नेपाल हैजा: जारको पानी कति सुरक्षित, हैजा फैलिन नदिन के गरिँदै छ

काठमाण्डू उपत्यकामा अहिलेसम्म १४ जनामा हैजा पुष्टि भएको छ भने गम्भीर किसिमको झाडापखाला भएर अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढिरहेको बताइन्छ। उपत्यकामा हैजा फैलिने जोखिम बढेपछि सरकारले विभिन्न माध्यममार्फत् सर्वसाधारण मानिसलाई खानेपानीबारे सजग रहन आग्रह गरेको छ।

"हैजा देखिएकामध्ये १२ बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने दुई जना अझै अस्पतालमै छन्," इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बीबीसीसँग बिहीवार बिहान भने।

डा. दासका अनुसार थप दुई सन्दिग्ध बिरामी पनि अस्पतालमा छन्।

"सबै जनाले सचेत रहनुपर्छ र रोगबाट बच्ने उपायहरू अपनाउनुपर्छ," उनले भने।

कसरी पानी पिउने?

हैजा वा झाडापखाला लाग्नबाट बच्न पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा तीन थोपा तरल क्लोरिन मिसाएर मात्रै पिउन विज्ञहरूले सुझाव दिएका छन्।

तर उपत्यकावासीले धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानी सुरक्षित मानेर नउमाली पिउने गरेको पाइएको छ।

विशेषगरी जार र बोतलको पानी परीक्षण गरिने विश्वास रहेकाले धेरै मानिसले नउमाली पिउने गरेको पाइएको काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कायममुकायम उपकार्यकारी अधिकृत ज्ञानेन्द्र कार्की बताउँछन्।

"केयूकेएलले वितरण गर्ने पानी धाराबाट आउने भएकाले धेरैले त्यसलाई प्रशोधन र परीक्षण गरिएको छ भन्ने ठान्दैनन् र तताएर पिउँछन्। तर जारको पानी सबै ढुक्कसँग नउमाली पिउँछन्," उनले भने।

"हैजाको जीवाणु देखिएको सन्दर्भमा सर्वसाधारण मानिले पनि सबै किसिमको पानी तताएर मात्र पिउनुपर्‍यो। सम्बन्धित निकायले पानी उद्योग अनुगमन र त्यहाँबाट वितरण गरिने पानीको गुणस्तर जाँच गर्नु पर्छ," उनले भने।

पानीको जाँच कसले र कहिले गर्छन्?

केयूकेएलले वितरण गर्ने धाराको पानी वितरण गर्नुअघि त्यसको गुणस्तर जाँच गरिन्छ। प्रशोधनपछि पिउन योग्य बनाइने भनिएको पानीमा क्लोरिन, कोलिफर्म र ई. कोलाई नामक ब्याक्टेरियाको मात्रा परीक्षण गरिने जानकारी कार्कीले दिए।

"बोडे, बाँसबारी र महाङ्कालमा गरी हाम्रा तीनवटा प्रयोगशाला छन्। हामीले वितरण गर्ने पानी प्रशोधन गर्नुअघि र पठाउनुअघि जाँच गर्छौँ। त्यो पिउन योग्य छ भने मात्र वितरण गर्छौँ," उनले भने।

पिउने पानीमा प्रतिलिटर ०.१ देखि ०.२ मिलिग्राम क्लोरिन छ भने त्यो पिउन योग्य हुन्छ।

पानीमा रोग लगाउन सक्ने पदार्थ रहेको सङ्केत गर्ने जीव र कोलिफर्मको पनि जाँच हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पानीमा ० देखि १ कोलिफर्म छ भने त्यो पानी पिउन योग्य मानिन्छ। एकदेखि तीन वटा छन् भने ठिकै, चारदेखि नौ भए सन्दिग्ध र १० भन्दा बढी भए पिउन अयोग्य ठहरिन्छ।

ई. कोलाई मानव मलमूत्रमा हुने जीवाणु हो। यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ।

त्यसैले यो पुष्टि भएको खण्डमा पानी पिउन अयोग्य हुन्छ।

"जाँच गर्दा यी सबैको मात्रा मापदण्डअनुरूप भयो भने मात्र हामीले त्यसलाई सेवाग्राहीसम्म पठाउने हो। तर हामीले पानी पठाउन प्रयोग गर्ने प्रणालीहरू पुराना भएको र त्यसमा भएका चिरामार्फत् फोहोर पस्ने सम्भावना रहन्छ," उनले भने।

त्यसैले कसैको धाराबाट फोहोर पानी आएको गुनासो आएमा त्यसको जाँच र त्यहाँसम्म जडित संरचना मर्मतसम्भारमा जोड दिएको कार्कीको दाबी छ।

बाहिरको पानी जाँचेको शुल्क कति?

केयूकेएलले वितरण गर्नेबाहेक अन्य पानीको गुण ४९५ रुपैयाँ बुझाएर जाँच गर्न पाइन्छ।

त्यहीँको प्रयोगशालामा पानी फिजिओकेमिकल परीक्षण गरिन्छ। त्यसबाहेक कोलिफर्म र ई. कोलाई जाँच गर्नुपरे अलग शुल्क लाग्ने कार्कीले बताए।

"तर पानीको हकमा आज जाँच गरे भोलि नै त्यहाँ अन्य पदार्थ मिसिन सक्छ। त्यसैले हैजाको सम्भावना रहेको अवस्थामा जाँचसँगै सर्वसाधारण मानिस सचेत रहनुपर्ने देखिन्छ," उनले भने।

साथै अनुमतिपत्र नलिए पानी उद्योग सञ्चालन गर्नेदेखि अनुमतिपत्र लिएपनि मापदण्डअनुरूप काम नगर्नेहरूलाई कारबाही हुनुपर्ने उनी बताउँछन्।

जारको पानी कसले हेर्छ

प्रशोधित भनिने जारको पानीको गुणस्तर र स्वच्छता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्छ।

पानी उद्योगबाट वितरण हुने पानीको जाँचपछि मात्र त्यस उद्योगलाई अनुमतिपत्र दिइने विभागका प्रवक्ता मोहनकृष्ण महर्जन बताउँछन्।

उनका अनुसार ती उद्योगको पानीको गुणस्तर चार-चार महिनामा जाँच गर्ने नियम छ। त्यसबाहेक छड्के जाँच वा अन्य अनुगमन समेत गरिने उनले बताए।

"हैजाको जोखिम बढेपछि हामीले छड्के जाँच र अनुगमनलाई केही तीव्र बनाएका छौँ। विभागबाट दुईवटा समूह दैनिक रूपमा निरीक्षणका लागि निस्किएका छन्," उनले भने।

"केही उद्योगलाई मापदण्डविपरीत काम गरेकाले आवश्यक कदम अघि बढाएका छौँ। काठमाण्डूका केही उद्योगमा खानेपानीका पुराना जारहरू नष्ट समेत गर्‍यौँ।"

विभागअन्तर्गत काठमाण्डूमा ३०० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्। त्यसबाहेक थप क्षेत्रगत पानी उद्योगहरू झन्डै २०० वटा रहेको उनले बताए।

गुणस्तरहीन र मापदण्डविपरीत पानी विक्री वितरण गर्नेहरूलाई ५०,००० रुपैयाँ वा पाँच वर्षको कैद वा दुवै हुन सक्ने प्रावधान छ।

अन्य निरीक्षण कसरी हुन्छ

उक्त विभागले नै सडकमा बेचिने साथै होटल र रेस्टुराँहरूको खानाको गुणस्तर जाँच गरिरहेको छ। सूक्ष्मजीवका कारण सङ्क्रामक रोग देखिएकाले खानेकुराको गुणस्तर र त्यसमा प्रयोग हुने सामग्रीबारे निरीक्षण सुरु गरेको श्रेष्ठको भनाइ छ।

"दूषित पानी र खानाबाटै झाडापखाला वा हैजा फैलिने भएकाले हामीले सक्रिय रूपमा त्यस्ता पानी र खाना बेच्न रोक लगाउँछौँ। हामीले गुणस्तर सुधारका निम्ति चेतावनी दिने र आवश्यक परेमा कारबाही अघि बढाउँछौँ," उनले भने।

होटल तथा रेस्टुराँहरूमा अनुगमन स्थानीय तहको अधिकार क्षेत्र भए पनि तत्काल स्थानीय तहहरू यस सन्दर्भमा सबल नभइसकेकाले विभागले नै जिम्मेवारी वहन गरेको समेत जानकारी दिए।

पानीपुरी र चटपटेमा रोक किन

हैजा फैलिन नदिन भन्दै ललितपुर महानगरपालिकाले पानीपुरी र चटपटेमा रोक लगाएको थियो। त्यस्ता खानामा दूषित पानीको प्रयोग भएको पाइएकाले नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनमा केही समयका लागि त्यस्ता खानेकुरा बेच्न नदिने निर्णय भएको हो।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने,"दूषित पानी नै हैजाको प्रमुख कारण हो। त्यस्तो पानीले पानीपुरीलाई अखाद्य बनाउनुका साथै त्यसमा हैजाको जीवाणु भेटिने सम्भावना रहन्छ।"

काठमाण्डू महानगरपालिकाले पनि मङ्गलवारदेखि सडकमा खानेकुरा बेच्न राख्न प्रतिबन्ध लगाएको छ।

महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सडक छेउछाउ राखिने खानाका स्टलहरूलाई प्रतिबन्ध गर्न लागिएको हो।

"जीवाणु फैलिन नदिन पानीको प्रयोग हुने खानेकुराहरू खुला ठाउँमा नराख्न निर्देशन दिन्छौँ।"

हैजाका बिरामीको उपचार कहाँ

ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हैजाका बिरामीको उपचार गर्ने अस्पताल तोकेको छ। अन्यत्र उपचार हुन नसकेका बिरामी त्यहाँ उपचार गर्न सक्नेगरी तयारी भएको अस्पतालका निर्देशक रवि शाक्यले बीबीसीसँग बताए।

"आवश्यक परे जनशक्तिलाई तालिम दिने वा अन्य अस्पताललाई सहयोग समेत गर्छौँ।"

अहिले अस्पतालमा दैनिक १० देखि १२ जना गम्भीर किसिमको झाडापखालाका बिरामी आइरहेको उनले जानकारी दिए।

"उहाँहरू सबैमा हैजाको सम्भावना रहेकाले स्क्रीनिङ गराउँछौँ," उनले भने।

अहिले उक्त अस्पतालमा हैजाका बिरामीको लागि आठवटा मात्र शय्या छुट्ट्याइएको भएपनि उल्लेख्य सङ्ख्यामा अस्थायी शय्याहरू तयार रहेको शाक्यले बताए।

अरू के हुँदैछ

काठमाण्डू महानगरपालिकाले हैजासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिरहेको छ। नगरपालिकाको रेडिओ, हाम्रो काठमाण्डू नामक टीभी कार्यक्रम र सामाजिक सञ्जालमार्फत् श्रव्यदृश्य सामग्री प्रसारण गरिरहेको त्रिपाठीले बताए।

त्यस्तै टोलटोलमा माइकिङ र विद्यालयस्तरमा हैजाका कारण, लक्षण, जोगिने उपाय र उपचारविधिहरूबारे बुझाइरहेको बताइन्छ।

"एकजना विद्यार्थीले पाएको जानकारी परिवार, छरछिमेक हुँदै समाजसम्म पुग्छ। त्यसैले त्यहीँबाट सचेतना सुरु गरेका छौँ," उनले भने।

त्यस्तै सोमवारबाटै महानगरपालिकाले हटलाइन समेत सञ्चालनमा ल्याएको छ। ११८० नम्बरमा सम्पर्क गरेर मानिसहरूले हैजा पुष्टि भएको सङ्ख्या, यसबाट बच्ने उपायबारे पनि जानकारी लिन थालेको महानगरको भनाइ छ।

केयूकेएलले स्थानीय तहहरूको समन्वयनमा सुकुम्वासी बस्ती र कम आय भएका परिवारहरूलाई पानी शुद्धीकरण गर्ने रसायन वितरण गरिरहेको छ। काठमाण्डू महानगरपालिकाले पनि पीयूष र पुनर्जलीय झोल बनाउने सामग्री वितरणका लागि तयारी अवस्थामा राखेको बताइएको छ।