इजरेली नीतिले गाजामा कसरी अनिकालको स्थिति पैदा गर्‍यो?

एक प्यालेस्टिनी बालक

तस्बिर स्रोत, Reuters

    • Author, इमिर नादेर
    • Role, बीबीसी न्यूज, जेरुसेलम

गाजामा भोकमरीको स्थिति देखा परिरहँदा त्यसको थोरै दूरीमा रहेका सीमाहरूका बाहिरपट्टि राहत बोकेका सयौँ ट्र्कहरू अर्थहीन अवस्थामा खडा छन्।

यस्तो स्थिति कसरी उत्पन्न भयो?

संयुक्त राष्ट्रसङ्घसमर्थित 'द इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन' (आईपीसी) यस्तो स्थितिको निगरानी राख्ने विश्वकै अग्रणी निकाय हो।

उक्त निकायको आकलनअनुसार पचास हजार मानिसहरू अर्थात् गाजामा रहेका प्यालेस्टिनीहरूको एक चौथाइ जनसङ्ख्या अनिकालको चपेटामा पर्नु धेरै कारणले विस्मित तुल्याउने खालको छ।

त्यसमध्येको प्रारम्भिक भनेको उक्त निकायको प्रतिवेदनले त्यस स्थितिलाई "पूर्णत: मानवसिर्जित" भनेको छ र सहायता निकायहरूले इजरेलमाथि गाजा स्ट्रिपमा खाद्यान्न आपूर्ति हुन नदिन "व्यवस्थित अवरोध" पुर्‍याएको आरोप लगाएका छन्।

तीनवटा मुख्य मापदण्डका आधारमा उक्त प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो।

  • भोकमरी : पाँचमध्ये एक परिवारले उपभोग्य खाद्यान्नको चरम अभावको सामना गर्नुपर्ने स्थिति
  • कुपोषण : मोटामोटी हरेक तीनमध्ये एक वा अधिक बालबालिका गम्भीर रूपले कुपोषित
  • मृत्युदर : भोकमरी वा संयुक्त रूपमा कुपोषण र रोगका कारण हरेक १० हजार मानिसमध्ये दैनिक २ जनाको मृत्यु हुने स्थिति

माथि उल्लेखितमध्ये दुईवटाको स्थिति पैदा भएको अवस्थालाई आईपीसीले अनिकालको स्थिति मान्छ।

उक्त निकायले निगरानी प्रणालीले काम नगरेकाले उपलब्ध तथ्याङ्कमा "मृत्युदर" जनाउने सूचक नदेखिएको जनाएको छ र अधिकांश गैरघातक मृत्युहरूको हिसाब नराखिएको ठानेको छ।

उपलब्ध प्रमाण तथा विज्ञहरूको निर्णयका आधारमा आईपीसीले "मृत्युदर"ले अनिकालको मापदण्ड छोएको निष्कर्ष निकालेको छ।

गाजाको हमाससञ्चालित स्वास्थ्य मन्त्रालयले कुपोषणका कारण मृत्युका थप दुई घटना भएको जनाइरहँदा आईपीसीको प्रतिवेदन प्रकाशित भएको हो। दुई नयाँ घटनासँगै यसरी ज्यान गुमाउनेको सङ्ख्या २७३ पुगेको र तीमध्ये ११२ जना बालबालिका रहेको जनाइएको छ।

इजरेली प्रधाजमन्त्री बेन्जमिन नेतन्याहूले भोकमरीको कुरालाई बारम्बार अस्वीकार गर्दै खाद्यान्न अभावको स्थिति जहाँकहीँ सिर्जना भएको भए पनि त्यो सहायता निकाय र हमासको गल्ती भएको बताउँदै आएका छन्।

"पूर्णत: मानवसिर्जित"

डेर अल-बलास्थित एक अस्पतालमा कुपोषणको उपचार गराइराखेकी एक बालिका

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, डेर अल-बलास्थित एक अस्पतालमा कुपोषणको उपचार गराइराखेकी एक बालिका

भोकले तड्पिइरहेका बालबालिकाको तस्बिर हप्तौँदेखि देखिरहेका धेरैले अनिकाल आउँदै गरेको सङ्केत निकै अघि देखिइसकेको ठान्नेछन्।

करिब दुई वर्षदेखि चलिराखेको युद्धका कारण खानेकुरामाथि प्यालेस्टिनीहरूको पहुँच जटिल बन्दै आएको छ।

इजरेलले गाजा छिर्ने सामग्रीहरूमा लामो समयदेखि रोक लगाउँदै आएको छ र त्यस्ता अवरोध हमासको नेतृत्वमा ७ अक्टोबर २०२३ मा इजरेलमाथि भएको घातक आक्रमणसँगै सुरु भएको युद्धपछि झनै बढेको छ।

इजरेलले मार्च, २०२५ मा गाजा छिर्ने सामानहरूमाथि झन्डै तीन महिना पूर्ण नाकाबन्दी गरेपछि स्थिति झनै बिग्रन पुग्यो।

चर्को अन्तर्राष्ट्रिय दबावपछि इजरेलले मे अन्तिमबाट सीमित सामग्री गाजा छिर्न दिन थालेको थियो।

साथै उसले राष्ट्रसङ्घ नेतृत्वको खाद्य वितरण प्रणालीलाई विस्थापित गर्न विवादास्पद अमेरिकी समूहले सञ्चालन गर्ने "गाजा ह्यूमनिटेरिअन फान्डेसन" (जीएचएफ) नामको नयाँ खाद्य वितरण प्रणाली पनि बनायो।

खाना खोज्न प्यालेस्टिनीहरूले ज्यान नै दाउमा लगाउनुपर्ने स्थिति छ र उनीहरूले भोकमरी वा मृत्युमध्ये एउटा रोज्नुपर्ने अवस्थामा पुगेको बारम्बार बताउँदै आएका छन्। त्यसो भनिरहँदा उनीहरूले जीएचएफका केन्द्रहरूबाट भोजन राहत प्राप्त गर्ने कोसिसमा रहेका मानिसहरूमाथि झन्डै दिनहुँजसो हुने गरेको गोलिबारीका घटनातर्फ सङ्केत गरेका हुन्।

राहत प्राप्त गर्ने कोसिसका क्रममा मारिएका १ हजार ७ सय ६० जनामध्ये मेको अन्त्यसम्ममा कम्तीमा ९ सय ९४ जना प्यालेस्टिनी जीएचएफका क्षेत्रहरूमा मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। उक्त निकायले धेरैजसो घटनामा इजरेली सेनाको हात रहेको जनाइरहँदा इजरेलले भने बारम्बार उक्त आरोपको खण्डन गर्दै आएको छ।

राहत सङ्कलन गर्न दौडिरहेका एक प्यालेस्टिनी किशोर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गाजा स्ट्रिपमा राहत खसाल्दै इन्डोनेसियाली हर्कुलस जहाज

गाजामा अधिक खानेकुरा आपूर्ति हुन दिन दबाव बढेसँगै इजरेलले जुलाईको अन्त्यबाट राहत बोकेका थप ट्रकहरूलाई हरेक दिन गाजा छिर्न अनुमति दिन थाल्नुका साथै गाडीका थप लस्करहरूलाई प्रवेश दिन युद्धमा 'रणनीतिक विराम'समेत लगाउन थाल्यो।

हालैका साताहरूमा गाजामा थप सहायता सामग्रीहरूले प्रवेश पाएका छन् र यसले सामानहरूको आकासिएको मूल्यलाई केही हदसम्म कम गरेको छ, तथापि धेरै प्यालेस्टिनीहरूका निम्ति त्यो अझै महँगै हो। प्रतिकिलो पिठोको मूल्य कैयौँपटक ८५ डलरभन्दा माथि पुगेको भए पनि अहिले त्यो घट्न थालेको छ।

खानेकुराको प्रवेशमाथिको अवरोधलाई केही खुकुलो पारे पनि इजरेलले राहत सङ्कलन तथा वितरणमा अझै ठूला बाधाहरू कायमै राखेको राष्ट्रसङ्घ तथा सहायता निकायहरूले जनाएका छन्।

ती सङ्गठनहरूले गाजाका मानिसहरूको आधारभूत खाँचो टार्न दैनिक ६०० ट्रक सामान आवश्यक पर्ने तर अहिले त्यसको आधाभन्दा अधिकलाई अनुमति नदिइएको बताएका छन्।

त्यसो त इजरेलले हवाईजहाजबाट राहतसामग्री खसाल्न पनि अनुमति दिन थालेको छ तर त्यसलाई अपर्याप्त, खतरायुक्त र ध्यान भड्काउने किसिमको भएको भन्दै मानवीय निकायहरूको आलोचना खेपेको छ।

उक्त सङ्कटका निम्ति हमासलाई जिम्मेवार ठहर्‍याउने इजरेली आरोपको पनि आलोचना भएको छ। अमेरिकी सरकारको एउटा आन्तरिक प्रतिवेदनसहित बहुसङ्ख्यक प्रतिवेदनहरूले हमासले राहत सामग्रीको व्यवस्थित दुरुपयोग गरेको कुनै प्रमाण पाएका छैनन्।

गाजा छिर्ने ट्रकहरूमाथि व्यापक लुटपाटका घटनाहरू भइरहेका छन् तर सहायता निकायहरूका अनुसार तीमध्ये अधिकांश हतास प्यालेस्टिनीहरूको भिडद्वारा र लुटिएका सामान बेचेर नाफा कमाउन खोज्ने केही सङ्गठित समूहहरूद्वारा भइरहेको छ।

सहायता निकायहरूले गाजामा भोकमरी र अनिकालको स्थिति रोक्न सडक मार्गमार्फत प्रसस्त सामग्री आपूर्ति हुन दिनुपर्ने महिनौँदेखि बताउँदै आएका छन् जसमाथि इजरेलले अझै रोक लगाइरहेको छ।

इजरेलको प्रतिक्रिया

कैयौँ इजरेली अधिकारीहरूले आईपीसीको प्रतिवेदनलाई खारेज गरेका छन्।

इजरेली विदेश मन्त्रालयले आईपीसीमाथि "हमासको फर्जी अभियानसँग मिल्दो बनावटी प्रतिवेदन प्रकाशित गरेको आरोप लगाएको छ।

गाजाका सीमानाका व्यवस्थापन गर्दै आएको कोगट (द कोअर्डिनेटर अफ गभर्मन्ट एक्टिभिटिज इन द टेरिटरिज) भनिने एउटा इजरेली सैन्य निकायले आईपीसीको प्रकाशनलाई "आतङ्ककारी हमास सङ्ठनद्वारा प्राप्त आंशिक आँकडामा आधारित गलत र पक्षपाती" प्रतिवेदन भनेको छ।

अन्य आलोचनासँगै इजरेलले अनिकालसँग जुधिरहेका मानिसको सीमालाई तीसबाट पन्ध्र प्रतिशतमा झारेर तथा "मृत्युदरसम्बन्धी आफ्नो दोस्रो मापदण्डलाई पनि नजरअन्दाज गरेर" आईपीसीले "आफ्नै विश्वव्यापी मापदण्ड बदलेको" बताएको छ।

आईपीसीले ती आरोपहरूको खण्डन गर्दै आफूले लामो समयदेखि स्थापित र समान अवस्थाका अघिल्ला स्थितिमा पनि उपयोग गरिएका मापदण्डहरूको प्रयोग गरेको जनाएको छ।

आईपीसीले "हमासका आँकडा" उपयोग गरेको इजरेलको आरोपले गाजाका कुपोषणसम्बन्धी केही विवरण हमाससञ्चालित स्वास्थ्य मन्त्रालयद्वारा प्राप्त हुने गरेको तथ्यतर्फ सङ्केत गर्छ।

तथापि युद्धका क्रममा मृत्युका घटना र घाइतेहरूबारे उक्त मन्त्रालयको आँकडालाई सामान्यतया: विश्वसनीय ठानिन्छ।

उक्त प्रतिवेदनबारे राष्ट्रसङ्घीय निकाय तथा विश्वस्तरका नेताहरूले गम्भीर प्रतिक्रिया दिएका छन्।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले नियन्त्रणकारी शक्तिका रूपमा इजरेलमाथि "अन्तर्राष्ट्रिय कानुनअन्तर्गत त्यहाँका मानिसहरूका निम्ति खानेकुरा र चिकित्सासम्बन्धी आपूर्तिको स्पष्ट दायित्व रहेको" बताएका छन्। साथै उनले त्यस्तो स्थितिलाई "छुट दिन नसकिने" पनि बताएका छन्।

त्यस्तै राष्ट्रसङ्घका मानवीय मामिलाका प्रमुख टम फ्लेचरले अनिकालको स्थिति आउनुलाई गाजामा खाद्यान्न आपूर्तिमा इजरेलले पुर्‍याएको "व्यवस्थित अवरोध"को सोझो प्रभाव भनेका छन्।

उनले भने, "यो यस्तो भोकमरी हो जहाँ केही सय मिटर पर खानेकुरा छ। अनि जमिन उर्बरा छ। यो यस्तो भोकमरी हो जसले सबभन्दा कमजोरलाई सबभन्दा पहिले प्रहार गर्छ। प्रत्येकका नाम छन् प्रत्येकका कहानी छन्। यसले पहिले मानिसको मर्यादा खोस्छ र त्यसपछि ज्यान लिन्छ।"

यूकेका विदेशमन्त्री डेभिड लेमीले भनेका छन्: "गाजामा पर्याप्त राहत जान अनुमति दिन इजरेल सरकारले इन्कार गरेका कारण यो मानवसिर्जित विनाश आइलागेको हो।"

गाजा सहर अतिक्रमण

इजरेलले यसैसाता गाजा सहरमाथिको विवादास्पद अतिक्रमण तथा कब्जाका निम्ति हजारौँ जगेडा सैनिकहरूलाई डाक्न अनुमति दिएको छ।

नेतन्याहूले हमासलाई परास्त गर्न, युद्ध समाप्त गर्न र इजरेली बन्धकहरूलाई छुटाउन गाजा सहर कब्जा गर्नु नै उत्तम विकल्प भएको बताएका छन्।

उक्त अतिक्रमणले त्यहाँ र त्यस वरपर बसिरहेका अनुमानित एक लाख प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने ठानिएको छ। इजरेलले स्वास्थ्यकर्मी तथा सहायता निकायहरूलाई उक्त क्षेत्र खाली गर्ने योजनाका निम्ति तयार रहन भनिसकेको छ।

युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनसहितका राष्ट्रसङ्घीय निकायहरूले एउटा संयुक्त वक्तव्यमार्फत उक्त योजनाबद्ध कारबाहीबारे चिन्ता व्यक्त गर्दै "अगावैदेखि अनिकालको स्थितिमा रहेका नागरिकहरूका निम्ति यसले थप विनाशकारी परिणाम निम्त्याउने" बताएका छन्।

"कैयौँ मानिसहरू र त्यसमा पनि खासगरी बिरामी, कुपोषित बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका मानिसहरू त्यहाँबाट बाहिर जान असमर्थ हुन सक्छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।