पश्चिम नेपालमा किन 'ठूलो भूकम्पको जोखिम?'

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निट्यूडको भूकम्पले पश्चिम नेपालमा वर्षौँयता कायम भूकम्पीय जोखिमप्रति पुन: मानिसहरूको ध्यान तानेको विज्ञहरूले बताएका छन्।

पश्चिम नेपालको भूसतहमुनि ५०० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको वैज्ञानिक अध्ययनहरूले देखाएका भन्दै विज्ञहरूले त्यसले आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको भूकम्प निम्त्याउन सक्ने क्षमता राख्ने भएकाले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।

जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निट्यूडको भूकम्प गएको थियो।

त्यसयता शनिवार बिहानसम्म ४ म्याग्निट्यूडका कम्तीमा तीनवटा र त्यो भन्दा साना ३५ वटाभन्दा बढी परकम्पहरू रिकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हालैका महिनामा पश्चिम नेपालका जिल्लाहरूलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन्।

विज्ञहरूले पाँच सय वर्षअघि महाभूकम्प गएको उक्त क्षेत्रमा आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको शक्तिशाली भूकम्पको जोखिम रहेको बताउँदै आएका छन्।

पश्चिम नेपालमा किन भूकम्पको जोखिम छ?

राष्ट्रिय भूकम्प मापन केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारीका अनुसार तथ्याङ्कहरू हेर्दा पनि पछिल्लो समयमा पश्चिम नेपालमा बढी भूकम्पहरू गइरहेको छ।

उनले दैनिक रूपमा साना र बेलाबेला मझौला किसिमका भूकम्प गइरहेका घटनाले उक्त क्षेत्रमा भूकम्पीय रूपमा जोखिम रहेको देखाएको बताए।

उनले भने, “त्यहाँ भूकम्पीय शक्ति सञ्चित भएको हो। जति पनि साना र मझौला भूकम्प गइरहेका छन् त्यसले यो ठाउँमा ठूलो भूकम्प जाने शक्ति छ। भूकम्पीय जोखिममा हामी छौँ भन्ने यसले सङ्केत गर्छ।”

पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको विज्ञहरू बताउँछन्।

त्यसकारण नेपालमा भूकम्पको जोखिम रहेको भन्दै अधिकारीले भने, “जति धेरै समय, त्यति धेरै शक्ति सञ्चय हुने भयो। जति धेरै समयसम्म शक्ति बाहिर निस्किएन वा भूकम्प गएन ठूलो भूकम्प जाने सम्भावना भयो।”

अधिकारीहरूका अनुसार नेपालमा २ म्याग्निट्यूडभन्दा बढीका झन्डै १० वटा भूकम्प दैनिक रूपमा जाने गरेका छन्।

सन् २०१५ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो जसमा नौ हजारभन्दा बढीको ज्यान गएको थियो।

अघिल्लो महिना बझाङमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते भएका थिए।

अहिलेसम्मको अध्ययनले गोरखा भन्दा पश्चिम भारतको देहरादुनभन्दा पूर्वको करिब ८०० किलोमिटर भूभागमा सन् १५०५ यता महाभूकम्प नगएको हुँदा यो क्षेत्रमा जोखिम रहेको अधिकारीजस्ता विज्ञहरू बताउँछन्।

उनले भने, “प्लेटहरू सर्ने कारणले जुन दुई सेन्टिमिटरका दरले नेपालभित्र प्रतिवर्ष सञ्चित हुने शक्ति हो, त्यो ५०० वर्ष यता भूकम्प नगएका कारणले जम्मा भएर बसेको छ। त्यसमा आठ म्याग्निट्यूड वा त्योभन्दा बढीको भूकम्प निम्त्याउन सक्ने शक्ति छ।”

के मझौला भूकम्पले जोखिम कम गर्छ?

भूगर्भविद् प्रा. डा. विशालनाथ उप्रेती उक्त क्षेत्रमा सञ्चय भएको भूकम्पीय शक्तिले विक्रम सम्वत् १९९० मा नेपालमा गएको महाभूकम्पभन्दा शक्तिशाली भूकम्पको जोखिम उक्त क्षेत्रमा रहेको ठान्छन्।

उनले भने, “सन् १५०५ को भूकम्प कत्रो हो भनेर जाँच्ने उपकरण त हामीसँग छैन। भुइँचालो गइसकेपछि चुरेको फेदमा सरेको चिरा हेर्दा २० मिटरसम्म जमिन सरेको पाइएको थियो। त्यसलाई विश्लेषण गर्दा त्यति बेला ८.५ देखि ८.७ म्याग्निट्यूडसम्मको भूकम्प गएको होला भनेका हौँ।”

त्यसबेला उक्त भूकम्पले भारतको दिल्लीमा रहेको कुतुबमिनारदेखि ल्हासासम्म क्षति पुर्‍याएको उनी बताउँछन्।

विक्रम सम्वत् १९९० को भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपालको चैनपुरमा थियो। त्यसकारण काठमाण्डूदेखि भारतको बिहारसम्म ठूलो क्षति भएको थियो।

उनले थपे, “५०० वर्ष भयो त्यस्तो भूकम्प नगएको त्यही भएर जोखिम छ भनेको हो। अब छ, पाँच वा चार म्याग्निट्यूडको त्यो पोखरी जस्तो सन् १५०५ को भूकम्पको शक्ति छ, त्यहाँबाट दुई चार बाल्टिन पानी निकाले जस्तो हो। त्यसले केही हुँदैन।”

राष्ट्रिय भूकम्प मापन केन्द्रका अधिकारी पनि मझौला वा साना खालका भूकम्पले ठूलो भूकम्पको जोखिमलाई कम नगर्ने बताउँछन्।

उनी भन्छन्, “एक रिक्टर स्केलको फरक पर्दा त्यसको शक्तिमा ३२ गुणा फरक पर्छ। त्यसको अर्थ पाँच रिक्टर स्केलको भूकम्प जानका लागि जति शक्ति चाहिन्छ, ६ रिक्टर स्केलको भूकम्पका लागि ३२ गुणा बढी शक्ति चाहिन्छ। त्यही हिसाबले पाँचसँग तुलना गर्दा ७ म्याग्निट्यूडकाका लागि १ हजार गुणा बढी शक्ति चाहिन्छ।”

उनले थपे, “आठको भूकम्प जान सक्ने सम्भावना अनुसन्धानले देखाएको छ भने ७ को ३२ वटा गइदियो भने त्यो सकिनसक्ने भयो। ६ को मात्रै जाने हो भने हजारवटा जानुपर्ने हुन्छ।”

उप्रेती पश्चिम नेपालबाहेक पूर्वी नेपालमा पनि ठूलो भूकम्पको जोखिम रहेको उल्लेख गर्दै पूर्वतयारीमा जोड दिनुपर्ने बताउँछन्।

उनले भने, “कोशीपूर्व सिक्किम-दार्जिलिङसम्म १,३०० वर्षसम्म ठूलो कुनै भूकम्प गएको छैन। हिमालयमा त्यत्रो वर्ष भूकम्प नगएको ठाउँ अत्यन्तै खतरनाक हुन्छ।"

पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर सन् १२५५ मा ८ म्याग्निट्यूडभन्दा बढीको भूकम्प गएको बताइन्छ।

सन् १२५५ को भूकम्पमा राजा अभय मल्लको मृत्यु भएको मानिन्छ। उक्त महाभूकम्पले त्यतिखेरको नेपालको एकतिहाइ भाग ध्वस्त पारेको ठानिन्छ।

अधिकारीले कहिले ठूलो भूकम्प जान्छ भनेर भन्न नसकिने भए पनि "जति ठूलो अन्तरालमा भुइँचालो जान्छ त्यो त्यति नै बढी शक्तिशाली हुने" बताए।

विज्ञहरूले कस्ता सुधारमा जोड दिएका छन्?

म्याग्निट्यूड आठ वा त्योभन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ।

आठ वा त्योभन्दा बढी म्याग्निच्युडको भूकम्पले केन्द्रबिन्दु वरपरका क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त गरिदिने सामर्थ्य राख्ने बताइन्छ।

विज्ञहरूले कमजोर भौतिक संरचनाका कारण भूकम्पबाट ठूलो जनधनको क्षति निम्त्याउने गरेको भन्दै त्यसमा सुधार गर्नुपर्ने धारणा राख्दै आएका छन्।

भूकम्प मापन केन्द्रका अधिकारीले जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पका कारण भएको क्षति पनि कमजोर भवनहरूका कारण भएको बताए।

उनले भने, “९० प्रतिशतभन्दा बढीको मृत्यु भूकम्पमा हामीले बनाएको भवन अर्थात् संरचना भत्किएर हुने गर्छ। हामीले संरचनाहरू बलियो नबनाएसम्म हामी कहिल्यै पनि सुरक्षित हुन सक्दैनौँ।”

चीलेजस्ता भूकम्पको उच्च जोखिम भएका देशहरूले भुइँचालोसँग जुझ्न बलिया भवनहरू बनाउने गरेको उल्लेख गर्दै उनले नेपालले पनि त्यस्ता पूर्वाधारहरू बनाउनुपर्ने बताए।

उनले कमजोर खालका घरहरूलाई बलियो घरहरूले विस्थापित गर्न सरकारले अभियान चलाउनुपर्ने उल्लेख गर्दै सरकारले त्यसका लागि अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।

खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीको तालिम र भूकम्पसँग सम्बन्धित पूर्वचेतावनी प्रणालीमा सरकारले लगानी बढाउनुपर्ने उप्रेतीजस्ता विज्ञको मत छ।

पूर्वचेतावनी प्रणालीमा लगानी

भूकम्पको भविष्यवाणी गर्न सकिँदैन। तर पछिल्ला वर्षहरूमा भूकम्पको पूर्वचेतावनी प्रणालीले उक्त विपद्‌बाट मानिसहरूलाई जोगाउन सघाइरहेका छन्।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसका अनुसार शेकएलर्टजस्ता पूर्वचेतावनी प्रणालीले पृथ्वीको सतहमुनि कम्पनको तरङ्ग देखा पर्नासाथ तत्काल चेतावनी जारी गर्न सक्छन्।

भूकम्पको समयमा एकदमै द्रुत गतिको पी (P) तरङ्ग सुरुमा देखिने र त्यसपछि अलिक कम गतिको एस (S) तरङ्ग उत्पन्न हुने बताइन्छ। त्यसपछि जमिनको सतहमा तरङ्गहरू आइपुग्छन्।

सेन्सरहरूले तत्कालै पी तरङ्गलाई पहिल्याउने र उक्त तथ्याङ्कलाई शेकएलर्टको प्रणालीमा पठाउने काम गर्छन्। त्यसले भूकम्प गएको ठाउँ र सम्भावित शक्तिजस्ता तथ्य तत्कालै पत्ता लगाएर सूचना जारी गर्ने काम गर्छ।

त्यस्तो चेतावनीले मानिसहरूलाई तत्कालै अवलम्बन गर्न सकिने सुरक्षाका उपाय अपनाउन सहयोग गर्न सक्छ र रेलजस्ता यातायातका साधनको गति कम गर्न सघाउ पुर्‍याउन सक्छ।