क्रिकेट वर्ल्ड कप: किन तीव्र गतिको बलिङ भारतको बलियो पक्ष हो?

तस्बिर स्रोत, AFP
- Author, सुरेश मेनन
- Role, खेल संवाददाता
जब भारतले सन् १९८३ मा पहिलोपटक क्रिकेटको विश्व कप जित्यो, भारतका बलरहरू खासगरी अल राउन्डर थिए।
धेरैजसो बलिङ र ब्याटिङ दुवै गर्न सक्छन् भनेर चिनिन्थे तर अहिलेको परिस्थितिसँग तुलना गर्ने हो भने सायद कपिल देवबाहेक अन्यले बलिङका लागि यो टोलीमा पक्कै स्थान पाउने थिएनन्।
त्यतिबेला मदन लाल, रोजर विन्नी, सन्दीप पाटिल, मोहिन्दर अमरनाथ र जम्मा दुईजना विशेषज्ञ मध्यम पेसरहरू बलविन्दर सन्धु र सुनिल वाल्सन थिए।
त्यतिबेला टोलीमा एकमात्रै स्पिनर रवि शास्त्री थिए जसले अन्तिम खेल खेलेनन्।
भारतले उक्त खेलमा ६ जना बलरहरूको प्रयोग गरेको थियो। पाटिलको आवश्यकता परेन। त्यस्तै ओपनर कृष्णमचारी श्रीकान्तको पनि पालो परेन जसले पछि न्यूजील्याण्डविरुद्धको खेलमा आफ्नो अफ स्पिनमार्फत पाँच विकेट लिएका थिए।
अमरनाथको मध्यम गतिको बलिङले उनलाई सेमिफाइनल र फाइनल दुवैमा म्यान अफ द म्याचको उपाधि दिलायो।
तर ४० वर्षअघि, एक दिवसीय क्रिकेट खेलको महत्त्व अलि फरक थियो।
विकेट लिने भन्दा रन बनाउने गतिलाई नियन्त्रण गर्ने तर्फ धेरै ध्यान दिइन्थ्यो।
तर वर्षहरू बित्दै जाँदा भने ब्याटरहरूलाई आउट गर्नमा बढ्ता ध्यान जान थाल्यो किनभने आउट भएपछि तिनले रनै बटुल्ने भएनन्। त्यसैले अचेल विकेट लिनसक्ने बलरहरूको ज्यादा माग छ।
सन् २०११ मा भारतले जितेको विश्व कपमा ब्याटर सचिन तेन्दुलकर, युवराज सिंह, विरेन्दर सेहवाग र सुरेश राइना सबैले बलिङ गर्न सक्थे।
बलिङ सबैले गर्न सक्ने भए पनि फाइनलमा सचिन तेन्दुलकर र युवराज सिंहले मात्रै बलिङ गर्ने मौका पाए। सो खेलमा विराट कोहलीसहित सातजनाले बलिङ गरेका थिए।

तस्बिर स्रोत, AFP
उक्त प्रतियोगितामा १२ सफल बलरहरूमध्ये सात जना मध्यम गतिका थिए। उक्त खेलमा भारतका जहिर खानले पाकिस्तानका लेग स्पिनर शाहिद अफ्रिदीले जस्तै सबैभन्दा धेरै १२ विकेट लिए।
उक्त टोलीमा खानबाहेक एस श्रीसान्थ, मुनफ पटेल, आशिष नेहरा र प्रवीण कुमार मध्यम गतिका बलरहरू थिए भने हरभजन सिंह, पियुष चावला र रविचन्द्रन अश्विन स्पिनरहरू थिए। त्यतिबेला मुख्य ध्यान गतिमा दिइएको थियो र यो वर्ष पनि त्यस्तै होला जस्तो देखिएको छ।
सन् १९८३ का खेलाडीहरू जसरी बलिङ ब्याटिङ सबै गर्नसक्थे अहिले २०२३ का माथिल्लो पङ्क्तिका आधा खेलाडीहरू भने ब्याटिङ्मा मात्र विशेषज्ञता भएकाहरू छन्।
यसो गर्दा तल्लो पङ्क्तिका खेलाडीहरूलाई थोरै अन्याय हुन्छ किनभने बलरहरूले ब्याटिङ पनि गरून् भन्ने अपेक्षा राखिन्छ।
सिद्धान्तत: यो थोरै अवधिका खेलहरूको उद्देश्यका विरुद्ध हुनजान्छ किनभने सबैले सबैथरी गरून् भन्ने अपेक्षा राखिन्छ।
तर जो खेलाडी उपलब्ध छन् तिनैलाई मात्र तपाईँले प्रयोग गर्न सक्नुहुन्छ।
भारतको बलियो पक्ष स्पिन हो कि गति हो?
जसप्रीत बुमराह, मोहम्मद सिराज, मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पान्ड्या खेल्ने निश्चित भएकाले ध्यान गतिमा नै रहेको देखिन्छ।
खास गरी पिठ्युँमा लागेको चोट सञ्चो भएर फर्किएका बुमराहले आफ्नो उच्चतम क्षमतामा खेल्दै छन्।
बुमराह महत्त्वपूर्ण भूमिकामा हुनेछन्। सिराजले एशिया कप फाइनलमा गरेको राम्रो प्रस्तुति पछि अरूभन्दा अगाडि नै उनी टोलीमा पर्नेछन्। र, तेस्रो रोजाइ शामी र ठाकुरका बीचमा हुनेछ।
कस्ता विकेटहरूको तयारी हुँदैछ भन्नेबारे निकै थोरै थाहा छ (सन् २०११ मा यो प्रतियोगिता मार्च एप्रिलमा खेलिएको थियो)। तर शुरुमा तीव्र गतिका बलरहरूको महत्त्वपूर्ण भूमिका हुनेछ भनेर अनुमान गर्न सकिन्छ।

तस्बिर स्रोत, AFP
अलि धेरै खेलहरू खेलिएपछि बल्ल स्पिन गर्नेलाई सघाउ पुग्न सक्छ। फेरि शीत पर्ने अवस्थाको पनि विचार गर्नुपर्छ किनभने त्यसबाट दोस्रो इनिङ्मा बलिङ गर्ने टोलीको स्पिन प्रभावित हुन सक्छ।
खेलहरू दिउँसो २ बजे शुरू हुनेछन्। त्यसैले रङ्गशालामा बत्ती बाल्नु अघिको छोटो मौका हुनेछ मध्यम गतिका बलरहरूलाई बल स्वीङ् गराउन। त्यसैले यो सबै सन्तुलनमा भर पर्छ। तपाईँलाई सबै परिस्थितिमा जम्ने बलिङ आवश्यक पर्छ।
र भारतसँग त्यही छ।
कुलदीप यादव अहिलेको अवस्थामा ओडीआईमा एक प्रमुख स्पिनरका रूपमा उदाएका छन्। यदि अन्तिम टोलीमा अश्विन परे भने भारतसँग स्पिनको पनि बलियो मिश्रण हुनेछ किनभने रवीन्द्र जडेजासहित गरेर भारतसँग तीन जना स्पिनरहरू हुनेछन्। अक्षर पटेलको स्वास्थ्यबारे पनि ध्यान राख्नुपर्ने हुन्छ। तर यदि अश्विन आए भने त्यसले चिन्ता घटाउनेछ।

तस्बिर स्रोत, AFP
इङ्ग्ल्यान्डसँग मार्क वुड, क्रिश वोक्स, रिस टप्ली, डेभिड विली, स्याम कुरान जस्ता खेलाडी छन्। अस्ट्रेलियासँग मिचेल स्टार्क, जोश हेजलवुड, प्याट कमिन्स र मार्कस स्टोइनिस र क्यामरन ग्रीन छन्।
नसीम शाह घाइते भए पनि पाकिस्तानसँग शाहीन अफ्रिदी, हरिस राउफ, हसन अलि र मोहम्मद वासिम जस्ता आकर्षक खेलाडी छन्।
यसपालिको विश्वकपलाई तीव्र गतिको बलरहरूबीचको लडाईँको रूपमा हेर्न मन लाग्न सक्ला। त्यसो हो भने भारत राम्रो अवस्थामा छ – पहिलो विश्वकपमा भारतको विजयपश्चात् यो टोलीमा आएको सबभन्दा नाटकीय परिवर्तन पनि यही हो।
(खेल लेखक सुरेश मेननले सचिन तेन्दुलकर र विशन वेदीमाथि पुस्तक लेखेका छन्)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








