सिन्धुपाल्चोकमा गएको भुइँचालोको सम्बन्ध तिब्बतसँग कि २०७२ सालको गोरखा भूकम्पसँग

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

शुक्रवार बिहान सबेरै गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरवकुण्डनजिकै रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बिहान २:५१ बजे गएको उक्त भुइँचालो म्याग्निट्यूड ६.१ को भएको केन्द्रले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भुइँचालो १० किलोमिटर तल भूगर्भमा उत्पन्न भएको थियो।

केन्द्रबिन्दु तिब्बतनजिकै पर्ने भए पनि यो भुइँचालोको सम्बन्ध गत पुस महिनामा तिब्बतमा भएको विनाशकारी भूकम्पसँग नभएको केन्द्रका एक वैज्ञानिकले बीबीसीलाई बताएका छन्।

काठमाण्डू उपत्यका र मध्यनेपालमा बाहेक पूर्वी र पश्चिम नेपालका केही जिल्लामा पनि कम्पन महसुस भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जनाएका छन्।

भूकम्प गएपछि काठमाण्डू उपत्यका र सिन्धुपाल्चोकमा निदाइरहेका मानिसहरू पनि खुला स्थानमा निस्केका थिए।

केन्द्रबिन्दु आसपास कस्तो छ अवस्था?

भूकम्पको केन्द्रबिन्दु भएको सिन्धुपाल्चोक जिल्लाका स्थानीय अधिकारीहरूका अनुसार हालसम्म त्यहाँ "मानवीय क्षति" भएको विवरण आएको छैन। तर जिल्ला कारागारमा भूकम्पका कारण आत्तिएर दौडिँदा एक कैदीलाई सामान्य चोटपटक लागेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बीबीसीलाई बताए।

उनका अनुसार नेपाल-चीन सीमानजिकै कोदारीमा रहेको प्रहरी चौकीको भित्ता चर्किएको विवरण प्राप्त भएको छ। त्यस्तै उक्त जिल्लाको भोटेकोशी गाउँपालिका-३ मा सुक्खा पहिरो खसेको सूचना प्राप्त भएको उनले बताए।

"सबैतिरबाट हामीले विवरण सङ्कलनका लागि मातहतका निकाय र प्रहरी कार्यालयहरूलाई भनिसकेका छौँ," सहायक प्रमुख जिल्ला अधिकारी नेपालीले भने।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पको धक्का महसुस भएपछि जिल्लाका "सबैजसो स्थानका मानिसहरू" राति नै घरबाहिर निस्किएका थिए। "जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा टोली बाहिर परिचालन गरिएको र अनुगमन कार्य भइरहेको छ," जिप्रकाले बिहान एउटा विज्ञप्तिमा भनेको छ।

"हाल जिल्लाको अवस्था तथा जनजीवन सामान्य रहेको छ। भूकम्पको असरले विभिन्न स्थानहरूमा सुक्खा पहिरो, सडक माथिबाट ढुङ्गा खस्ने जस्ता जोखिम हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन र कुनै सूचना तथा जानकारी भए नजिकको सुरक्षा यूनिटमा खबर गर्न हुन आदरणीय सम्पूर्ण जिल्लावासीमा अनुरोध समेत गरिन्छ।"

सुक्खा पहिरो

भूकम्पका कारण सुक्खा पहिरो खसेको भोटेकोशी गाउँपालिका-३ का वडाध्यक्ष निमा सोना शेर्पाले उक्त क्षेत्रमा "सधैँजसो सुक्खा पहिरो खस्ने स्थान"मा नै त्यस्तो पहिरो गएको बताए।

"हाम्रो वडामा पहाडी भूभाग रहेको छ र यहाँ प्राय: पहिरो खसिरहने एउटा स्थान छ। त्यहाँ पहिरो गएको हो। त्यो बस्ती भएको ठाउँ नभएकाले खासै क्षति भएको छैन," उनले भने।

"केही घरहरू चर्किएका छन्। राति भएकाले सबै विवरण आउन त बाँकी नै छ। म पनि सबै टोलहरूबाट सूचना लिइरहेको छु।"

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पनि हालसम्म मानवीय वा ठूलो क्षति भएको विवरण नआएको जनाएको छ। यद्यपि प्रहरीले पनि क्षतिको विवरण सङ्कलन जारी रहेको बताएको छ।

'गोरखा भूकम्पको परकम्प'

राष्ट्रिय भूकम्प मापन केन्द्रका सिनियर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारीका यो भुइँचालोको सम्बन्ध गत पुस महिनामा तिब्बतमा गएको विनाशकारी भूकम्पसँग नभएको बरु यो २०७२ सालमा गोरखा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको शृङ्खलामा पर्ने भएकाले त्यसको परकम्प भएको बताएका छन्।

दुई महिनाअघि चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी केन्द्र बनाएर गएको म्याग्निट्यूड ७.० को भूकम्प गएको थियो। उक्त भूकम्पको झट्का नेपालमा पनि महसुस भएको थियो।

"यसको प्रकृति हेर्दा यो २०७२ सालको भूकम्पको परकम्प नै देखिन्छ," उनले भने, "यसको सम्बन्ध तिब्बतमा भएको भूकम्पसँग भएको देखिँदैन।"

उनका अनुसार तिब्बत र नेपालमा रहेका "टेक्टोनिक प्लेटहरूको अवस्थिति" र अहिलेको भूकम्पको "मेकनिजम" हेर्दा यसलाई गोरखा भूकम्पकै परकम्प मान्नुपर्छ।

"त्यस बेला [गोरखा भूकम्प जाँदा] पश्चिमतर्फबाट पूर्वतर्फ सरेको प्लेट पुन: पश्चिमतर्फ धकेलिने अवस्था बन्ने गर्छ," उनले भने, "त्यस्तो क्रियाले परकम्प निम्त्याउँछ।"

अधिकारीका अनुसार पृथ्वीको सतहमुनि रहेका दुई प्लेटहरूले एकआपसलाई धकेलिरहेको अवस्था हिमालय क्षेत्रमा कायम रहेको रहेको छ।

यसअघि पुस १८ गते सिन्धुपाल्चोकमा केन्द्रबिन्दु बनाई म्याग्निट्यूड ४.८ को भूकम्प गएको थियो। त्यसअघि कात्तिक महिनामा दोलखामा म्याग्निट्यूड ४.५ र ४.६ का दुइटा भूकम्प मापन गरिएको थियो। तिनलाई पनि गोरखा भूकम्पको शृङ्खलाका परकम्प मानिएको छ।

विज्ञहरूका अनुसार पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म फैलिएको हिन्दूकुश तथा हिमालय क्षेत्र भूकम्पीय जोखिमका दृष्टिले निकै संवेदनशील रहेको छ।

झन्डै एक दशकअघि गएको भूकम्पले नेपालमा धनजनको ठूलो क्षति भएको थियो। यो अवधिमा उक्त भूकम्पका हजारौँ परकम्प मापन गरिएको छ।

केन्द्रका वैज्ञानिकहरूका अनुसार गोरखाबाट लगभग १५० किलोमिटर पूर्व-पश्चिम र लगभग ६० किलोमिटर उत्तर-दक्षिणतर्फ आएका भूकम्पलाई गोरखा भूकम्पको परकम्प मान्ने गरिएको छ।

वैज्ञानिकहरूका अनुसार ठूलो भूकम्प गएका क्षेत्र आसपासमा वर्षौँसम्म पनि साना भुँइचालोहरू जाने गर्छन्। त्यसै क्रममा अहिले पनि गोरखा भूकम्पका परकम्पहरू आसपासका क्षेत्रमा गइरहेका हुन्।

विसं २०७२ सालको भूकम्पले सिन्धुपाल्चोक र दोलखामा पनि व्यापक क्षति पुर्‍याएको थियो।

यद्यपि पश्चिम नेपालमा गएका भूकम्पहरूको सम्बन्ध गोरखा भूकम्पसँग नभएको वैज्ञानिकहरूको भनाइ छ।

पश्चिम नेपालमा ठूलो जोखिम

राष्ट्रिय भूकम्प मापन केन्द्रले विसं २०७२ सालको भूकम्पलाई ७.६ म्याग्निट्युडको भनेको थियो। यद्यपि त्यसलाई अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले अलिक भिन्न पद्धति अनुसरण गरेर ७.८ म्याग्निट्यूडको मानेको थियो।

गोरखा भूकम्प गएपछि सङ्कलित तथ्याङ्क र अन्य प्रमाणका आधारमा भूकम्पको चिरा फुटेको मध्यरेखामा धेरै कम्पन भएको र चिरा फुटेको पूर्वी छेउमा कम्पन बढी केन्द्रित भएको वैज्ञानिकहरूले बताउँछन्।

तर पश्चिम नेपालमा सन् १५०५ पछि कुनै ठूलो भूकम्प नगएको र भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले त्यहाँ र भारतमा पनि ठूलो भूकम्पको जोखिम रहेको बताइन्छ।

भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिँदै छ।

भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।