मेलम्चीको पानी दशैँमा काठमाण्डू ल्याउन सकिनेमा 'अन्योल', दिगो समाधान कहिले?

तीन वर्षदेखि बर्खामा रोकेर अरू बेला मात्र सञ्चालन गर्ने गरिएको मेलम्ची खानेपानी वितरणको नियति यस पटक पनि फेरिएको छैन।

यस वर्ष दशैँअघि मनसुन बाहिरिने र चाडबाडको मुखमा राजधानीमा पानी भित्र्याउने भन्ने पूर्वयोजना दुई कारणले 'अनिश्चित' बनेको छ।

एकातर्फ मनसुन पुनः सक्रिय भएको छ, अर्कोतर्फ स्थानीय बासिन्दाका विरोध मुखर बन्दै गएको छ।

बीबीसीसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले आफूहरू मेलम्चीलाई लिएर गरेका वाचामा अडिग भए पनि प्रकृतिका कुरा आफ्नो बसमा नहुने र स्थानीय बासिन्दाका मागका विषय अन्य सम्बन्धित मन्त्रालयसँग समेत मिलेर समाधान गर्न लागेको बताएका छन्।

"मौसमबाहेक अन्य कुराले रोकिँदैन। मेलम्चीको बाढीले क्षतिग्रस्त भएको सडक सार्ने कुरा बजेट भौतिक पूर्वाधार मन्त्रालयमार्फत् विनियोजन भएर अगाडि बढिसकेको छ, अब केही नियमित प्रक्रियाका कुरा मात्र बाँकी हो," मन्त्री यादव भन्छन्।

"अर्को ठेक्का लिएर भागेको सीएमसी कम्पनीबाट भुक्तानी लिन बाँकी स्थानीय विक्रेताको सवालमा केही कानुनी जटिलता छ। स्थानीय विक्रेतालाई कानुनले नचिने पनि वहाँहरू पीडित नेपाली नागरिक भएकाले उपाय खोजेर समस्या समाधान गर्नुपर्नेमा सरकार सकारात्मक छ।"

आफ्ना मागलाई लिएर आयोजनामा अवरोध गर्ने चेतावनी दिँदै आएका मेलम्ची बाढीपीडित सङ्घर्ष समितिसँग मन्त्रालयले आउँदो साताको सुरुमै वार्ता गर्न लागेको बताइएको छ।

मेलम्ची खानेपानी विकास समितिले जल तथा मौसम विज्ञान विभागले दिने सुझावका आधारमा आफूहरूले यस वर्षालगत्तै निर्णय लिने भन्दै प्राविधिक रूपमा आफूहरू तयार रहेको जनाएको छ।

'प्राविधिक रूपमा तयार'

वर्षायामका बेला मेलम्चीका प्राविधिकहरू हेडवर्क्स भनिने खोलाको पानीलाई सुरुङभित्र पसाउन बनाइने संरचनालाई सुरक्षित राख्दै त्यस आसपास थप अवरोध हुन नदिने गरी काम गर्ने गर्छन्।

"लेदो पानी सुरुङभित्र छिर्न नदिनकै लागि हाम्रा सावधानी यसबीचमा केन्द्रित थिए," मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले भने।

"त्यसले गर्दा प्राविधिक अवरोध ठूलो छैन, सिर्फ दुई-तिन दिनको तयारीमै सुरुङमा पानी पठाउन सकिन्छ।"

तर स्थानीय बासिन्दाको विरोधका कारण हेडवर्क्स क्षेत्रमा समितिका कर्मचारीहरू निर्धक्क जान नसकिरहेको र उनीहरूले सुरुङमा पानी पठाउन नदिने बताइरहेको लामिछाने बताउँछन्।

"त्यसबाहेक प्राविधिक रूपमा मनसुन लम्बिएको अवस्थाले केही समय सर्ने देखिन्छ," लामिछाने भन्छन्।

मनसुनको असर कति लामो समय रहने भनेर अहिल्यै भन्न नसकिने उनी बताउँछन्।

काठमाण्डूको उत्तरपूर्वमा रहेको सिन्धुपाल्चोक जिल्लाहुँदै बग्ने मेलम्ची खोलाको पानी काठमाण्डूसम्म ल्याउने २७ किलोमिटर लामो सुरुङको क्षमता ५१ करोड लिटर भए पनि त्यो प्रशोधन क्षमताको अभावमा आउँदा कैयौँ वर्षसम्म पूर्ण क्षमतामा सञ्चालनमा आउने छैन।

"तर सुन्दरीजलमा रहेको हाम्रो पानी प्रशोधन केन्द्रको क्षमता जम्मा १७ करोड लिटरको मात्र छ, त्यसैले बढी पानी आए पनि त्यो वाग्मतीमा पठाउनुपर्ने हुन्छ," समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछाने भन्छन्।

"तर प्रशोधन केन्द्रको क्षमता वृद्धिका लागि अर्को टेन्डर आह्वान भइसकेको छ।"

दिगो समाधान कहिले?

खानेपानीमन्त्री प्रदीप यादव भने अर्को वर्षदेखि वर्षामा मेलम्चीबाट पानी ल्याउने काम रोकिँदा पानीको अभाव नखट्किने गरी ससाना २७ वटा मुहानका लागि योजना सोचिएको बताउँछन्।

"ती मुहानलाई थोरै खर्चमा प्रयोगमा ल्याउनेबारे हामीले सोचेका छौँ। मेलम्चीबाहेक वाग्मती, तारकेश्वर, शिवपुरीतिर पानीका स्रोतहरू पहिचान भएका छन्।"

तर स्थिर समाधानका लागि मेलम्चीको अर्को हेडवर्क्स बनाउने काम नै हुने अधिकारीहरू बताउँछन्।

एशियाली विकास ब्याङ्कको एक अध्ययनले खोलाको पानी ल्याउन बनाइएको सुरुङको मुहान करिब ५०० मिटर सार्नुपर्ने औँल्याएको छ।

"मुहान सार्ने प्रक्रियामा मन्त्रालयले टेन्डर आह्वान गरेर अगाडि बढेको छ। तीनदेखि चार वर्ष बीचमा यो प्रक्रिया सम्पन्न हुने हाम्रो विश्वास छ," मन्त्री यादव भन्छन्।

"हामी ढिलोमा चार वर्षभित्र मेलम्चीलाई स्थिर बनाएर बाह्रमासै त्यसको पानी प्रयोग गर्न सकिने गरी काम गरिरहेका छौँ।"

हाल बर्खायाम बाहेकको अवधिमा अस्थायी हेडवर्क्सका भरमा पानी ल्याउने गरिएको छ।

लामो प्रतीक्षापछि २०७७ साल चैत महिनामा मेलम्चीको पानी पहिलो पटक काठमाण्डू ल्याइए पनि २०७८ सालमा आएको बाढीले पुर्‍याएको क्षतिका कारण आयोजनाको मुहान सार्नुपर्ने अवस्था बनेको थियो।

मुहानमा अस्थायी संरचना बनाएर २०७९ वैशाखमा फेरि पानी ल्याइयो तर त्यस वर्ष समेत बाढीले त्यो संरचनामा थप क्षति पुर्‍याइदिएको थियो।

काठमाण्डू उपत्यकामा दैनिक ४२ करोड लिटर खानेपानीको माग रहेको काठमाण्डू उपत्यका खानेपानी बोर्डले जनाएको छ।

दैनिक १० करोड लिटरसम्म खानेपानी मेलम्ची बाहेकका खोला तथा मुहान र भूमिगत पानीबाट आपूर्ति हुँदै आएको छ।

मेलम्चीको खानेपानी आपूर्तिका लागि सुन्दरी जलमा बनाइएका संरचनाकै प्रयोग गरेर वाग्मती खोलाबाट दैनिक सात करोड लिटर पानी उपत्यकामा आपूर्ति हुँदै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।