विराट कोहलीको शतकको किन यति धेरै चर्चा भइरहेको छ?

भारत बाङ्ग्लादेश क्रिकेट विश्व कप

तस्बिर स्रोत, Getty Images

    • Author, अभिजीत श्रीवास्तव
    • Role, बीबीसी संवाददाता

विराट कोहलीको दमदार शतक र सम्पूर्ण भारतीय टीमको असाध्यै राम्रो प्रदर्शनपछि भारतले बाङ्ग्लादेशलाई सात विकेटले हराएर वर्ल्ड कपमा लगातार चौथो जित हात पार्‍यो।

बाङ्ग्लादेशले पहिला बलिङ गर्‍यो। सलामी जोडीले ९३ रनको साझेदारी गरे। बाङ्ग्लादेशी नयाँ बलरले पिचमा कदम राखेका मात्र के थिए रवीन्द्र जडेजाले उनलाई फिर्ता जान बाध्य बनाइदिए।

त्यसपछि बाङ्ग्लादेशका सबभन्दा सफल बलर लिटन दासलाई पनि जडेजाले तुरुन्तै फर्काइदिए।

एउटा समयमा ठूलो स्कोर गर्ला कि जस्तो देखिएको बाङ्ग्लादेशको टीम जडेजाले बीचतिर धार लगाइदिएपछि केबल २५६ रन मात्र बनाउन सक्यो।

बाङ्लादेशको त्यो सानो स्कोर र टीम इन्डियाको खेल हेरेर त्यतिबेलै खेल भारतको पक्षमा हुने अनुमान गर्न थालियो।

र रोहित शर्मा, शुभमन गिलपछि पिचमा उत्रिएका विराट कोहलीले त्यसलाई सत्यमा साबित गरिदिए।

विराट कोहलीले दमदार शतक बनाए र 'प्लेयर अफ द म्याच' चुनिए।

कोहलीले जड्डूसँग 'सरी' भने

जब कोहली माइकमा आए उनले सबभन्दा पहिले रवीन्द्र जडेजालाई ‘सरी’ भने। उनले भने, “तपाईँबाट यो (प्लेयर अफ द म्याच) चोरेकोमा माफी चाहन्छु।"

कोहलीले भने, "मेरो सुरुवात निकै राम्रो रह्यो र पिच पनि शानदार थियो। मौका मिल्ने बित्तिकै मैले बाउन्ड्री हानिहालेँ। "

गिलले यही खेलका क्रममा वर्ल्ड कपमा आफ्नो पहिलो अर्धशतक बनाए। त्यस लगत्तै उनी आउट भइहाले।

कप्तान रोहितले पनि जडेजाको बलिङ र फिल्डिङको तारिफ गर्दै "शतक त शतक नै हुन्छ त्यसलाई पछार्न सक्नुहुन्न" भने।

कोहलीको शतकमाथि के चर्चा भइरहेको छ?

क्रिकेट विश्व कप

तस्बिर स्रोत, ANI

रोहित जुन शतकको कुरा गरिरहेका थिए त्यसबारे खेल भइरहेका बेला कमेन्टेटरले पनि चर्चा गरिरहेका थिए। त्यहाँ चाहिँ विराट 'सिङ्गल' रन किन लिइरहेका छैनन् भन्ने कुराकानी भइरहेको थियो।

त्यसबेला विराट ९२ रनमा खेलिरहेका थिए। उनलाई शतकका लागि आठ रन थप्नु थियो। भारतलाई जित्न पनि त्यति नै रन चाहिएको बेला थियो त्यो।

यस्तोमा विराटले कैयौँ मौकामा सिङ्गल रन छोडेको देखिएको थियो।

खेल समाप्त भए पछि सोसल मिडियामा त्यसको चर्चा सुरु भयो। क्रिकेटर म्याथु हेडेन र चेतेश्वर पुजाराले पनि ईएसपीएन क्रिकइन्फोमा यसबारे कुराकानी गरे।

हेडेनले भने, "हामीलाई थाहा थिएन कि नेट रन रेटको पनि महत्त्व हुन्छ।" तर उनले त्यसमा आफूलाई कुनै आपत्ति नभएको पनि बताए।

त्यसबारे चेतेश्वर पुजाराले भने, "सिङ्गल्स नलिँदा टीमलाई असर नपरुन्जेल त ठिकै हो।"

उनले भने, "यदि नक आउटको प्रतिस्पर्धामा नेट रन रेटका कारण तपाईँ पछाडि पर्नुहुन्छ भने त्यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। तपाईँ त्यो ठूलो (शतक) पूरा गर्न चाहनुहुन्छ र टीमले त्यसको मूल्य चुकाउनु नपरोस् भन्ने पनि चाहनुहुन्छ।"

विराटले सिङ्गल्स नलिँदा केएल राहुले के भने?

खेलपछि केएल राहुलले बताए अनुसार विराटले सिङ्गल्स नलिऊन् र आफ्नो शतक पूरा गर्ने कोसिस गरून् भन्ने उनको विचार थियो।

विराटलाई राहुलले त्यस्तो सुझाव दिँदा विराट असमञ्जसको स्थितिमा रहेको उनले बताए।

केएल राहुलले भने, "विराट अलि अन्योलग्रस्त थिए। सिङ्गल्स नलिए नराम्रो होला कि यो त विश्व कप हो। म केवल रेकर्ड बनाउन चाहन्छु भन्ने देखिन चाहन्नँ। त्यसपछि मैले विराटलाई भनेँ, "त्यसो भए म सिङ्गल लिन्नँ।"

ओभरमा कम से कम यस्ता पाँच मौका आएका थिए जब विराटले सिङ्गल्स लिएनन् अथवा भनौँ केएल राहुलले उनलाई सिङ्गल्स लिन दिएनन्।

तर खेलपछि सोसल मिडिया नेटवर्क एक्समा यसबारे #selfish ट्रेन्डिङ हुन थाल्यो।

त्यहीँ एक प्रयोगकर्ताले राहुलको त्यो भिडिओ शेअर गरे जसमा माथि लिएका कुरा केएलले भनिरहेका थिए।

क्रिकेट विश्व कप

तस्बिर स्रोत, Gettey Images

विराटको नयाँ रेकर्ड

विराट कोहलीले १०३ रन बनाए। वर्ल्ड कपमा यो उनको तेस्रो शतक हो जुन आठ वर्ष पछि बनेको छ।

साथै यो एक दिवसीयमा विराटको ४८ औँ शतक पनि हो। उनी अब सचिन तेन्दुलकरको सर्वाधिक शतकको रेकर्डबाट एक कदम मात्र टाढा छन्।

आफ्नो यस पारीको दौरान विराटले विश्वकपमा १२०० रन पूरा गरेका छन्। र क्रिकेटको सबै प्रकारमा सबभन्दा छिटो २६ हजार रन बनाएका बलर पनि बनेका छन्।

विराटले लामो समयपछि विश्वकपमा शतक बनाएका छन्। यो वर्ल्ड कपमा उनको तेस्रो शतक हो। उनी 'प्लेयर अफ द म्याच' पनि चुनिए।

एक दिवसीय खेलमा विराट कोहली प्लेयर अफ द म्याच चुनिएको यो ४०औँ पटक हो। जबकि सचिन तेन्दुलकर ६२ पटक र सनत जयसूर्या ४८ पटक चुनिएका थिए।

बाङ्ग्लादेशको बलिङको क्रममा हार्दिक पड्यालाई चोट लागेपछि त्यस ओभरको बाँकी बचेको तीन बल विराट कोहलीले फ्याँके। त्यो बलिङ विराट कोहलीले एक दिवसीयमा ६ वर्ष पछि गरेको हो।

यो पारीमा विराटले कुनै पनि विकेट लिएनन् तर एक दिवसीयमा उनले चार विकेट लिइसकेका छन्।

विश्वकपमा विराट दोस्रो पटक बलिङ गरिरहेका थिए।

हार्दिक पड्याको चोटमा रोहितले अपडेट दिए

बाङ्ग्लादेशको बलिङको क्रममा नवौँ ओभरमा तेस्रो बलमा बलर लिटन दासले स्ट्रेट ड्राइवबाट चौका बनाए। पड्याले बललाई आफ्नो जुत्ताले रोक्न कोसिस गरे तर त्यसो गर्दा उनलाई चोट लाग्यो।

मैदानमा फिजियोथेरापिस्ट आए र केही कोसिस गरेपछि हार्दिक उठे। हिँड्ने प्रयत्न पनि गरे तर उनले खुट्टा खोच्याएको देखियो।

त्यसको केही समयमै उनलाई खोच्याउँदै खोच्याउँदै मैदान बाहिर लगियो। त्यसपछि हार्दिक मैदानमा फेरि फर्किएनन्।

खेलपछि कप्तान रोहित शर्माले हार्दिक पड्याको चोट कस्तो हो भन्नेबारे शुक्रवारआकलन गरिने बताए।

रोहितले भने, "हार्दिकको चोट अहिले ज्यादा गम्भीर देखिन्न। आशा छ उनी छिटै खेलमा फर्किनेछन्। हामी भोलि एक पटक फेरि उनको चोटको आकलन गर्छौँ र अगाडि के गर्ने निर्णय लिनेछौँ।

बाङ्ग्लादेशको फिक्का प्रदर्शन

भारतले आफ्नो घरेलु मैदानमा २५ वर्षपछि बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गरिरहेको थियो।

दुवै टीमले भारतको सरजमीमा सन् १९९८ मा खेल खेलेका थिए।

यत्रो लामो समयपछि खेलिएको यो खेलमा बाङ्लादेशले टस र सुरुवाती केही ‌ओभर मात्र आफ्नो बनाउन सक्यो।

पहिलो विकेट गिर्ने बित्तिकै भारत यो खेलमा यसरी हाबी भइदियो कि बाङ्ग्लादेश प्रतिस्पर्धामा कतै देखिएन।

दुई देशबीच विश्वकपमा यो पाँचौँ प्रतिस्पर्धा थियो।

पहिलो पटक दुई टोली २००७ को विश्वकपमा भिडेका थिए। पोर्ट अफ स्पेनमा खेलिएको उक्त प्रतिस्पर्धा बाङ्ग्लादेशले जितेको थियो। तर त्यसपछि भारत बाङ्ग्लादेशसँग कहिल्यै हारेको थिएन।

यो प्रतिस्पर्धा बाङ्ग्लादेशको टीमको लागि पनि विश्वकपमा एक रेकर्ड बनायो।

यो मुश्फिकुर रहीमको ३३ औँ विश्वकप खेल थियो। मुश्फिकुर सन् २००७ देखि विश्वकप खेलिरहेका छन्।

अब मुश्फुर रहीम बाङ्लादेशको तर्फबाट सबभन्दा बढी विश्वकप खेल खेल्ने क्रिकेटर बनेका छन्।

'टुर्नामेन्ट'को नम्बर १ टीमसँग छ अबको प्रतिस्पर्धा

विश्वकप क्रिकेट

तस्बिर स्रोत, ANI

अब आउने आइतवार २२ अक्टोबरका दिन भारत यो प्रतियोगिताको सबभन्दा दमदार टीम न्यूजील्यान्डसँग खेल्नेछ।

अङ्क तालिकामा न्यूजील्यान्ड नम्बर १ मा र भारत २ नम्बरमा रहेका छन्।

आफ्नो घरेलु मैदानमा न्यूजील्यान्डको विपक्षमा भारतको एकदिवसीय रेकर्ड असाध्यै राम्रो रहेको छ।

दुवै टीमले अहिलेसम्म ३८ खेल खेलेका छन्। यसमा भारतले करिब ७६ प्रतिशत अर्थात् २९ खेल जितेको छ।

तर एकदिवसीय विश्वकपमा खेलिएका आठ खेलमा न्यूजील्यान्ड पाँच जीत सहित अगाडि छ। पछिल्लो समय दुई टीम २६ वर्ष पहिला विश्वकपमा प्रतिस्पर्धा गर्दा पनि नतिजा न्यूजील्यान्डकै पक्षमा आएको थियो।

अहिले भारतले खेलेका सबै तीन खेल जितेको छ र रोहितको टीम अहिले जसरी खेलिरहेको छ त्यसलाई हराउन सहज नदेखिएको खेल पण्डितहरूले बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।