तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल हैजा: के बाटोमा पानीपुरी र चटपटे बेच्न रोक्दा मात्रै हैजा र झाडापखाला नियन्त्रणमा आउँछ
काठमाण्डू उपत्यकाका विभिन्न ठाउँमा मानिसहरूलाई गम्भीर किसिमको झाडापखालाका भएको पाइएको छ। अहिलेसम्म तीमध्ये १२ जनामा हैजा पुष्टि भएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
बाक्लो जनघनत्व भएको उपत्यकामा हैजा फैलिन नदिन जनस्तरबाट नै सतर्कता अपनाउनुपर्ने सङ्क्रामक रोग विज्ञहरूको सुझाव छ। हैजाको जोखिम कम गर्न स्थानीय तहहरूले पनि चेतनामूलक सन्देश प्रवाहदेखि पानी शुद्धीकरण गर्ने रसायन वितरणसम्मका कार्यक्रम गरेका छन्।
ललितपुर महानगरपालिकाले भने खुला स्थानमा पानीपुरी र चटपटे विक्री वितरणमा रोक लगाएको छ। नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनमा हैजाको जीवाणु फैलिने सम्भावना न्यूनीकरणका निम्ति नगरपालिकाभरि खुला स्थानमा पानीपुरी बेच्न रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेतुले बताए।
उनले बीबीसीसँग भने,"दूषित पानी नै हैजाको प्रमुख कारण हो। त्यस्तो पानीले पानीपुरीलाई अखाद्य बनाउनुका साथै त्यसमा हैजाको जीवाणु भेटिने सम्भावना रहन्छ। त्यसैले केही समयका निम्ति खुला ठाउँमा बेच्न र खानमा रोक लगाइएको हो।"
केही मानिसले यस कदमलाई स्वागत गरेका छन् भने केहीले पानीपुरी र चटपटे बेचेर जीविकोपार्जन गर्नेहरू मारमा पर्ने निर्णय भएको बताएका छन्।
डा. समीरमणि दीक्षितले दूषित पानी उपत्यकाको धाराबाट त्यसै आउने र फोहोर व्यवस्थापन नगर्दा जताततै सङ्क्रमणको सम्भावना उत्तिकै भएको ट्विटरमा लेखेका छन्। "बरु पानीपुरीमा प्रयोग गरिने पानीमा कडाइ गर्न सकिन्थ्यो," उनको धारणा छ।
हाछेतु भने पानीपुरी विक्रेता मारमा पर्ने तर्कको खण्डन गर्छन्। "आज ती व्यापारीले दैनिक ५०० रुपैयाँ कमाउलान्। तर भोलि हैजा फैलियो भने त्यो सबैको लागि धेरै महँगो पर्छ," उनले भने।
"हामीले विषाक्त कुरामा रोक लगाएका हौँ। कसैले बन्द ठाउँमा, सफा पानी र पन्जाको प्रयोग गरेर बेच्छौँ भन्छ भने त्यसमा रोक लगाउँदैनौँ।"
फेसबुकमा गणेश कार्कीले पानीपुरीबाट हैजा फैलिने अनुमानका भरमा कसैको व्यापार व्यवसाय बन्द गर्नु उचित नभएको जनाएका छन्। "पानीबाट हैजा फैलिन्छ र पानीपुरीमा पानी जोडिएको छ भनेर पहिलो निसाना यसैलाई बनाइएको हो कि? नत्र कुनै होटलमा पानीपुरी बेच्दा चाहिँ हैजा फैलिने तर लाफिङ वा भात बेच्दा चाहिँ नफैलिने हुन्छ र?" उनको प्रश्न छ।
उनले ढल कहाँकहाँबाट खानेपानीमा मिसिएको छ त्यो खोजी गर्न आवश्यक रहेको उल्लेख जनाएका छन्।
त्यस्तै डा. सुधांशु केसीले पनि खानेपानीमा ढल मिसाउनेबारे खोज गर्न सुझाव दिएका छन्।
पानीपुरी बेच्न रोक लगाउँदा समस्या समाधान हुन्छ?
पानीपुरी र चटपटेजस्ता खानेकुरा हैजाको एउटा सम्भावित स्रोत भए पनि त्यस्ता खानेकुरामा रोक लगाउनुले मात्र हैजा नियन्त्रण नहुने बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोगविज्ञ डा. शेरबहादुर पुन।
उनले पनि उपत्यकाका मानिसले पिउँदै आएको पानीको अनुगमन हुनुपर्ने कुरामा जोड दिए।
"पानीपुरी पनि हैजाको अनेकमध्ये एउटा सम्भावित स्रोत हो तर त्यसमै प्रयोग हुने पानी रेस्टुराँभित्र वा अन्य ठाउँहरूमा पनि प्रयोग हुन सक्छ। ती सबैलाई के गर्ने त?" उनले प्रश्न गरे।
धारामा आउने पानी होस् या जारमा भरेर विक्री हुने पानी, ती सबैको स्रोत जाँच, शुद्धीकरण र नियमित नियमन नै समस्या समाधानको प्रमुख उपाय भएको उनको ठहर छ।
"हैजा सधैँ रहँदैन। निश्चित समयका लागि पानीको जाँच गर्नु खासै खर्चिलो पनि हुँदैन," उनले भने।
हैजा भिब्रिओ कोलेरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ।
सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन्।
सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्यु समेत हुन सक्ने डा. पुनको भनाइ छ।
"पानी मै समस्या हो भने एक ठाउँमा एउटा खानेकुरामा रोक लगाएर हुँदैन।"
पानी किन जोखिमपूर्ण?
वर्षा याममा काठमाण्डूको सडकदेखि ढलका पाइपहरू फुट्ने र त्यहाँबाट बग्ने ढल सडकमै बग्ने गर्छ। त्यसरी बगेको ढल बगेरै पानीको स्रोत वा पाइपहरूसम्म पुग्ने सम्भावना बढी हुने जानकारहरू बताउँछन्।
मानिसको शरीरमार्फत् पनि प्रदूषित पानी एक ठाउँबाट अर्कोमा पुग्ने र त्यसले जीवाणु वा कीटाणुहरू फैलाउने बताउँछन् सूक्ष्मजीव वैज्ञानिक प्रदीप साह।
"भिब्रिओ कोलेरी नामक जीवाणु पेटमा पुगेपछि हैजा हुने हो। त्यो प्रायः दूषित पानीमा हुन्छ। त्यसैले सम्बन्धित निकायले पानी पिउन योग्य छ छैन खोज्नु र सर्वसाधारण मानिसले पानी उमालेर खानु नै हैजा फैलिन नदिने उपाय हो," उनले भने।
त्यस्तै काँचो तरकारी, पैसा, फलफूल आदिबाट पनि हैजा सर्ने सम्भावनाबारे साहले बताए।
विशेषगरी सार्वजनिक स्थल सरसफाइ गर्ने मानिसहरूमार्फत् प्राप्त हुने रकम वा सार्वजनिक शौचालयबाट फिर्ता हुने रकमबाट उक्त जीवाणु सर्न सक्ने बताए।
"पकाएको खानेकुराले त असर गर्दैन। तर बाहिरबाट ल्याएको तरकारी नपकाई वा फलफूल राम्ररी नपखाल्ने हो भने जीवाणु सर्न सक्छ," उनले भने।
"उदाहरणको लागि, म:म बाफले पाक्ने भएकाले त्यसमा समस्या हुँदैन। तर म:मको अचार पाक्दैन। त्यसले जोखिम निम्त्याउन सक्छ।"
उपत्यकाको पानी कस्तो छ?
अधिकारीहरूका अनुसार काठमाण्डू उपत्यकामा दैनिक साढे ४३ करोड लिटर पानीको माग छ।
तर काठमाण्डू उपत्यका खानेपानी लिमिटेडले (केयूकेएल) वितरणका लागि आफूहरूसँग दैनिक माग धान्ने पानी नरहेको जनाउँदै आएको छ। त्यसमाथि हुने चुहावटका कारण उपभोक्ताको धारामा दैनिक पानी उपलब्ध हुँदैन।
पाँच दिन बिराएर पानी दिँदा चार दिन पाइपहरूको सञ्जाल रित्तो हुन्छ। त्यसरी रित्तिँदा पाइपहरू नकारात्मक दबाव जम्मा हुने र ती प्रणालीहरू चर्किने केयूकेएलका कामु उपकार्यकारी अधिकृत ज्ञानेन्द्र कार्की बताउँछन्।
"चर्किएकै ठाउँबाट ढलको तरल पानीमा मिसिने सम्भावना रहन्छ।"
यद्यपि केयूकेएलले पानी प्रशोधन र जाँच गरेपछि मात्र वितरण गर्ने उनको दाबी छ।
"तर त्यो वितरण गर्ने प्रणाली पुरानो भएका कारण हामीले राम्रो पानी पठाए पनि यदाकदा कुनै ठाउँमा फोहोर मिसिन्छ। पानी र ढलको पाइपसँगै राखिएकाले पनि त्यस्तो समस्या देखिएको हो।"
अन्य समस्या कस्ता?
कहिले सडक निर्माण, विद्युत्, दूरसञ्चारलगायतको कामका कारण पनि पानीका सञ्जालहरू फुट्ने र त्यहाँबाट फोहोर छिर्ने गरेको बताए।
त्यस्तै यथेष्ट पानी पूर्ति गर्न नसक्दा सर्वसाधारणले ट्याङ्कर, इनार वा जारको पानी प्रयोग गरेको कार्की स्वीकार्छन्।
"त्यस्तो पानी प्रायः पिउन योग्य वा गुणस्तरीय हुँदैन। बुझ्ने मानिसले त उपकरण वा रसायन प्रयोग गरेर पानी शुद्धीकरण गर्छन् वा तताएर खान्छन् तर महँगीको चपेटामा परेका निम्नवर्गीय मानिसलाई गाह्रो छ।"
केही महँगो प्रक्रिया भए पनि हैजा नियन्त्रणका निम्ति सबैले पानी तताएर मात्र पिउनु पर्ने उनी बताउँछन्।
पानीमा के मिसिनु हुँदैन?
केयूकेएलको तीन वटा प्रयोगशाला छन्। त्यहाँ काठमाण्डू उपत्यकावासीको घरघरमा पठाउने पानीको गुणस्तर जाँच गरिन्छ।
विशेषगरी पानीमा कोलिफर्म र ई. कोलाई ब्याक्टेरियाको मात्रा र रासायनिक तत्त्वमा क्लोरिन कति छ त्यसको परीक्षण गर्ने सूक्ष्मजीवविज्ञ समेत रहेका कार्की बताउँछन्।
उनका अनुसार पिउने पानीमा प्रतिलिटर ०.१ देखि ०.२ मिलिग्राम क्लोरिन छ भने त्यो पिउन योग्य हुन्छ।
त्यस्तै पानीमा कोलिफर्म छ कि छैन जाँच गरिन्छ। यो एक किसिमको सूचक जीव हो जसले पानीमा रोग लगाउन सक्ने पदार्थ रहेको सङ्केत गर्छ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पानीमा ० देखि १ कोलिफर्म छ भने त्यो पानी पिउन योग्य मानिन्छ। एकदेखि तीन वटा छन् भने ठिकै, चारदेखि नौ भए सन्दिग्ध र १० भन्दा बढी भए पिउन अयोग्य ठहरिन्छ।
ई. कोलाई मानव मलमूत्रमा मात्र हुने जीवाणु हो। त्यसैले यो पुष्टि भएको पानी पिउन अयोग्य हुन्छ। यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ।
जारमा आउने पानीको परीक्षण भने खाद्य अनुसन्धान प्रयोगशालाले गर्छ। तर आफूहरूले गरेको जाँचमा जारको पानीमा पनि क्लोरिनको मात्रा बढी देखिएको अधिकृत कार्कीले जानकारी दिए।
यो पनि हेर्नुहोस्