तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रिटिश प्रधानमन्त्री ऋषि सुनककी सासू अब भारतकी सांसद
- Author, लिपिका पेल्हम
- Role, बीबीसी न्यूज
ब्रिटिश प्रधानमन्त्री ऋषि सुनककी सासूलाई भारतीय संसद्को माथिल्लो सदनकी सदस्यका रूपमा मनोनयन गरिएको छ।
त्रिहत्तर वर्षीया सुधा मूर्तिले प्रविधि कम्पनी इन्फोसिसका सह-संस्थापक तथा अर्बपति एनआर नारायण मूर्तिसँग बिहे गरेकी थिइन्।
उनकी छोरी अक्षताले सुनकसँग सन् २००९ मा बिहे गरेकी हुन्।
सुनक सन् २०२२ देखि ब्रिटेनका प्रधानमन्त्री छन्।
मनोनयन
भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा अधिकांश सदस्यहरू निर्वाचित हुन्छन्।
यद्यपि उक्त सदनमा समाजका गन्यमान्य व्यक्तिमध्येबाट १२ जना सदस्यलाई राष्ट्रपतिले ६ वर्षका लागि मनोनयन गर्ने व्यवस्था पनि छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिको मनोनयनलाई "नारी शक्ति"को उदाहरण भएको जनाएका छन्।
मोदीले यसले भारतको लक्ष्य निर्धारणका निम्ति महिलाको शक्ति र क्षमताको उदाहरण प्रस्तुत गर्ने पनि उल्लेख गरेका छन्।
मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै मूर्तिको "सामाजिक कार्य, परोपकार र शिक्षा लगायतका विविध क्षेत्रमा व्यापक र प्रेरणादायी योगदान रहेको" जनाएका छन्।
जसले पाएकी थिइन् पद्मभूषण
गत वर्ष उनको समाजसेवालाई कदर गर्दै सरकारले भारतको तेस्रो-सर्वोच्च नागरिक सम्मान "पद्मभूषण" पनि प्रदान गरेको थियो।
इन्जिनियरिङ अध्ययन गरेकी मूर्तिले मोदीलाई धन्यवाद दिँदै "देशको सेवा गर्ने अवसरको लागि कृतज्ञ भएको" बताएकी छन्।
उनले द हिन्दू पत्रिकासँग भनेकी छन्, "मनोनयनमा मेरो नाम एउटा सुखद आश्चर्यका रूपमा आएको छ र अन्तर्राष्ट्रिय महिला दिवसका दिन यस्तो सम्मान पाउँदा म दोबर उत्साहित भएकी छु।"
"संसदीय कार्यकालका लागि मैले योजनाहरू बनाउन बाँकी छ। म यो मञ्चलाई भारतका जनताका निम्ति काम गर्न उपयोग गर्नेछु।"
फोर्ब्स पत्रिकाका अनुसार मूर्तिका पतिको अनुमानित कुल सम्पत्ति ४ अर्ब ७० करोड अमेरिकी डलर बराबर छ।
व्यापारका लागि पतिलाई सापटी
नारायण मूर्तिले एक पटक आफ्नो कम्पनी सुरु गर्न आफ्नी पत्नीबाट २५० डलर सापटी लिएको बताएका थिए।
यो कम्पनी अहिले भारतको सातौँ ठूलो र न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीमा परेको पहिलो भारतीय कम्पनीका रूपमा रहेको छ।
सुधा मूर्ति भारतीय टीभीहरूमा हुने छलफलहरूमा देखा परिरहने हुनाले उनी भारतमा परिचित व्यक्ति हुन्।
त्यस्तै एउटा छलफलमा उनले आफूले यूकेका अद्यागमन अधिकारीहरूसँग आफू डाउनिङ स्ट्रिटमा बस्न जाने बताएको उल्लेख गरिन्।
उनको त्यो भनाइ सुनेर ती अधिकृतहरूले उनले ठट्टा गरिरहेकी होलिन् भन्ने ठानेका थिए।
'मैले पतिलाई व्यापारी बनाएँ, छोरीले प्रधानमन्त्री'
उनले आफूले आफ्नो श्रीमान्लाई व्यवसायी बनाउन सफल भएको उल्लेख गर्दै "मेरी छोरीले पनि आफ्नो पतिलाई ब्रिटिश प्रधानमन्त्री बनाएकी छन्" भनेकी थिइन्।
उनकी छोरी अक्षता मूर्तिको पनि इन्फोसिस कम्पनीमा शेअर छ।
सन्डे टाइम्सले निकालेको २०२२ का धनीहरूको सूचीमा उनी आफ्ना पति सुनकसँगै सूचीकृत पनि भएकी थिइन्।
उनीहरूको संयुक्त रूपमा रहेको सम्पत्ति ९३ करोड ७० लाख अमेरिकी डलर बराबर रहेको जनाइएको थियो।
उनको सम्पत्ति सुनकको राजनीतिक यात्राका क्रममा चर्चा र छानबिनको दायरामा आएको थियो।
अक्षताले एप्रिल २०२२ मा विदेशमा भएको आफ्नो आम्दानीका लागि पनि ब्रिटेनमा समेत कर तिर्ने बताएकी थिइन्।
उनको गैरआवासीय हैसियतसम्बन्धी विवादपछि अक्षताले त्यस्तो बताएकी थिइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।