तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनमा केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पको धक्का नेपालका विभिन्न भागमा
नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। विज्ञहरूले उक्त भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत क्षेत्रमा रहेको बताएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले बीबीसीसँग भनिन्, "यो भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीन हो। तर यसको प्रभाव नेपालका धेरै ठाउँमा महसुस भएको छ।"
नेपालमा बिहान ६:५० बजेतिर उक्त भूकम्पको झट्का महसुस गरिएको थियो।
गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले नेपालका उत्तरी जिल्लाहरूबाट क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए।
उनले भने, "हामीले प्राय: सबैजसो उत्तरी जिल्लाहरूबाट प्रारम्भिक विवरण लिइसकेका छौँ। हालसम्म ठूलो क्षतिको विवरण आएको छैन। प्रभावित हुन सक्ने क्षेत्रहरूमा हामी थप बुझ्दै छौँ।"
राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ।
कुनकुन जिल्ला प्रभाव पर्यो
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुख्य रूपमा नेपालका सात जिल्लामा भूकम्पको प्रभाव परेको हुन सक्ने ठानिएको जनाएको छ।
केन्द्रले सामाजिक सञ्जालहरूमा लेखेको छ, "नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ७.० म्याग्निट्यूडको भूकम्प गएको छ।"
"यसले नेपालका ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, उत्तरी धादिङमा असर पारेको हुन सक्छ। जिल्ला प्रशासन कार्यालयहरूबाट सूचना सङ्कलन भइरहेको छ।"
केन्द्रले आफ्नो क्षेत्रमा भएको क्षति र भूकम्पको असरबारे जानकारी दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ। भूकम्पका कारण ओखलढुङ्गा, सोलुखुम्बु र सङ्खुवासभामा केही घरमा क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
सगरमाथा क्षेत्रको अवस्था के छ
सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रूपेश विश्वकर्माका अनुसार सल्लेरी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भए पनि मानवीय क्षतिको विवरण आइसकेको छैन।
"भूकम्प ठूलै आएको महसुस भयो। म भर्खरै बाहिरतिर डुलेर हेर्दा यहाँ आसपास क्षति भएको चाहिँ देखिएको छैन। लोबुचेतिर बुझ्ने प्रयास भइरहेको छ," विश्वकर्माले टेलिफोनमा भने।
लोबुचेस्थित झन्डै ५००० मिटर उचाइमा अवस्थित वैज्ञानिक अध्ययन केन्द्र 'पिरामिड ल्याब'का काजी बिष्टले मङ्गलवार बिहानै त्यहाँ ठूलो कम्पन महसुस हुँदा आसपासका भिराला ठाउँबाट थुप्रै ढुङ्गा र बरफका ढिक्का खसेको बताएका छन्।
सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जिल्लाको माथिल्लो भेगका मानिसहरूले घरहरू चर्किएको जानकारी गराएको बताएका छन्।
"कहीँ कतै क्षति छ कि भनेर बुझ्ने काम भइरहेको छ, हाम्रो जनशक्ति अहिले सबै बाहिर निस्किएको छ र उद्धारको लागि तयारी अवस्थामा छ। अहिलेसम्म अप्रिय घटनाको विवरण आएको छैन," उनले भने।
"माथिल्लो भेगमा केही घरहरू चर्किएको भन्ने आएको छ।"
चीन र भारतका विभिन्न स्थान प्रभावित
चीनको भूकम्पसम्बन्धी निकायले तिब्बतनजिकै ६.८ म्याग्निट्यूडको भूकम्प गएको जानकारी दिएको रोएटर्स समाचारसंस्थाले जनाएको छ।
चीनमा उक्त भूकम्पका कारण दर्जनौँ मानिसको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
त्यहाँ सो भूकम्पको धक्का स्थानीय समयानुसार बिहानको ९:०५ बजे महसुस गरिएको थियो र त्यसको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ।
शिगात्से वरपर भवनहरू भत्किएका रोएटर्सको समाचारमा जनाइएको छ।
दक्षिणपश्चिम चीनमा बारम्बार भूकम्प जाने गर्छ। सन् २००८ मा सिचुआन प्रान्तमा एउटा भीषण भूकम्पले करिब ७०,००० जनाको ज्यान लिएको थियो।
चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार मङ्गलवारको भूकम्पअघि शिगात्से वरपरको २०० किलोमिटर क्षेत्रभित्र पछिल्लो पाँच वर्षमा ३ वा त्योभन्दा बढी म्याग्निट्यूडका २९ वटा भूकम्प अभिलेख गरिएको थियो।
भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन्।
नेपालमा भूकम्पको जोखिम
विसं २०७२ सालको भूकम्प गएपछि सङ्कलित तथ्याङ्क र अन्य प्रमाणका आधारमा भूकम्पको चिरा फुटेको मध्यरेखामा धेरै कम्पन भएको र चिरा फुटेको पूर्वी छेउमा कम्पन बढी केन्द्रित भएको निष्कर्षमा भूगर्भशास्त्री र अन्य वैज्ञानिकहरू पुगेका छन्।
तर पश्चिम नेपालमा सन् १५०५ पछि कुनै ठूलो भूकम्प नगएको र भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले त्यहाँ र भारतमा पनि ठूलो भूकम्पको जोखिम रहेको बताइन्छ।
भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ। भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन्।
पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ।
भारतीय चट्टान युरेशिएन चट्टानमा ठोकिने भएकाले यो क्षेत्र जोखिमयुक्त क्षेत्रमा परेको हो।
कसरी जान्छ भूकम्प
नेपालको जमिनमुनि पनि प्राविधिक भाषामा भनिने फल्ट लाइन वा जमिनमुनिका चिरा रहेकाले भूकम्पको सम्भावना बढी भएको हो।
फल्ट भनेको दुई वटा चट्टानहरू एकअर्कामा नजिक भएर सर्ने र त्यहाँ एकातर्फ एउटा ठोस भाग र अर्को ठोस भाग अर्कोतर्फ हुने अनि उनीहरू एक अर्कासँग नजिक भएर सर्ने प्रक्रिया भएको भूकम्पविद्हरूको भनाइ छ।
ती चट्टानहरू एकअर्काबीच निकै सुस्त गतिमा चल्ने गर्छन्। तर त्यसमा आउने अचानक हलचल वा फेरबदलले निकै ठूलो ऊर्जा उत्पन्न गराउँछ र ती चट्टानमा चिरा उत्पन्न भई भूकम्प आउँछ।
यो तुलनात्मक रूपमा सतहको नजिक हुन्छ किनकि पृथ्वीको केन्द्र भाग लेदोयुक्त र तरल स्वरूपमा हुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।