इजरेलले नयाँ युद्धविराम प्रस्ताव स्वीकार्नेमा किन आशङ्का उत्पन्न भयो

तस्बिर स्रोत, Getty Images
एक इजरेली अधिकारीले आफ्नो देशले सबै ५० जना बन्धकहरूको रिहाइको माग गरेको बताएका छन्, योसँगै हमाससँग प्रस्तावित ६० दिने नयाँ युद्धविराम प्रस्ताव इजरेलले स्वीकार्नेमा आशङ्का उत्पन्न भएको छ।
कतार र इजिप्टले अगाडि सारेका प्रस्तावअनुसार हमासले बाँकी रहेका ५० जना इजरेली बन्धकहरूमध्ये आधा जतिलाई साठी दिने युद्धविरामको अवधिमा दुई चरणमा रिहा गर्ने उल्लेख छ।
इजरेलले स्पष्ट रूपमा नयाँ प्रस्तावलाई अस्वीकार त गरेको छैन, तर इजरेली सरकारका प्रवक्ता डेभिड मेन्सरले "आंशिक सम्झौता" का लागि इजरेल इच्छुक नरहेको बीबीसीलाई बताए।
"कुराहरू अहिले बदलिएका छन्। प्रधानमन्त्रीले गाजाको भविष्यबारे योजना अगाडि सार्नुभएको छ," मेन्सरले भने।
प्यालेस्टिनी स्रोतहरूका अनुसार प्रस्तावअन्तर्गत १० जना जीवित बन्धक र १८ जनाका शव हस्तान्तरण गरिने कुरा छ भने त्यो समयमा दुवै पक्षले स्थायी युद्धविराम तथा बाँकी बन्धकहरूको रिहाइका विषयमा छलफल गर्ने छन्।
बाइस महिनादेखि जारी युद्धबीच ५० जना बन्धकहरूमध्ये अब २० जना जीवित रहेको इजरेलको विश्वास छ।
अधीनमा लिने योजना
गाजा सिटी अधीनमा लिने सैनिक योजनालाई यसै साताको अन्त्यतिर इजरेली मन्त्रिपरिषद्ले अनुमोदन गर्ने अपेक्षा गरिएको छ।
त्यहाँ इजरेलले गर्दै आएका तीव्र आक्रमणहरूका कारण यसअघि नै हजारौँ मानिसहरू विस्थापित हुन बाध्य भएका छन्।
हमाससँग युद्धविरामबारे अप्रत्यक्ष वार्ताहरू विफल भएपछि बेन्जमिन नेतन्याहूले हमला तीव्र पार्ने र सिङ्गो गाजालाई अधीनमा लिने घोषणा गरेका थिए।
सोमवार राति हमासले एउटा वक्तव्य जारी गर्दै उक्त सशस्त्र समूह र अरू प्यालेस्टिनी गुटहरूले अघिल्लो दिन इजिप्ट र कतारका मध्यस्थकर्ताहरूद्वारा अगाडि सारिएको युद्धविराम प्रस्तावलाई अनुमोदन गरेको जनाएको थियो।
हमासका अधारी ताहिर अल-नुनुले नयाँ प्रस्तावमा कुनै संशोधन नचाहेको भन्दै प्रस्तावलाई "बृहत् सम्झौतातर्फ डोर्याउने एउटा आंशिक सम्झौता" भएको अल-अरबी टेलिभिजनलाई बताए।
स्थायी युद्धविराम प्रयास
सम्झौता कार्यान्वयनको पहिलो दिनबाट स्थायी युद्धविरामका लागि वार्ता शुरू हुनेमा पनि उनले जोड दिए।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले "नयाँ प्रस्ताव यसअघि अमेरिकी दूत स्टीभ विट्कफले प्रस्तुत गरेको प्रस्तावसँग ९० प्रतिशत मेल खाने किसिमको भएको" दोहामा मङ्गलवार बताए।
"त्यो विट्कफ योजनाको दायराभित्रै रहेको योजना हो… यो सोही प्रक्रियाको निरन्तरता हो। निश्चित रूपमा त्यसको विस्तृत रूपमा केही समस्या लुकेको छ," अन्सारीले भने।
विट्कफले ६० दिने युद्धविरामको पहिलो र सातौँ दिनमा हमासले १० जना जीवित बन्धक र १८ जना मृतकका शव हस्तान्तरण गर्ने र त्यसको बदलामा इजरेलमा सजाय काटिरहेका १२५ प्यालेस्टिनी, गाजाबाट बन्धक बनाइएका १,१११ जना र १८० जनाको शव हस्तान्तर गर्ने प्रस्ताव गरेका थिए।
इजरेलले विट्कफको योजना स्वीकारे पनि हमासले त्यसलाई अस्वीकार गरेको थियो। त्यो प्रस्तावले स्थायी युद्धविरामतर्फ डोर्याउने कुराको सुनिश्चितता नगरेको भन्दै उसले प्रस्ताव अस्वीकार गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








