मम्दानीका कारण न्यूयोर्क फेरि चर्चामा, अमेरिकाको राजधानी नभए पनि किन यति महत्त्वपूर्ण

सन् २०२५ को नोभेम्बर ४ मा जोहरान मम्दानी न्यूयोर्क सिटीको मेयरमा निर्वाचित भए।

मतपरिणामपश्चात् उनको निकै चर्चा भइरहेको छ। सन् १८९२ यता यो सहरमा निर्वाचित हुने उनी सबभन्दा कान्छा मेयर हुन्।

साथै उनी न्यूयोर्कका पहिलो मुस्लिम मेयर पनि भएका छन्। यस्ता विभिन्न कारणले मम्दानीको सँगसँगै न्यूयोर्कको पनि चर्चा भइरहेको छ।

न्यूयोर्क सिटी आफैँको एउटा अनौठो विशेषता छ। आउनुहोस् यस सहरबारे केही विशेष कुरा जानौँ।

न्यूयोर्क सिटी कसरी आजको न्यूयोर्क बन्यो

आजभन्दा ४०० वर्ष पहिले व्यापारको सिलसिलामा डचहरूले यो सहर बसाएका थिए। उस बेला यो सहरको नाम न्यूएम्स्टर्डम थियो।

पछि सन् १६६४ मा ब्रिटिशहरूले यसलाई कब्जा गरे अनि उनीहरूले ड्यूक अफ योर्कको नामबाट यस सहरको नाम परिवर्तन गरेर न्यूयोर्क बनाइदिए।

आजको दिनमा न्यूयोर्क वित्तदेखि लिएर कला, संस्कृति, फ्यासन तथा मनोरञ्जनको दुनियाँको केन्द्र बनिसकेको छ।

अमेरिकाको सबभन्दा ठूलो सहर

अमेरिकाको न्यूयोर्क राज्यमा ६२ वटा काउन्टीहरू छन्। तिनमा सबभन्दा धेरै जनसङ्ख्या भएको काउन्टी न्यूयोर्क सहर हो। उक्त राज्यको मात्र होइन पूरै अमेरिकामा सबभन्दा धेरै जनसङ्ख्या भएको सहर यही हो।

वर्ल्ड पप्युलेशन रिभ्यूका अनुसार न्यूयोर्क राज्यको जनसङ्ख्या झन्डै दुई करोड छ। तीमध्ये ८४ लाख जनाभन्दा धेरै मानिस न्यूयोर्क सहरमा बस्छन्।

रोचक कुरा के हो भने त्यति धेरै जनसङ्ख्या भए पनि यो सहरमा कुनै एउटा समुदायको बाहुल्य छैन। न्यूयोर्क सहरलाई यहाँ आएर बस्ने आप्रवासीहरूले नै 'न्यूयोर्क' बनाएका हुन्।

आप्रवासीहरूको सहर

करिब ३००० वर्षअघि यो ठाउँमा सबैभन्दा पहिले लेनेप समुदायका मानिसहरू आएर बसोबास गर्न थाले। ती डेलवेर क्षेत्रकै स्थानीय मानिस थिए। सन् १६२५ मा डच तथा युरोपेली मानिसहरू यहाँ आएर बसे।

पहिलो विश्वयुद्धताका सुरु भएको 'द ग्रेट माइग्रेशन' ताका हजारौँ अफ्रिक्री-अमेरिकीहरू दक्षिणबाट उत्तरतर्फ आएर बसे।

अनि सन् १९९० को दशकमा विश्वभरिका झन्डै १२ लाख आप्रवासी न्यूयोर्कमा बसाइँ सरे।

यसरी विभिन्न समुदायका मानिसहरू मिलेर न्यूयोर्कलाई अहिलेको न्यूयोर्क सहर बनाए। त्यसैले यसलाई आप्रवासीहरूको सहर पनि भनिन्छ।

मम्दानीले पनि आफ्नो विजयपछि गरेको भाषणमा भनेका छन्, "न्यूयोर्क सधैँ आप्रवासीहरूको सहर रहने छ। यो सहरलाई आप्रवासीहरूले बनाएका हुन्, यसलाई आप्रवासीहरूले नै चलाउँछन्।"

समयसँगै परिवर्तनशील छ न्यूयोर्क

यो सहरको एउटा गुण छ। यो सहरले सबैलाई अपनाउँछ भन्ने गरिन्छ। कोही पनि मानिसले यहाँ आएर आफ्नो जीवनयात्रा सुरुबाट सुरु गर्न सक्छ। आफ्नो पहिचान बनाउन सक्छ।

आधिकारीक आँकडाअनुसार प्रत्येक दिन न्यूयोर्क सहरमा १० लाख श्रमिकले पाइला टेक्छन्।

पुराना थुप्रै ढाँचा तोडेर यो सहरले परिवर्तनलाई द्रुत गतिमा अँगालेको छ अनि आफ्नो नयाँ पहिचान बनाएको छ। यही नै यसको विशेषता हो।

कैयौँ ऐतिहासिक स्थल

संयुक्त राष्ट्रसङ्घको मुख्यालयदेखि लिएर विश्वको वित्तीय राजधानी मानिने वाल स्ट्रीट पनि यही सहरमा छन्।

अमेरिकाको मुख्य स्टक एक्सचेन्ज, न्यूयोर्क स्टक एक्सचेन्ज र नाज्डाक यहीँ छन्।

विश्वको चौथो ठूलो मूर्ति स्ट्याच्यू अफ लिबर्टीदेखि लिएर ८६ तला भएको एम्पायर स्टेट बिल्डिङ, टाइम्स स्क्वाएर, सेन्ट्रल पार्क, ब्रोडवे शोजस्ता विशिष्ट ठाउँहरूको ठेगाना पनि यही सहरभित्र छ। तिनलाई हेर्न विश्वभरिबाट मानिसहरू ओइरिन्छन्।

त्यो वर्ष जसले न्यूयोर्कमा हलचल ल्याइदियो

तर सन् २००१ मा भएको अकल्पनीय घटनाले यो सहरमा हलचल मच्चाइदियो।

खासमा न्यूयोर्क सहरमा १६ एकर जमिनमा अवस्थित वर्ल्ड ट्रेड सेन्टर यसको एउटा सान थियो। उक्त सेन्टरमा बनेको ट्विन टावर सहरकै सबभन्दा ठूला भवन थिए।

सेप्टेम्बर ११ का दिन आतङ्कवादीहरूको आक्रमणमा यी दुवै भवन नष्ट भए अनि हजारौँ मानिसको ज्यान समेत गयो।

अमेरिकामा सबभन्दा ठूलो अर्थतन्त्र भएको सहर

उक्त हमलापछि यो सहर फेरि जुर्मुराएर उभियो।

सन् २०२४ मा जारी गरिएको 'स्टेट अफ द न्यूयोर्क सिटी इकोनमी' प्रतिवेदनमा अमेरिकाको कुल गार्हस्थ्य उत्पादन जीडीपीको ९ प्रतिशत हिस्सा न्यूयोर्क सहर एक्लैको रहेको उल्लेख छ।

आकर्षण छ, चुनौतीहरू पनि छन्

उपलब्धिहरूका अतिरिक्त यो सहरका आफ्ना चुनौतीहरू पनि छन्। त्यहाँ जातीय भेदभाव, धनी र गरिबबीचको बढ्दो खाडलजस्ता समस्याहरू छन्।

यसै प्रतिवेदनमा पनि बितेको एक दशकमा न्यूयोर्क सहरमा आम्दानीको असमानता बढेको उल्लेख छ।

बेरोजगारी अनि रोजगारीमा जातीय असमानता कम भएका छन् तर पनि अझै उच्चस्तरमा रहिरहेका छन्।

मम्दानीले आम्दानीको असमानता खत्तम गर्ने वाचा गरेका छन्। यी चुनौतीसँग उनले कसरी जुझ्छन् भनेर अब हेर्नुपर्ने छ।

बीबीसीका लागि कलेक्टिभ न्यूजरूमका तर्फबाट प्रकाशित

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।