टाटा समूहको सम्पत्ति पाकिस्तानको कुल गार्हस्थ्य उत्पादनभन्दा कसरी बढी

    • Author, मिर्जा एबी बेग
    • Role, बीबीसी उर्दू, नयाँदिल्ली

मैले बाल्यकालमा सुन्ने गरेको थिएँः बाटाका जुत्ता र टाटाका सामान धेरै बलिया हुन्छन्।

त्यो कति सत्य हो मलाई त्यो थाहा छैन। तर हालै भारतीय सञ्चारमाध्यमहरूमा टाटा ग्रूप अफ कम्पनिजको कुल सम्पत्ति ३६५ अर्ब डलर पुगेको विवरण आएको छ।

यो विवरण हेर्दा टाटा समूह भारतको सबैभन्दा शक्तिशाली व्यापारिक समूह रहेको देखाउँछ।

यसबाट टाटाको सम्पत्ति देश पाकिस्तानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा पनि बढी रहेको देखिन्छ।

रिलायन्स समूहका प्रमुख मुकेश अम्बानी विश्वकै धनी व्यक्ति बनेका वा अर्बपति व्यवसायी गौतम अडानीले उनलाई पछाडि पारेको भन्ने खालका विवरणहरू प्रायः तपाईँले सुन्ने गर्नुभएको होला।

तर त्यस्ता विवरणमा टाटाबारे किन चर्चा हुँदैन भन्ने तपाईँलाई चासो पनि लाग्न सक्छ।

चियादेखि ज्यागुअर ल्यान्डरोभर कारसम्म र नुन बनाउनेदेखि विमान उडाउने तथा तारे होटल सञ्चालनसम्म जीवनका विभिन्न क्षेत्रमा टाटाको प्रभाव देखिन्छ।

यस वर्षको फेब्रुअरीमा टाटा समूहको बजार पुँजीकरण करिब ३६५ अर्ब डलर रहेको छ।

त्यो भनेको पाकिस्तानको जीडीपीभन्दा बढी हो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानको जीडीपी करिब ३४१ अर्ब डलर हुने अनुमान गरेको छ।

टाटा कन्सल्टेन्सी सर्भिसेजको मात्रै कुरा गर्ने हो भने पनि उक्त कम्पनीको सम्पत्ति १७० अर्ब अमेरिकी डलर बराबर छ।

यो कम्पनी भारतको दोस्रो ठूलो कम्पनी हो। यसको सम्पत्ति नै पाकिस्तानको अर्थतन्त्रको आधाजति छ।

टाटा कम्पनीको स्थापना

टाटा कम्पनी अहिलेको अवस्थामा एकैदिनमा पुगेको भने होइन। यसका लागि १५० वर्षभन्दा बढी समय लागेको छ। यद्यपि भारतीय जीवनका धेरै क्षेत्रमा टाटा भारतको पहिलो कम्पनी बनेको छ।

आठ फेब्रुअरी, १९११ मा लोनावाला बाँधको शिलान्यास गर्दा टाटा समूहका प्रमुख दोराबजी टाटाले सन् १८६८ मा यो कम्पनीको जग हाल्ने आफ्ना पिता जमशेदजी टाटाको सोचबारे कुरा गरेका थिए।

अहिले यो १० वर्गका ३० कम्पनीको एउटा प्रमुख समूह बनेको छ। टाटाले छ महादेशका १०० भन्दा बढी देशमा आफ्नो सेवा प्रदान गर्दै आएको छ।

दोराबजी टाटाले भनेका थिए, "सम्पत्ति कमाउनु मेरो बुबाको लागि गौढ विषय थियो। उहाँले यो देशका जनताको औद्योगिक र वैचारिक अवस्थामा सुधार गर्ने कुरालाई प्राथमिकता दिनुभएको थियो। उहाँले आफ्नो जीवनकालमा सुरु गरेका विभिन्न संस्थाको वास्तविक उद्देश्य ती महत्त्वपूर्ण क्षेत्रहरूको विकास गर्नु थियो।"

कम्पनीको वेबसाइटमा उनको उद्देश्यका रूपमा विश्वका विभिन्न समुदायको समुदायहरूको जीवनस्तर उकास्नु भएको उल्लेख छ।

भारतमा ब्रिटिश शासन भएका बेला १९ औँ शताब्दीको अन्त्यतिर जमशेदजी टाटाले बम्बईस्थित एउटा महँगो होटेलमा प्रवेश नदिइएको र त्यसैको ईख लिएर उनले त्योभन्दा पनि भव्य होटल बनाउने अठोट गरेको भनिन्छ।

ब्रिटिश उपनिवेश भएका बेला भारतमा सर्वसाधारण मानिसलाई कतिपय सुविधाहरूबाट वञ्चित गरिएको थियो।

पहिलो लक्जरी होटल

सन् १९०३ मा मुम्बईको समुद्री किनारमा ताज होटल स्थापना भएको थियो।

यो सहरको पहिलो भवन थियो जसमा बिजुली, अमेरिकी फ्यान र जर्मन लिफ्ट जस्ता सुविधा उपलब्ध थिए।

यसमा ब्रिटिश शेफहरू थिए। अहिले अमेरिका र ब्रिटेनसहित नौ देशमा यो होटलका शाखा छन्।

जमशेदजीको जन्म सन् १८३९ मा पारसी परिवारमा भएको थियो।

उनका धेरै पूर्वज पारसी धर्मका गुरु थिए। उनले कपास, चिया, तामा, पित्तल र अफिमको कारोबारबाट धेरै पैसा कमाए। त्यस बेला अफिमको व्यापार वैध थियो।

उनी विश्वयात्री थिए र नयाँ आविष्कारबाट धेरै प्रभावित भएका थिए।

ब्रिटेनको भ्रमणका क्रममा कपास मिल देखेपछि उनले भारतले पनि ब्रिटेनसँग प्रतिस्पर्धा गर्न सक्ने महसुस गरे। सन् १९७७ मा जमशेदजीले महारानी मिलको नामक देशकै पहिलो कपडा मिल खोले।

महारानी भिक्टोरियालाई भारतको महारानीको रूपमा राज्याभिषेक भएका दिनमा महारानी मिलको उद्घाटन भएको थियो।

जमशेदजीको भारतको विकाससम्बन्धी दृष्टिकोण स्वदेशी शब्दबाट बुझ्न सकिन्छ। त्यो उन्नाइसौँ शताब्दीको प्रारम्भमा भारतको स्वतन्त्रता आन्दोलनको एक महत्वपूर्ण अङ्ग बनेको थियो।

उनले भनेका थिए, "समुदायको विकासका लागि सबैभन्दा कमजोर र असहाय व्यक्तिलाई सहयोग गर्नुको सट्टा सबैभन्दा सक्षम र प्रतिभाशाली व्यक्तिहरूले आफ्नो देशको सेवा गर्न सकोस् भनेर उनीहरूलाई सहयोग गर्नु आवश्यक हुन्छ।"

पहिलो औद्योगिक सहर

उनको सबैभन्दा ठूलो सपना स्टील कारखाना खोल्नु थियो तर त्यो सपना साकार हुन नपाउँदै उनको निधन भयो।

उनका छोरा दोराबजीले उनको मृत्युपछि बुबाको सपना पूरा गरे र टाटा स्टीलले सन् १९०७ मा उत्पादन सुरु गर्‍यो। यसरी भारत स्टील कारखाना स्थापना गर्ने एशियाको पहिलो देश बन्यो।

उक्त कारखानानजिकै एउटा सहर स्थापना भयो। त्यसको नाम जमशेदपुर भयो। आज जमशेदपुर भारतको स्टीलको सहर भनेर चिनिन्छ।

जमशेदजीले आफ्नो छोरा दोराबलाई पत्र लेखेर औद्योगिक सहर स्थापना गर्न आग्रह गरेका थिए।

उनले लेखेका थिए, "यो सहरका सडक चौडा हुनुपर्छ। रूख, खेलमैदान, पार्क र धार्मिक स्थलहरूका लागि पनि ठाउँ हुनुपर्छ।"

कुनै कानुनी बाध्यता नभए पनि टाटाले आफ्ना कर्मचारीहरूको हितका लागि सन् १८७७ मा निवृत्तिभरण, सन् १९१२ मा काम गर्ने अवधि आठ घण्टा र सन् १९२१ मा प्रसूति बिदासहितका सुविधा दिएको थियो।

पहिलो हवाई सेवा

टाटा परिवारका अर्का सदस्य जहाङ्गीर टाटा सन् १९३८ मा ३४ वर्षको उमेरमा कम्पनीको अध्यक्ष बने र करिब आधा शताब्दीसम्म उक्त पदमा रहे।

उद्योगपति बन्नुभन्दा पहिले उनी पाइलट बन्न चाहन्थे। उनमा त्यस्तो इच्छा लुइस ब्लेराइटसँग भेटेपछि जागेको थियो।

जेआरडी बम्बे बम्बे फ्लाइङ क्लबबाट भारतमा पाइलट प्रशिक्षण लिने पहिलो व्यक्ति थिए। उनको एअर लाइसेन्समा नम्बर १ थियो। त्यसमा उनी धेरै गर्व गर्थे।

उनले भारतको पहिलो हवाई हुलाक सेवा सुरु गरेका थिए। उक्त सेवामा प्रयुक्त विमानमा यात्रुहरूलाई हुन्थे,।

पछि यो हुलाक सेवा भारतको पहिलो हवाई कम्पनी 'टाटा एअरलाइन्स' बन्यो। त्यसको नाम केही समयपछि परिवर्तन गरेर 'एअर इन्डिया' बनाइयो।

पछि ‘एअर इन्डिया’को स्वामित्व सरकारले लिएको थियो तर फेरि केही समयअघि टाटाले त्यो कम्पनी सरकारसँग किनेको छ।

फेरि एअर इन्डिया फिर्ता लिएपछि टाटा सन्ससँग अब तीनवटा विमानसेवा छन्।

एअर इन्डियाबाहेक सो कम्पनीसँग 'एअर विस्तारा' पनि छ। त्यसमा सिङ्गापुर एअरलाइन्ससँग उसको साझेदारी छ।

उसको अर्को कम्पनी ‘एअर एशिया’ हो र त्यसमा मलेशियासँग साझेदारी छ।

एअर इन्डियाको स्वामित्व फिर्ता लिने सम्बन्धमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरले अक्टोबर २०२१ मा विज्ञप्ति जारी गर्दै त्यसलाई "ऐतिहासिक क्षण" भनेका थिए।

उनले देशको प्रमुख हवाई कम्पनीको सञ्चालक बन्न पाउनु गर्वको कुरा भएको बताएका थिए।

चन्द्रशेखरले आफ्नो वक्तव्यमा भनेका थिए, "भारतले गर्व गर्न सक्ने अन्तर्राष्ट्रिय स्तरको हवाई कम्पनी सञ्चालन गर्ने हाम्रो प्रयास हुने छ।"

"महाराजा (एअर इन्डियाको लोगो) फिर्ता हुनु जेआरडी टाटाका लागि वास्तविक श्रद्धाञ्जलि हुने छ। उहाँले भारतमा हवाई सेवा सुरु गर्नुभएको थियो।''

कम्प्युटरको संसारमा टाटाको पाइला

यसअघि भारत सरकारले टाटा समूहका प्रमुख जेआरडी टाटालाई एअर इन्डियाको अध्यक्ष बनाएको थियो। उनी सन् १९७८ सम्म त्यो पदमा बसे। त्यसपछि भारत सरकारका अधिकारीहरू सो पदमा बस्दै आएका छन्।

सन् १९६८ मा उनले आफ्नो परिवारको परम्परालाई निरन्तरता दिए र त्यस बेला विकसित देशहरूमा मात्र भइरहेको व्यवसाय सुरु गरे। यो व्यवसाय कम्प्युटरसँग सम्बन्धित थियो।

'टाटा कन्सल्टेन्सी सर्भिसेज' वा 'टीसीएस' नामको यो कम्पनीले विश्वभरि सफ्टवेअरको आपूर्ति गर्छ। हाल टाटा समूहको सबैभन्दा नाफा कमाउने कम्पनीमा यो पर्छ।

सन् १९९१ मा उनका टाढाका नातेदार रतन टाटाले कम्पनी सम्हाले। उनको नेतृत्वमा टाटाले संसारभरि आफ्नो व्यापार विस्तार गर्‍यो।

टाटाले टेटली टी, एआईजी इन्स्योरेन्स कम्पनी, बोस्टनको रिट्ज कार्ल्टन, दाएवूको ठूला उपकरण बनाउने यूनिट र कोरस स्टील युरोपजस्ता कम्पनीहरू किनेका थिए।

आजको टाटा र सफलताको रहस्य

टाटा सन्स टाटा कम्पनीहरूको मूल लगानी होल्डिङ कम्पनी र प्रवर्धक हो।

टाटा सन्सको ६६ प्रतिशत इक्विटी शेअर र पुँजी शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा कला र संस्कृतिका क्षेत्रमा काम गर्ने परोपकारीहरूसँग छ।

हामीले टाटा कम्पनीको कर्पोरेट कम्युनिकेशनलाई सम्पर्क गर्ने प्रयास गरेका थियौँ तर उनीहरूसँग सम्पर्क हुन सकेन।

टाटा कम्पनीले हालसम्म आफ्ना कम्पनीको सम्पत्तिको तथ्याङ्क सार्वजनिक नगरे पनि जुलाई ३१, २०२३ सम्म आफ्नो सम्पत्ति ३०० अर्ब डलर रहेको घोषणा गरेको थियो।

कम्पनीमा विश्वभरि १० लाखभन्दा बढी कर्मचारी कार्यरत रहेको पनि उसले बताएको थियो ।

कम्पनीका अनुसार टाटा कम्पनी वा इन्टरप्राइजले आफ्नो सञ्चालक समितिको नेतृत्व र सुपरिवेक्षणबारे स्वतन्त्र रूपमा काम गर्ने गर्छ।

टाटाको अभूतपूर्व सफलताको बारेमा हामीले आर्थिक विशेषज्ञ शङ्कर अय्यरसँग कुरा गरेका थियौँ।

उनले भने, "अम्बानी वा अडानीको नाम आउँछ किनभने उनीहरूका कम्पनीहरू व्यक्तिगत हुन्। तर टाटा विभिन्न कम्पनीहरूको समूह हो र एउटा ट्रस्टअन्तर्गत सञ्चालित छ। त्यसैले यसको चर्चा गरिँदैन।"

फोनमा कुरा गर्दै उनले कर्पोरेट जगत्‌मा यस्तो तुलनालाई आफूले सही नमान्ने भए पनि भारतमा धेरै मामिलामा टाटा कम्पनी जननीजस्तो भएको बताए।

उर्जा क्षेत्रमा काम गर्ने कम्पनी जीई इन्डियाको अलस्टोम इन्डियाका पूर्वप्रबन्ध निर्देशक र हाल ह्योसुङ इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक नागेश तलवानीले बीबीसीसँग भने, "टाटाको समृद्धिको प्रमुख कारण यसको नैतिक, निष्पक्ष र पारदर्शी प्रणाली हो। त्यसले कर्मचारीहरूसँग बलियो सम्बन्ध बनाउँछ।"

उनका अनुसार टाटाको पुँजी लगानीका लागि स्पष्ट दृष्टिकोण र रणनीति रहेको छ। त्यसको उदाहरणका रूपमा उनले स्टारबक्स, क्रोमा कन्सेप्ट र ज्यागुअरजस्ता ब्रान्ड किन्ने उसको निर्णयलाई प्रस्तुत गरे।

टाटाले चर्चा नखोजी र लगनशील भएर काम गर्ने गरेको उनी ठान्छन्।

उनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टाटाले आफ्नो ब्रान्डलाई बुद्धिमत्तापूर्वक राख्न सकेको पनि बताए।

"त्यसका कारण पनि देशभरिका उपभोक्ताहरू उनीहरूसँग जोडिएका छन् र उनीहरू सुरक्षित महसुस गर्छन् किनभने उनीहरूका लागि यो ब्रान्ड विश्वसनीय छ," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।