तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकामा तीन दशकदेखि बस्दै आएकी ७३ वर्षीय महिलालाई आईसीईले भारत फर्कायो
- Author, शेरिलन मोलान
- Role, बीबीसी न्यूज, मुम्बई
तीन दशकभन्दा बढी समय अमेरिकामा बसेकी ७३ वर्षीय हजुरआमालाई त्यहाँबाट देश निकाला गरेर भारत फर्काइएको छ।
अमेरिकामा शरणका लागि आवेदन दिन विफल भएकी हरजित कौरलाई ८ सेप्टेम्बरमा अमेरिकी अध्यागमनसम्बन्धी निकाय इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) का अधिकारीहरूले पक्राउ गरेका थिए।
पन्जाबमा भएको राजनीतिक उथलपुथलबाट बच्न उनी सन् १९९१ मा आफ्ना दुई साना छोराहरूसाथ क्यालिफोर्निया गएकी थिइन्। अमेरिकामा शरण पाउनका लागि उनले कयौँ असफल प्रयासहरू गर्दै त्यहाँ बसिन् र काम गरिन्।
उनका वकिल दीपक अहलुवालियाले कुनै आपराधिक रेकर्ड नभएकी कौरलाई हिरासतमा लिँदा आईसीईका अधिकारीहरूले 'अस्वीकार्य' तरिकाले व्यवहार गरेको आरोप लगाएका छन्।
अहलुवालियाका अनुसार कौरलाई १९ सेप्टेम्बरमा जोर्जाको एउटा केन्द्रमा सारिएको थियो र २२ सेप्टेम्बरमा भारत गरिएको थियो।
त्यो अवधिमा उनलाई अमेरिकामा रहेको आफ्नो घरपरिवार अनि साथीभाइसँग राम्ररी बिदा लिन पनि नदिइएको अहलुवालियाले बताए।
उनले एउटा इन्स्टाग्राम भिडिओमा कौरलाई गरिएको व्यवहार "अस्वीकार्य" भएको बताएका छन् र दुईपटक घुँडा फेरेकी उनलाई ६०-७० घण्टा बिना ओछ्यान हिरासतमा बिताउन बाध्य पारिएको जनाएका छन्।
वकिल अहलुवालियाले बताए अनुसार कौरलाई औषधिसँग खानका लागि पानीको साटो बरफ दिइएको थियो। र कौरले खान सक्ने खाना दिन अस्वीकार गरिएको र दिइएको स्यान्डविच उनले खान नसकेको भन्दै उल्टै दोष लगाएको आरोप अहलुवालियाले लगाएका छन्।
यसअघि बीबीसीलाई दिएको एक बयानमा आईसीईले कौरले "दशकौँदेखि आवश्यक प्रक्रिया" पूरा गर्ने अवसर गुमाएको र सन् २००५ मा अध्यागमनसम्बन्धी एक न्यायाधीशले उनलाई निकाला गर्ने आदेश दिएको जनाको थियो।
"हरजीत कौरले नाइन्थ सर्किट कोर्टमा कयौँपटक अपिल गरेकी र प्रत्येक पटक हारेकी छिन्। र, अहिले उनले सबै कानुनी उपचार गुमाइसकेकी छन्। आईसीईले न्यायाधीशको निर्देशन र अमेरिकी कानुनको कार्यान्वयन गरिरहेको छ; उनले थप अमेरिकी कर खेर फाल्नेछैनन्," त्यसमा भनिएको छ।
सान फ्रान्सिस्को बे एरियाको हर्कुलसमा बस्ने कौरले दुई दशकसम्म साडी पसलमा सिलाइको काम गर्दै आफ्नो कर तिरिदिइन्। शरणका लागि आवेदन दिनेहरूलाई कानुनी रूपमा बस्न र काम गर्न अनुमति दिइन्छ जब उनीहरूको दाबी प्रक्रिया अन्तर्गत रहन्छ।
"यति लामो समय (अमेरिकामा) बसेपछि तपाईँलाई अचानक हिरासतमा लिइन्छ र यसरी फर्काइन्छ; यसको सामना गर्नुभन्दा मर्नु राम्रो हो,' कौरले बिहीवार दिल्लीमा अवतरण गरेपछि टाइम्स अफ इन्डिया पत्रिकालाई भनिन्।
उनको अपिल अस्वीकृत भएपछि कौरले भारत फर्कनका लागि उचित कागजपत्रको अभावका कारण अमेरिकामै बसेर काम गरिन् ।
त्यसयता उनलाई प्रत्येक छ महिनामा अध्यागमन अधिकारीहरूलाई रिपोर्ट गर्न भनिएको थियो। उनी त्यसका लागि जाँदा नै सान फ्रान्सिस्कोमा पक्राउ परेकी थिइन्।
उनको गिरफ्तारीले सिख समुदायलाई स्तब्ध बनाउनुका साथै उनीहरूलाई आक्रोशित पारेको छ। समर्थकहरूले क्यालिफोर्नियामा विरोध प्रदर्शन गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले आप्रवासन र विशेषगरी अमेरिकामा अवैध आप्रवासीमाथि व्यापक कारबाही गरिरहेका बेला कौरको गिरफ्तारी तथा देश निकाला भएको हो।
शरण खोज्नेहरू प्रत्येक वर्ष लाखौँको सङ्ख्यामा अमेरिकाको सीमामा आइपुग्छन् र ३७ लाखभन्दा बढी यस्ता मुद्दाहरू अहिले अध्यागमनसम्बन्धी अदालतहरूमा विचाराधीन छन्।
ट्रम्पले आफूले सबैभन्दा "खराबभन्दा खराब" अवस्थामा देश निकाला गर्न चाहेको बताएका छन्।
तर आलोचकहरूले आपराधिक रेकर्ड नभएका आप्रवासीहरूलाई पनि निशाना बनाइएको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।