मध्यबेइरुतमा गत महिनायताकै 'सबैभन्दा घातक' इजरेली हमला, २२ जना मारिएको दाबी

बेइरुतमा इजरेली हमला

तस्बिर स्रोत, EPA

    • Author, एलेक्स बोइड र नफिसा कोनाबार्द
    • Role, बीबीसी न्यूज र बीबीसी पर्सिअन

लेबननको राजधानी बेइरुतको मध्यभागमा इजरेलले बिहीवार साँझ गरेको हवाई आक्रमणमा २२ जना मारिएको र ११७ जना घाइते भएको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो घटना इजरेलले लेबननको हिज्बुल्लाह समूहविरुद्ध गत महिना आक्रमण थालेयताकै सबैभन्दा घातक हमला भएको बताइएको छ।

घाइते भएका धेरै मानिसलाई एम्बुलेन्समार्फत् अमेरिकन यूनिभर्सिटी हस्पिटल लगिएको छ।

इजरेली हवाई हमलापछि बेइरुतमा देखिएको धुवाँको मुस्लो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विगत केही सातामा लेबननको राजधानीमा इजरेली हमला बढिरहे पनि गत दुई दिन भने त्यहाँ अनौठो महसुस हुने गरी शान्ति कायम भएको थियो

दुई दिनको शान्तिपछि फेरि तनाव

बेइरुतमा इजरेली हमला

बीबीसी संवाददाताहरूले बेइरुतमा शिया समुदायको बसोबास रहेको बचोरा क्षेत्रमा आक्रमणका क्रममा ठूलो विस्फोटनको आवाज सुनेका थिए। त्यस क्षेत्रमा उद्धारकर्ताहरूले भग्नावशेष खनिरहेको देखिएको थियो।

पुष्टि हुन बाँकी समाचारहरूका अनुसार हिज्बुल्लाहका मारिएका नेता हसन नस्रल्लाहका नातेदार समेत रहेका उक्त समूहका उच्च सुरक्षा अधिकारी वफिक साफालाई लक्षित गरी आक्रमण गरिएको हो।

यसबारे हिज्बुल्लाहको सञ्चार कार्यालयले केही बताएको छैन।

बचोरा क्षेत्रका दुई घना बस्ती न्वेइरी र बास्ताका आवासीय भवनहरूमा इजरेली हमला भएको थियो।

विगत केही सातामा लेबननको राजधानीमा इजरेली हमला बढिरहे पनि गत दुई दिन भने त्यहाँ अनौठो महसुस हुने गरी शान्ति कायम भएको थियो। तर बिहीवार साँझको आक्रमणले पुनः बेइरुतमा त्रास उत्पन्न भएको छ।

पछिल्लो आक्रमणबारे इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले केही बताएको छैन। आक्रमणअघि पनि कुनै चेतावनी जारी गरिएको थिएन।

विशेषतः हिज्बुल्लाहका कमान्डरहरूप्रति लक्षित इजरेली हमलाहरू बेइरुतको दक्षिणी क्षेत्र दहिएहमा हुने गरेका छन्। उक्त क्षेत्रभन्दा बाहिर बेइरुतमा आक्रमण तीव्र भएको यो तेस्रो पटक हो।

अस्पतालअगाडि भेटिएकी नाम उल्लेख गर्न नचाहने एक महिलाले आफू भएको भवनभन्दा पल्लो भवनमा विस्फोट भएको बताइन्।

उक्त भवन पूर्ण रूपमा आवासीय रहेको जानकारी दिँदै उनले विस्फोटनमा परी आफ्ना एक आफन्तको टाउकामा चोट लागेकाले उनी अस्पतालमा उपचाररत रहेको बताइन्।

राष्ट्रसङ्घका एकाइमा पनि आक्रमण

लेबननमा राष्ट्रसङ्घीय शान्तिसेना

तस्बिर स्रोत, Unifil

तस्बिरको क्याप्शन, लेबननमा नेपालसमेत करिब ५० देशका १० हजार राष्ट्रसङ्घीय शान्तिसेना छन्

यस आक्रमणको केही घण्टाअघि दक्षिणी लेबननमा इजरेली ट्याङ्कबाट गोली प्रहार गरिँदा दुई इन्डोनेशियाली शान्तिसैनिक घाइते भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

नाकूरास्थित राष्ट्रसङ्घीय आधारशिविरको सुरक्षा टावरमा सीधै आक्रमण हुँदा ती शान्तिसैनिक लडेका राष्ट्रसङ्घको लेबननी शान्ति मिशन 'यूनिफिल'ले एक विज्ञप्तिमा जनाएको छ।

विगत २४ घण्टामा इजरेलले राष्ट्रसङ्घीय एकाइहरूमा बारम्बार आक्रमण गरेको राष्ट्रसङ्घको दाबी छ।

'यूनिफिल'का अन्य दुई आधारशिविरका क्यामरा तथा बत्तीमा पनि इजरेली सुरक्षाकर्मीले जानाजान गोली हानेको आरोप लागेको छ।

आधारशिविरका सदस्यहरूलाई "सुरक्षित स्थान"मा रहन आदेश दिएपछि आफ्ना सेनाले शिविरनजिकैको क्षेत्रबाट गोली हानेको आईडीएफको भनाइ छ।

राष्ट्रसङ्घका अनुसार घाइते भएका शान्तिसैनिकहरू गम्भीर अवस्थामा नरहे पनि अस्पतालमै छन्।

शान्तिसैनिकमाथिको आक्रमण "अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन" भएको राष्ट्रसङ्घको भनाइ छ।

लेबनन र इजरेलबीचको अनौपचारिक सीमा तथा इजरेलको अधीनमा रहेको गोलन हाइट्स पर्ने "ब्लू लाइन" भनिने क्षेत्रदेखि करिब ३० किलोमिटर उत्तरमा रहेको लितानी नदीसम्मको दक्षिणी लेबननमा राष्ट्रसङ्घीय शान्ति मिशन यूनिफिल कार्यरत छ।

गत साता आईडीएफले यूनिफिललाई ब्लू लाइन छाड्न आदेश दिए पनि उसले मानेको थिएन।

लेबननमा नेपालसमेत करिब ५० देशका १० हजार राष्ट्रसङ्घीय शान्तिसेना छन्। साथै त्यहाँ ८०० गैरसैनिक कर्मचारी छन्।

त्यहाँको शान्ति मिशनमा इन्डोनेशियाको योगदान सबैभन्दा धेरै छ, त्यहाँ १,२०० भन्दा बढी इ्न्डोनेशियाली सैनिक छन्।

एक वर्षमा १२ लाख मानिसले घर छाडे

सन् २००६ मा लेबननमा इजरेली सेना

तस्बिर स्रोत, Getty Images

आईडीएफका अनुसार बिहीवार हिज्बुल्लाहले पनि लेबननबाट इजरेलतर्फ झन्डै १९० वटा रकेट प्रहार गरेको छ।

त्यसअघि लेबननको जनस्वास्थ्य मन्त्रालयले जनाएअनुसार पूर्वी लेबननको काराक गाउँमा भएको इजरेली हवाई हमलामा चार जनाको ज्यान गएको थियो भने १७ जना घाइते भएका थिए।

लेबननको सरकारका अनुसार चर्कँदो द्वन्द्वका कारण विगत एक वर्षमा १२ लाख मानिसले आआफ्नो घर छाडेका छन्।

इजरेल-हिज्बुल्लाह द्वन्द्व

आफूलाई समर्थन गर्ने हमासले दक्षिणी इजरेलमा आक्रमण गरेको एक दिनपछि अर्थात् सन् २०२३ अक्टोबर ८ यता हिज्बुल्लाहले उत्तरी इजरेलमा रकेट प्रहार गर्न थालेदेखि यस क्षेत्रमा शत्रुता निरन्तर चर्कँदो छ।

गत वर्षको ७ अक्टोबरदेखि हालसम्म इजरेलले गाजामा आक्रमण गर्दा ४२ हजारभन्दा बढी मानिसको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।