तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढीपहिरोका कारण राजधानी जोड्ने 'सबै सडक अवरुद्ध'
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
केही दिनदेखि भएको अविरल वर्षाका कारण निम्तिएको विपद्मा ज्यान गुमाउनेको सङ्ख्या झन्डै १७० पुगेको अधिकारीहरूले बताएका छन्।
गृह मन्त्रालयका प्रवक्ताका अनुसार शुक्रवार र शनिवार बाढी, पहिरो र चट्याङका कारण भएको मानवीय क्षतिको विवरण प्राप्त भइरहेको छ। मृतकको सङ्ख्या अझै बढ्न सक्ने ठानिएको छ।
अधिकारीहरूले काभ्रेपलान्चोक र काठमाण्डूसँगै जोडिएको धादिङ जिल्लामा पृथ्वी राजमार्गको झ्याप्लेखोलामा केन्द्रित गरी अहिले खोज तथा उद्धार जारी रहेको बताएका छन्।
“विपद् प्रभावितको खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालन भई निरन्तर कार्य गरिरहेका छन्। हालसम्म ४,००० जनाको उद्धार गरिएको छ,” गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने।
मन्त्रालयले अवरुद्ध राजमार्गहरू खुलाउने कार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ। प्रवक्ता तिवारीले पृथ्वी राजमार्गको झ्याप्ले खोलामा भएको अवरोध हटाएर आइतवार रातीबाटै सवारी साधनको आवागमन खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।
सडक र अन्य संवेदनशील पूर्वाधारहरू सञ्चालन गराउन सडक विभाग र विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले काम गरिरहेको बताइएको छ।
गृह मन्त्रालयका अनुसार घाइतेको सङ्ख्या १११ छ भने पनि ४२ जना बेपत्ता छन्।
“अझै पनि हामी खोज तथा उद्धारमा नै लागिरहेका छौँ। धादिङनजिकै झ्याप्लेखोलाको पहिरो हटाउने काम भइरहेको छ। बाटो खोल्ने प्रयास पनि गरिरहेका छौ,” नेपाल प्रहरीका सहप्रवक्ता वरिष्ठ उपरीक्षक विश्व अधिकारीले बीबीसीलाई आइतवार मध्याह्नतिर भनेका थिए।
पहिरोले देशका विभिन्न ठाउँका राजमार्गहरू अस्तव्यस्त भएका विवरणका माझ अधिकारीहरूले सडकमा अलपत्र रहेका यात्रुको व्यवस्थापनका लागि पनि प्राथमिकताका साथ काम गरिरहेको जनाएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बीबीसीसँग भने, "खोज तथा उद्धारका लागि सुरक्षा निकायहरूले काभ्रेपलान्चोक जिल्ला र झ्याप्लेखोलामा केन्द्रित रहेर काम गरिरहेका छन्। जिल्ला स्तरका निकायहरूलाई पनि सक्रिय रूपमा काम गर्न केन्द्रबाट निर्देशन गरिएको छ।"
झ्याप्लेखोलामा यात्रुवाहक सवारीसाधन पुरिए
काठमाण्डूको चन्द्रागिरि नगरपालिका र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोले पुरिएको सवारीसाधनबाट आइतवार थप २१ जनाको शव निकालिएको अधिकारीहरूले बताएका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सो ठाउँबाट शनिवार १४ जनाको शव निकालिएको थियो।
अहिलेसम्म ३५ जनाको शव फेला परेको छ। उक्त स्थानमा अझै पनि खोज तथा उद्धार कार्य जारी छ।
त्यहाँ कति सवारीसाधन पुरिएका छन् भन्न सक्ने अवस्था नरहेको बताउँदै सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले एउटा जेसीबीले पहिरो हटाइरहेको र त्यो काम सकिन अझै दुई दिनजति लाग्न सक्ने बताए।
यसअघि आइतवार बिहानसम्मको तथ्याङ्क उद्धृत गर्दै राष्ट्रिय विपद् पुनर्निर्माण प्राधिकरणले ६७ जना बेपत्ता र १०१ जना घाइते भएको जनाएको थियो।
अरू कस्तो क्षति
देशभरि गरेर ३,५०० जनाभन्दा बढीको उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्।
विपद्बाट बढी प्रभावित काठमाण्डू उपत्यकाका तीन जिल्लाबाट झन्डै २,००० जनाको उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्।
निरन्तरको वर्षाका कारण झन्डै ३०० वटाभन्दा बढी घर र १६ वटा पुलमा क्षति पुगेको छ।
अधिकारीहरूले पाँचथर र सिन्धुपाल्चोकमा दुइटा बेलिब्रिज बाढीले बगाएको जनाएका छन्। चार वटा पक्की पुल, तीनवटा झोलुङ्गे पुल र अन्य विभिन्न ७ किसिमका पुलह पनि बगेका छन्।
नेपाल प्रहरीले आइतवार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्डू उपत्यकामा पाँच ठाउँमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ भने कोशी प्रदेशमा छ ठाउँमा पूर्ण अवरोध छ।
आइतवार बिहानसम्मको विवरणअनुसार बागमती प्रदेशमा २५ ठाउँमा सडक पूर्ण अवरोध थियो। त्यसबाहेक गण्डकी प्रदेशमा तीन ठाउँमा, लुम्बिनीमा सात र कर्णालीमा एक ठाउँमा सडक अवरुद्ध छ।
सडक खुलाउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको गृह मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।
कैयौँ जलविद्युत् परियोजनाहरूमा पनि क्षति पुगेको जानकारी आएको छ।
नेपाली सेना के भन्छ
नेपाली सेनाले बीपी राजमार्गमा सडक अवरुद्ध भएपछि फसिरहेका मानिसहरूको उद्धार र त्यस क्षेत्रमा भएको क्षतिको विश्लेषण गर्न एउटा हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको जनाएको छ।
त्यसबाहेक बेथानचोक र पनौतीमा पनि उद्धार र राहत सामग्रीसहित हेलिकप्टर पठाउने तयारी गरिएको थियो।
काभ्रेपलाञ्चोकको मंगलटारमा पहिरोबाट फसेका व्यक्तिको उद्धारका लागि सेनाको एमआई-१७ हेलिकोप्टर बिहान परिचालन भएको नेपाली सेनाले जनाएको छ।
दोलालघाटबाट दोलखा तथा सिन्धुपाल्चोकमा हवाई उद्धारको लागि सेनाको अगस्टा हेलिकोप्टर परिचालन भएको भनिएको छ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिलेको विपद्का कारण राजधानीसँग जोडिएका सडकहरू लगभग बन्द अवस्थामा छन्।
"विपद्को क्षति सामान्यभन्दा ठूलो देखिएको छ। राजधानी आउने लगभग सबै मार्गहरू बन्द छन्। सम्पर्क नै टुटेको छ। पुलहरू पनि भत्किएका छन्। तटीय क्षेत्रमा मानिसहरू विस्थापित भएका छन्। त्यसको बहुआयमिक प्रभाव आगामी दिनमा देखिँदै जाने छ।"
दशैँअगाडि सडकहरूमा क्षति पुगेको हुनाले तिनलाई सञ्चालनमा ल्याउन तत्कालै काम गर्नुपर्ने आवश्यकता रहेको सेनाका प्रवक्ताले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।