तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत: सुनको टिफिन बट्टाबाट जब चोरले खाजा खाए
गत साता चोरिएको टिफिन बट्टाका साथै एउटा माणिक र सुनले बनेको चियाकपको सेट एवम् र चम्चा पनि प्रहरीले फेला पारेको छ।
ती सामग्री पहिलाको हैदरावाद राज्यका अन्तिम निजाम शासकको हो।
हीराजडित सुनको उक्त टिफिन बट्टा चोरीबारे छानबिन गरिरहेको प्रहरीले दुई पुरुषलाई पक्राउ गरेको छ।
ती सामग्रीको मूल्य ७० लाख डलर आकलन गरिएको छ।
सुरक्षा
हाल सङ्ग्रहालयमा परिणत निजामको दरबारमा राखिएका ती सामग्रीलाई चोरहरूले भेन्टिलेटर फोरेर भित्र पसी चोरेको बताइएको थियो।
तिनले सुरक्षार्थ राखिएका सीसीटिभी क्यामराहरूलाई पनि छक्याएको प्रहरीले बताएको थियो।
हैदरावाद राज्यका सातौँ र अन्तिम निजाम मिर ओसमान अली खान उनको समयमा विश्वकै सबभन्दा धनीमध्येका एक थिए।
प्रहरीका अनुसार चोरी गरेपछि ती दुवै पुरुष मुम्बईतिर भागेका थिए।
त्यहाँ उनीहरूले ती सामानका सम्भावित ग्राहक भेट्टाउने आशा राखेका थिए।
केही दिन उनीहरू त्यहाँको पाँचतारे होटेलमा ठाँटका साथ बसे।
सो टिफिन बट्टाबाट उनीहरूले खाजा समेत खाएको प्रहरीले जनाएको छ।
तर उनीहरूले किन्ने मानिस भेटेनन् र हैदराबाद नै फर्किए। पछि प्रहरीले उनीहरूलाई भेट्टाइछाड्यो।
पहिचान
निजामको दरबारमा राखिएका ३२ वटा सीसीटिभी क्यामरा सबै उनीहरूले चोर्ने बेला बन्द गरिदिएकाले प्रहरीलाई उनीहरूको पहिचान यकिन गर्न कठिन भएको थियो।
तर एउटा क्यामराले चाहिँ उनीहरू एउटा मोटरसाइकलमा सवार दृश्य खिचेको रहेछ। पछि प्रहरीले सो मोटरसाइकल बरामद गर्यो र लगत्तै उनीहरूको पहिचान भयो।
सबै भेटिएका बहुमूल्य सामग्रीलाई निजाम सङ्ग्रहालयमा फर्काइनेछ।
मिर ओसमान अली खानको निधन सन् १९६७ मा भएको थियो।
उनको विशाल वैभव थियो जसमध्ये कैयौँ बहुमूल्य रत्नसहित अण्डा जत्रो आकारको एउटा हीरा विश्वप्रसिद्ध जेकब्स डाइमन्ड पनि एक हो।