पूरै गाजा सिटी अधीनमा लिने गरी आक्रमण शुरूः इजरेली सेना

गाजा

तस्बिर स्रोत, Reuters

इजरेली सेनाले पूरै गाजा सिटी अधीनमा लिने पूर्वनिर्धारित स्थल आक्रमणअन्तर्गत "शुरूवाती कारबाही" थालिएको र त्यसका बाहिरी भेगमाथि नियन्त्रण कायम गरिसकिएको जनाएको छ

सेनाका एक प्रवक्ताले बताएअनुसार आक्रमणका लागि आधार तयार पार्न फौजहरूले पहिलेबाटै जैतून र जबालिआ क्षेत्रमा कारबाही थालिसकेका थिए, जसलाई रक्षामन्त्री इसराएल कात्सले मङ्गलवार अनुमोदन गरेका थिए र त्यसलाई सेक्युरिटी क्याबिनेटमा यसै साताको अन्त्यतिर प्रस्तुत गरिने छ।

हाल खटिएका सैनिकहरूलाई फिर्ता पठाएर आक्रमणका लागि सेप्टेम्बरको शुरूतिर करिब ६० हजार जगेडा सैनिकहरूलाई बोलाउन लागिएको छ।

"निर्दोष नागरिकहरूविरुद्ध बर्बर युद्ध जारी राख्नका निम्ति" इजरेलले युद्धविराम सम्झौतामा अवरोध सिर्जना गरिरहेको हमासले आरोप लगाएको समाचार संस्था रोएटर्सले जनाएको छ।

थप क्षति पुर्‍याउने

इजरेली योजनाअन्तर्गत हजारौँ प्यालेस्टिनीहरूलाई गाजा सिटीबाट दक्षिणी गाजातर्फ जान निर्देशन दिइने अपेक्षा गरिएको छ।

इजरेलका धेरै साझेदारहरूले उसको सो योजनाको निन्दा गरेका छन्। फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले "त्यसले दुवैतरिका मानिसहरूलाई विध्वंसतर्फ डोर्‍याउने र पूरै क्षेत्रलाई एउटा स्थायी युद्धचक्रमा धकेल्ने जोखिम रहेको" बुधवार चेतावनी दिए।

अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले थप विस्थापन र आक्रमणमा तीव्रताले गाजाको २१ लाख जनसङ्ख्याका लागि "पहिल्यैदेखि भयावह रहेको अवस्था झन् बिग्रिने जोखिम निम्त्याउने" जनाएको छ।

हमाससँग युद्धविरामबारे अप्रत्यक्ष वार्ताहरू गत महिना विफल भएपछि बेन्जमिन नेतन्याहू सरकारले हमला तीव्र पार्ने र सिङ्गो गाजालाई अधीनमा लिने मनशाय घोषणा गरेको थियो।

बुधवार टेलिभिजनमार्फत्‌ जानकारी गराउँदै इजरेली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ब्रिगेडिअर जेनरल ईफी डेफ्रिनले २२ महिनाको लडाइँबाट हमास "क्षतविक्षत र घाइते" भएको बताए।

"गाजा सिटीमा हामीले हमासलाई पुगेको क्षतिलाई अझ बढाउने छौँ, जहाँ उक्त आतङ्कवादी सङ्गठनको सरकारी र सैनिक आतङ्कको पकड रहेको छ।"

"हामीले माथि र तलबाट आतङ्कवादी पूर्वाधारलाई अझ क्षति पुर्‍याउने छौँ र हमासमाथि रहेको मानिसहरूको निर्भरतालाई अन्त्य गराउने छौँ," उनले अगाडि थपे।

'खतरनाक र असह्य'

हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमूद बस्सालले जैतून र साब्राको छिमेकमा अवस्था "एकदमै खतरनाक र असह्य" बनेको समाचार संस्था एएफपीलाई मङ्गलवार बताए।

गाजामा सैनिक गतिविधिलाई तेज पारिएमा प्यालेस्टिनी नागरिक र बन्धकहरू दुवै पक्षका लागि भयावह अवस्था हुने आईसीआरसीले चेतावनी दिएको छ।

तत्काल युद्धविराम गर्न तथा गाजाभरि मानवी सहायता पुर्‍याउनका निम्ति द्रुत र अवरोधरहित मार्ग दिन आग्रह समेत उसले गरेको छ।

कतार र इजिप्टका मध्यस्थकर्ताहरूले युद्धविराम गराउने प्रयत्न गरिरहेका छन् र ६० दिने युद्धविराम गर्ने अनि आधा जति बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव प्रस्तुत गरेका छन्, जुन प्रस्तावलाई हमासले सोमवार स्वीकार गरिसकेको छ।

इजरेलले कुनै औपचारिक प्रस्ताव अगाडि सारेको छैन। तर उसले सबै ५० जना बन्धकहरूको रिहाइमा मङ्गलवार जोड दिँदै आंशिक समझौता स्वीकार नहुने बताएको थियो।

त्योसँगै हमाससँग प्रस्तावित ६० दिने नयाँ युद्धविराम प्रस्ताव इजरेलले स्वीकार गर्नेमा आशङ्का उत्पन्न भएको छ।

कतार र इजिप्टले अगाडि सारेका प्रस्तावअनुसार हमासले बाँकी रहेका ५० जना इजरेली बन्धकहरूमध्ये आधा जतिलाई साठी दिने युद्धविरामको अवधिमा दुई चरणमा रिहा गर्ने उल्लेख छ।

यसअघि अमेरिकी दूत स्टीभ विट्कफले ६० दिने युद्धविरामको पहिलो र सातौँ दिनमा हमासले १० जना जीवित बन्धक रिहा गर्ने र १८ जना मृतका शव हस्तान्तरण गर्ने र त्यसको बदलामा इजरेलमा सजाय काटिरहेका १२५ प्यालेस्टिनी, गाजाबाट बन्धक बनाइएका १,१११ जना र १८० जनाको शव हस्तान्तरण गर्ने प्रस्ताव गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।