र तागत अनुसारको इज्जत, प्रतिष्ठा, सम्मान र मूल्य खोजेको हो। त्यो कुरा वहाँहरूले सुरुमा भए भन्दा पनि बढी हाम्रो महत्त्वलाई प्रकट गर्नुहुन्थ्यो, अहिले भएभन्दा निकै तल झारेर व्यवहार गरिरहनुभएको छ। त्यसकै अन्तर्विरोध अहिले प्रस्तुत भइरहेको छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।