मेलम्चीको नयाँ 'हेडवर्क्स' कति सुरक्षित ठाउँमा छ?

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

सरकारले नयाँ ठाउँमा सार्ने निर्णय गरेको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स भनिने खोलाको पानीलाई सुरुङ्भित्र पसाउन बनाइने संरचना अझैपनि जोखिममुक्त क्षेत्रमा नरहेको स्थानीय सरकारका प्रमुखले बताएका छन्।

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा पर्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले सरकारले प्रस्ताव गरेको नयाँ ठाउँ सुरक्षित हुनेबारे आफूहरूलाई विश्वस्त बनाउन नसकेको बताए। ह्योल्मो मेलम्ची खानेपानी विकास समितिका सदस्य समेत हुन्।

तर मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले नयाँ ठाउँमा सारिएपछि हेडवर्क्स सुरक्षित हुने र त्यहाँबाट बाह्रै महिना मेलम्चीको पानी राजधानी ल्याउन सकिने दाबी गरे।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स नयाँ ठाउँमा सार्ने निर्णय गरेको थियो।

विसं २०७८ सालको बर्खामा आएको बाढीले त्यही वर्षबाट सञ्चालनमा आएको आयोजनाको हेडवर्क्समा क्षति पुर्‍याएपछि नयाँ ठाउँमा त्यसलाई सार्नेबारे अध्ययन भएका थिए।

एशियाली विकास ब्याङ्कले क्यानडाली परामर्श दातामार्फत् गराएको अध्ययनमा यसअघिको भन्दा करिब एक किलोमिटर माथि हेडवर्क्स संरचना बनाउन सुझाव दिइएको थियो। सरकारले पुल्चोक स्थित इन्जिनिअरिङ क्याम्पसका प्राध्यापकहरूलाई उक्त सिफारिस ठिक भए वा नभएकोबारे पिअर रिभ्यू भनिने समीक्षा गर्न लगाएको थियो।

“उहाँहरूले पनि परामर्शदाताले दिएको प्रतिवेदन अनुसार नै सार्नुपर्छ भनेपछि हामीले पुरानो हेडवर्क्स भन्दा माथि एक किलोमिटरभित्र सार्ने प्रक्रिया अघि बढाएका हौँ,” मेलम्ची खानेपानी विकास समितिका लामिछानेले भने।

उनका अनुसार नयाँ हेडवर्क्स अहिलेको भन्दा करिब ८०० देखि ९०० मिटर माथि सार्ने सम्भावना छ। त्यसका लागि उपयुक्त ठाउँको खोजी भइरहेको उनले बताए।

प्रस्तावित स्थलमा के फरक छ

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लामिछाने नयाँ ठाउँमा सारेर सुरक्षित बनाउन यसअघिको भन्दा फरक किसिमको संरचना तयार गर्न लागिएको बताउँछन्।

“यसअघिको जस्तो खोलानै थुनेर बनाइएको बाँधको ठाउँमा अब खोलाको छेउमा पानी थुन्ने संरचना बनाउँछौँ र सुरुङभित्र नै हेडवर्क्सका सबै संरचनाहरू बनाउँछौँ,” लामिछानेले बीबीसी न्यूज नेपालीसँग भने।

“साइड इन्टेक बनाउँदा खोलामा बाढीको दबाव भएको समयमा पनि बाँध भत्काउने जोखिम हुँदैन।”

सुरुङभित्रै हेडवर्क्सका संरचना बनाउँदा काठमाण्डूमा पानी ल्याउने सुरुङ ८०० देखि ९०० मिटर लामो हुने र पानी दीर्घकालीन रूपमा ल्याउन सकिने विकास समितिको दाबी छ।

“अहिले भएका भन्दा ठूला भवितव्य आएनन् भने बाह्रै महिना काठमाण्डूमा पानी ल्याउन सकिन्छ भन्ने परामर्शदाताको प्रतिवेदन छ र हामीले त्यही अनुसार नै काम गर्छौँ,” उनले भने।

पुरानो स्थलमा भीषण बाढीले ढुङ्गामाटो थुपारेको र आसपासको क्षेत्रमा बाढीले पहाडी संरचना खियाएर पहिरोको जोखिम बढाएको विज्ञहरू बताउँछन्।

त्यसलाई पुन: सञ्चालन गर्न नदीमा ५०० मिटर तलबाटै बाँध बाँधेर ल्याउनुपर्ने अवस्था रहेको बताइन्छ।

साथै सो स्थानको पारिपट्टि रहेको पहिरो रोकथामका लागि समेत लगानी गर्नुपर्ने अवस्था रहेको लामिछानेले बताए। त्यति गर्दा पनि बाह्रै महिना मेलम्चीको पानी काठमाण्डू ल्याउन चुनौती रहेको उनले बताए।

स्थानीय सरकारका प्रमुखको आशङ्का

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो प्रस्तावित नयाँ स्थल पनि सुरक्षित ठाउँमा नभएकोबारे आफूहरूले जानकारी गराए पनि सुनुवाइ नभएको बताउँछन्।

“अहिलेको भन्दा अब सार्न लागिएको ठाउँमा ठूलो जोखिम छ। त्यहाँ झन् चारैतिर पहिरो आउने ठाउँ छ,” ह्योल्मोले बीबीसी न्यूज नेपालीसँग भने।

“एशियाली विकास ब्याङ्कले दिएको ठाउँमा हामीले एक पटक पनि पुगेर नहेरी ठिक छ भन्यौँ। म आफैँ विकास समितिमा भए पनि त्यहाँ यसबारे छलफल गरिएन।”

उनले आफू सहितका स्थानीयले प्रस्तावित नयाँ स्थल उचित नभएकोबारे ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए।

“नयाँ ठाउँ के कारणले सुरक्षित छ भनेर हामीलाई उहाँहरूले बुझाउन सक्नुभएको छैन,” उनले भने।

“अर्बौँ खर्च गरेर नयाँ ठाउँमा सारेपछि बाह्रै महिना पानी आउँछ र सुरक्षित हुन्छ भनेर उहाँहरूले जिम्मा लिन सक्नुहुन्छ?”

नयाँ स्थल सुरक्षित हुने आधार के छ?

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लामिछाने भने अब हेडवर्क्सका संरचना बनाइने स्थल सुरक्षित रहेको दाबी गर्छन्।

“उहाँहरूले भनेजस्तो जोखिम त्यहाँ छैन। परामर्शदाताले त्यहाँको भौगर्भिक अध्ययन पनि गरेर प्रतिवेदन दिएको छ,” उनले भने।

“नयाँ स्थलको वारिपारि दुवैतर्फ चट्टान छ। पारिपट्टि बाहिर हेर्दा पहिरो जस्तो देखिएका कारण उहाँहरूलाई त्यस्तो लागेको हुनसक्छ तर भित्रपट्टि ५० मिटरसम्म चट्टान भएको भौगर्भिक अध्ययनमा देखिएको छ।”

भविष्यमा आउनसक्ने बाढीबाट सो स्थलमा हुनसक्ने जोखिम कम गर्न खोलामा ठूलो बाँध नबनाइने विकास समितिको भनाइ छ।

“छेउमा सानो सुरुङबाट भित्र ठूलो सुरुङभित्र नै गेग्र्यानहरू छान्ने संरचना बनाउँछौ। पानीलाई हामीले स्वचालित प्रणालीबाट सुरुङमा हाल्ने व्यवस्था मिलाउँछौँ। सेन्सरहरू जडान गरेर पानी निश्चित भन्दा धेरै धमिलो भयो भने आफैँ सुरुङ बन्द हुने व्यवस्था हुन्छ, त्यसो हुँदा सुरुङ र मुहानमा क्षति हुँदैन,” उनले भने।

समय र खर्च कति लाग्छ

आयोजनाका अनुसार नयाँ हेडवर्क्स बनाएर स्थायी रूपमा मेलम्चीको पानी काठमाण्डू ल्याउने संरचना तयार गर्न अझै करिब चार वर्ष समय र तीन अर्ब रुपैयाँ भन्दा धेरै खर्च लाग्नसक्छ।

हेडवर्क्स सार्न लाग्ने खर्चका लागि एशियाली विकास ब्याङ्कले नेपाललाई एक करोड ८० लाख डलर (२ अर्ब ४१ करोड रुपैयाँ) ऋण दिने भएको छ। त्यस्तो खर्च काठमाण्डूमा वितरण हुने पानीबाट केही वर्षमै उठ्ने आकलन गरिएको अधिकारीहरू बताउँछन्।

“अहिले काठमाण्डूमा दैनिक चार करोड देखि पाँच करोड ट्याङ्करको पानी किन्न खर्च भइरहेको छ। त्यस हिसाबले हेर्दा त हेडवर्क्स सार्ने खर्च त एक डेढ वर्षमै उठ्छ,” लामिछाने भन्छन्।

आयोजनाका अनुसार अहिले मेलम्चीदेखि सुन्दरीजलसम्म बनाइएको सुरुङको लम्बाई २६ किलोमिटर छ। अब मेलम्चीको सुरुङ करिब एक किलोमिटर थपिनेछ।

“एक वर्ष थप विस्तृत डिजाइनका लागि समय लाग्नसक्छ। त्यसपछि काम सुरु भएर सबै काम सक्न चार वर्षसम्म लाग्नसक्छ,” लामिछानेले भने।

“त्यसको खर्च चाहिँ तीन देखि साढे तीन अर्बको प्रारम्भिक अनुमान छ। पूर्ण डिजाइन तयार भएपछि खर्च कति लाग्छ भन्ने तय हुन्छ।”

काठमाण्डूको तिर्खा मेट्ने आयोजनाका रूपमा चर्चा गरिएको मेलम्ची खानेपानी आयोजना सुरु भएको २३ वर्ष भइसकेको छ।

आयोजनाका लागि हालसम्म करिब ६० अर्ब खर्च भइसकेको अधिकारीहरू बताउँछन्। मेलम्ची खानेपानी विकास समितिले सुरुङ, त्यसका लागि आवश्यक सडक र अन्य पूर्वाधार निर्माणका लागि ३० अर्ब ६५ करोड खर्च गरिसकेको छ।

त्यसका अतिरिक्त काठमाण्डू उपत्यकाभित्र वितरण सञ्जाल र पानी पोखरी निर्माणका लागि थप ३० अर्ब खर्च भएको छ।

अस्थायी संरचना बनाएर हिउँद याममा मेलम्चीको पानी काठमाण्डूमा ल्याउन यसबीचमा थप खर्चहरू भएका छन्। तर त्यसरी ल्याइएको पानी पनि बर्खायाममा काठमाण्डूबासीले पिउन पाएका छैनन्।

काठमाण्डू आउने पानीको मात्रामा असर पर्छ?

नयाँ ठाउँमा मुहान सार्दा पनि मेलम्ची खोलाबाट काठमाण्डूमा ल्याइने पानीको मात्रामा फरक नपर्ने दाबी गरिएको छ।

मेलम्ची आयोजनाबाट प्रतिसेकेन्ड २,००० लिटरका दरले पानी काठमाण्डू ल्याइने र प्रतिदिन १७ करोड लिटर पानी काठमाण्डू ल्याउन सकिने बताइएको छ। वर्षायाममा यो आयोजनाबाट दैनिक २५ करोड लिटरसम्म पानी काठमाण्डू ल्याउन सकिने दाबी गरिएको छ।

काठमाण्डू उपत्यकामा दैनिक ४२ करोड लिटर खानेपानीको माग रहेको काठमाण्डू उपत्यका खानेपानी बोर्डले जनाएको छ।

त्यसमध्ये अहिले दैनिक १० करोड लिटरसम्म खानेपानी मेलम्ची बाहेकका खोला तथा मुहान र भूमिगत स्रोतबाट आपूर्ति हुँदै आएको छ।

मेलम्चीको पानी आउँदा त्यसमा १७ करोड लिटर थपिएर दैनिक २७ करोड लिटरसम्म खानेपानी उपलब्ध हुन्छ।

मेलम्चीको खानेपानी आपूर्तिका लागि सुन्दरीजलमा बनाइएका संरचनाकै प्रयोग गरेर बाग्मती खोलाबाट दैनिक सात करोड लिटर पानी उपत्यकामा आपूर्ति हुँदै आएको छ।

बाग्मतीको पानी कम हुने हिउँदयाममा अस्थायी संरचना बनाएर मेलम्चीको पानी काठमाण्डू ल्याइँदै आइएको छ।

मेलम्ची: लामो इतिहास सङ्क्षेपमा

विसं २०२९: खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन

विसं २०४१: मेलम्चीसहित २२ विकल्प पहिचान

विसं २०४९: याङ्ग्री र लार्केसमेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर

विसं २०५५: मेलम्ची खानेपानी विकास समिति गठन भइ निरन्तर काम जारी

विसं २०६४: नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गर्दै ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। आयोजनालाई दुई भागमा विभाजन - मुख्य पानी पथान्तरणको काम विकास समिति र वितरण तथा व्यवस्थापन कार्य आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय

विसं २०७७ फागुन २२: सुन्दरीजलमा पानी झारियो

विसं २०७७ चैत १५: पानी परीक्षण वितरण स्वरूप उपत्यकावासीको धारामा

विसं २०७७ चैत २०: राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन

विसं २०७८ असार पहिलो साता: बाढीबाट ठूलो क्षति

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।